अपराधी प्रहरीबाट लुक्न सक्दैनन् : आईजीपी खनाल

अपराधी प्रहरीबाट लुक्न सक्दैनन् : आईजीपी खनाल

वीरेन्द्रनगरः नेपाल प्रहरीका प्रमुख (आईजीपी) सर्वेन्द्र खनालले अब अपराधी प्रहरीको नजरबाट कुनै पनि ठाउँमा लुकेर बस्न नसक्ने बताएका छन्। महिला तथा सेवा केन्द्र कर्णाली प्रदेशको भवन उद्घाटनका लागि सुर्खेत पुगेका आईजीपी खनालले अपराध गरेर प्रहरीको आँखा छल्दै आएका अपराधी अब कुनै पनि ठाउँमा गएर लुक्न नसक्ने बताएका हुन्। 

समाजमा त्रासको वातावरण सिर्जना गर्ने र पहुँचको हवाला दिँदै लुक्ने खोज्ने अपराधीको दिन सकिएको चेतावनीसमेत दिए। नेपाल प्रहरी विगतको जस्तो नभएकाले अब अपराधीले  उम्किने कुनै सम्भावना नभएको दाबी गरे। 

नेपालमा अपराध गरी संसारका जुनसुकै कुनामा लुकेर बसे पनि नेपाल प्रहरीको विभिन्न स्रोत परिचालन गरी कारबाहीको दायरामा ल्याउने उनको भनाइ थियो। यस्तै उनले अब अपराध रोक्नका लागि अपराधीलाई नियन्त्रण मात्रै गरेर नहुने भएकाले निर्मुल पार्ने अभियानमा प्रहरी लाग्ने बताए।

‘यदि शान्ति कायम राख्नुछ भने, अपराध रोक्न अपराधीलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्दछ, अपराधी निर्मुल पार्न प्रहरी कुनै पनि हालतमा पछि हट्ने छैन’, खानालले भने। उनले अपराधिक मानसिकता भएका मानिसहरुको समाजबाट अन्त्य गर्नुपर्ने बताए।

उनले विगतमा प्रहरी संगठनभित्रै पनि विभिन्न गल्ती कमजोरी भएकाले आगामी दिनमा दोहोर्‍याउन नहुने बताए। अपराध नियन्त्रणमा बाधक बन्ने अथवा तस्करसँग साँठगाँठ गर्ने जो सुकै प्रहरी भए पनि कडा कारबाहीसँगै जागिरबाटै हात धुनुपर्ने अवस्था आउने चेतावनी उनले दिए। उनले प्रहरीप्रति विगतमा लागेका आरोपलाई जनतासमक्ष सुधार गर्न पीडितलाई सहज रुपमा न्याय दिएर सुधार गर्नुपर्ने उल्लेख गरे।

मिलापत्र चल्दैन
यस्तै प्रहरी आईजीपी खनालले महिलामाथि हुने गम्भीर प्रकृतिका हिंसामा कुनै पनि प्रकारको मिलापत्र नचल्ने दाबी गरे। विगतमा पहुँच र पैसाका भरमा मिलापत्र गराउँदै न्याय सम्पादनमा प्रभाव जमाउने गरेको अवस्था भए पनि अब प्रहरीले त्यसो हुन नदिने उनको भनाइ छ। पैसा र पहुँचका भरमा अपराध गरेर बच्ने प्रवृति अन्यका लागि प्रहरीले नै कडा अभियान थाल्ने उनले बताए। गाउँमै मिलापत्र गराउने गरेका कारण अपराधिहरु अन्य अपराधमा खुलेयाम संलग्न हुँदै गएकाले अब गम्भीर खालका महिला तथा बालबालिकाका घटनाहरुमा प्रहरीले नै मिलापत्र हुन नदिने प्रतिबद्धता जनाए। 

हिंसापीडित महिलालाई आवासको व्यवस्थासहित एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिएको एक करोड ७५ लाखको भवनबाट पीडित महिलाको न्यायको पहुँचमा हुने विश्वास व्यक्त गरे। 

न्यायको गुहार माग्दै भवनभित्र छिरेको सेवाग्राहीले न्याय पाएको अनुभूति गरेर मात्रै फर्किने वातावरण मिलाउन प्रहरी युनिटलाई निर्देशन मात्रै दिए। ‘पीडामा परेर रुँदै यो भवनभित्र छिरेका महिलालाई खुशीको हाँसो लिएर घर फर्किने वातावरण मिलाउनुपर्दछ, यसका लागि जिम्मेवारी पाएका प्रहरीले इमान्दारिताका साथ आफ्नो काम गर्न निर्देशन दिन्छु।’ उनले नेपाल प्रहरीको छविलाई नेतृत्व महिला प्रहरीले गर्ने भएका कारण आफ्नो डिउटी मात्रै नसम्झी न्यायको आशाले आएका महिलालाई माइतीमा बसेको अनुभूति दिलाउनुपर्ने उल्लेख गरे। 

यस्तै कार्यक्रममा सहभागी नेपाल अपराध अनुसन्धान प्रहरीका प्रमुख धिरु बस्नेतले सामाजमा हुने अपराध लुकाउन नहुने बताए। ‘समाजमै अपराध हुन्छ, असर पनि समाजमै पर्छ र अपराधी पनि समाजमै लुकेर बसेका हुन्छन्, नागरिकको सहयोगबिना प्रहरी एक्लैले केही गर्न सक्दैन’ उनले भने, ‘अपराधी नियन्त्रण र हिंसा न्युनिकरणमा लागेकाहरु सबै एकजुट भएमा मात्रै समाजलाई सभ्य बनाउन सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.