स्थानीय आन्दोलित : आय–व्यय सार्वजनिक गर्न दबाब
मुसीकोट : मुसिकोट नगरपालिका–११ भलाक्चास्थित साँखखोला दोभान लघुजलविद्युत् आयोजनाको आयव्यय सार्वजनिक नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आयोजना सम्पन्न भई सेवा सुचारु गरेको तीन वर्षसम्म पनि आयोजना निर्माण र ग्राहकबाट उठाउँदै आएको महसुलको समेत आयव्यय सार्वजनिक नभएको भन्दै त्यसका लागि दबाब दिन स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् ।
यसअघि असार ५ गते बसेको सर्वपक्षीय बैठकबाट असार १४ गते बिहीबार वडा कार्यालयमा सार्वजनिक सुनुवाइ गर्ने सहमति भए पनि उक्त दिन विद्युत् उपभोक्ता समितिका अध्यक्षलगायत समितिका कुनै पनि पदाधिकारी उपस्थित नहुँदा आफूहरू झन् आक्रोशित भएको संघर्ष समितिका उपसंयोजक रीमा खड्काले बताइन् । उनले आयोजना निर्माणका बेला जनताबाट संकलन गरेको रकम र अहिले ग्राहकबाट लिएको शुल्कको समेत कुनै हिसाबकिताब नदेखाएको आरोप लगाइन् । समितिका कुनै पनि पदाधिकारी कार्यक्रममा उपस्थित नभएपछि त्यसउपर कारबाही अगाडि बढाउन आफूहरू वडा कार्यालयबाट सिफारिस लिई छानबिनका लागि नगरपालिकामा जाने संघर्ष समितिका सदस्य उदयकुमार पुनले जानकारी दिए ।
उता, उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खड्काले आफू बिरामी भएर उपचारका लागि नेपालगन्ज आउनुपरेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए । आफूहरूसँग सुरुदेखिको सम्पूर्ण आयव्यय र लेखापरीक्षण प्रतिवेदनसमेत भएको र सार्वजनिक गर्न कुनै समस्या नरहेको उनको भनाइ छ । समितिले बर्सेनि आन्तरिक राजस्व कार्यालयमा करसमेत बुझाउँदै आएको र नियमित लेखापरीक्षण गर्दै आएको भन्दै यसमाथि शंका नगर्न आग्रह गरे । खड्काका अनुसार करिब पाँच सय ग्राहक रहेको यस समिति मातहत तीन जना कर्मचारी कार्यरत छन् । समितिले प्रतिग्राहक न्यूनतम मासिक ८० रुपैयाँ शुल्क लिँदै आएको छ ।
लामो समयसम्म ग्राहक शुल्क नबुझाउने ३०÷४० जना ग्राहकको लाइन काटिएको हुँदा त्यसकै विरुद्ध आन्दोलन भएको हुन सक्ने उपभोक्ता समितिका अध्यक्ष खड्काले बताएका छन् । महसुल नतिरेर विद्युत् बाल्न कसैलाई पनि नदिइने उनको अडान छ । सार्वजनिक सुनुवाइको सन्दर्भमा आफू नेपालगन्जबाट फर्किएपछि साधारणसभासमेत बोलाई सोहीमार्फत सार्वजनिक गर्ने र आफूले पनि समितिबाट बिदा लिने योजना रहेको खड्काको भनाइ छ ।