उत्तरी गोरखा जाने बाटोमा पहिरै पहिरो

उत्तरी गोरखा जाने बाटोमा पहिरै पहिरो

गोरखा : भारी वर्षासँगै पहिरो खसेपछि उत्तरी गोरखा जाने बाटो विभिन्न ठाउँमा अवरुद्ध भएको छ । सोतीदेखि जगतसम्मको पदमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ भने जिल्लाभरका ग्रामीण सडक पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

विशेषगरी नेपाली सेनाले निर्माण गर्दै गरेको सडक पहिरोले अवरुद्ध भएको स्थानीय सूर्य घलेले जानकारी दिए । ‘माछाखोला आसपासमा मात्रै १०÷१२ ठाउँमा पहिरो खसेको छ’, घलेले भने, ‘माछाखोला र खानीबेंशीको बीचमा २ ठाउँमा ठुल्ठूला पहिरा खसेका छन् ।’ माछाखोलादेखि माथि तातोपानीसम्म पनि तीन ठाउँमा ठूलो पहिरो खसेको छ । ‘तातोपानीदेखि खानीवेशीसम्म धेरै नै गाह्रो भएको छ’, उनले भने, ‘धेरै ठूला ढुंगा र रूखसहितै पहिरो खसेर बाटो छेकिएको छ ।’

नवनिर्मित सडकमा धेरै ढुंगा खसेर आवतजावत अवरुद्ध भएको घलेले बताए । कतिपय ठाउँमा बाटो नै पहिरिएर बूढीगण्डकीमा खसेको छ ।

सो सडक अवरुद्ध हुँदा साविकका गुम्दा, उहिया, केरौंजा, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँबासी सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा जानबाट वञ्चित हुने गर्छन् । खच्चडबाट खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा पनि समस्या हुने स्थानीय हर्क गुरुङले बताए ।

ग्रामीण यातायात बन्द

पानी पर्न थालेपछि जिल्लाका अधिकांश सडक अवरुद्ध हुन थालेका छन् । भच्चेक सडकमा चैते झरीका कारण गत चैत १४ गतेदेखि नै बस चल्न छाडेको यातायात व्यवसायी समिति गोरखाका महासचिव अञ्जनबाबु खत्रीले बताए । जिल्लाका आठ वटा ग्रामीण सडकलाई बर्खामा पनि गाडी गुड्न योग्य बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको थियो । आकस्मिक विपद् परे तत्काल उद्धार तथा राहतका लागि र दैनिक जनजीवन सहज बनाउन लागिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई बताउँछन् । तर, बर्सातपछि कुनै सडकमा पनि गाडी चल्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

भच्चेक बजारसम्म बस जान छाडेको धेरै भएको त्यहाँका वडाध्यक्ष तयराज गुरुङ बताउँछन् । ‘जौबारीको चैनपुरमाथिको चार किलोमिटरमा गाडी गुडाउनै सकिँदैन’, गुरुङ भन्छन्, ‘सिरानचोक गाउँपालिकाले पनि मर्मत गरेन । हामी अजिरकोटले पनि आफ्नो क्षेत्रमा नपर्ने भएर गरिएन । त्यहाँ ठूलो समस्या छ ।’ खाल्डो र हिलोका कारण सो खण्ड अवरुद्ध भएको उनले बताए । ‘छोप्राकको तार्केडाँडामा पनि रोडमा खोलो बग्छ, गाडी गुड्दैन’, गुरुङले भने । सो सडक अवरुद्ध हुँदा भच्चेक सडक र आँपपीपल दूधपोखरी सडक अवरुद्ध हुने उनले बताए ।

बारपाक सडकमा पनि राङरुङसम्म मात्र बस चल्न सक्ने स्थानीय जितबहादुर घले बताउँछन् । ‘राङरुङभन्दा करिब एक किलोमिटरमाथि धेरै ठूलो ढुंगा खसेर सडक थुनेको छ’, घलेले भने, ‘माथिबाट अर्को ढुंगा फेरि झर्ने अवस्थामा छ । यति ठूलो ढुंगा छ कि, कि विस्फोट गराउनुपर्छ कि ब्रेकर लगाएर फुटाएर पन्छ्याउनुपर्छ ।’ मान्द्रेभन्दा केही तल पनि हिलो र खाल्डोले गाडी चल्न नसक्ने अवस्था गराएको उनले बताए । ‘राङरुङदेखि मान्द्रेसम्मको सडक जुनसुकै बेला अवरुद्ध हुन सक्ने अवस्था छ । त्यसैले एउटा एक्साभेटर तयारी अवस्थामा राख्नुपर्छ’, घलेले भने ।

आरुघाट सडकको ताप्लेदेखि झिँगटेसम्म पनि सडक बिग्रेर यातायात सञ्चालन गर्न नसकिएको यातायात व्यवसायी समितिका महासचिव खत्री बताउँछन् । सो बाटो अवरुद्ध हुँदा आरुघाट, आर्खेत, सोती सडक र घ्याम्पेशाल, सौरपानी सडक अवरुद्ध हुने उनले बताए ।

आरुघाट, आर्खेत सोती सडकको छेपारेखोलाखण्ड बाढीले बिगारेका कारण त्यसभन्दा माथि सवारीसाधन चल्न नसक्ने अवस्था रहेको स्थानीय हर्क गुरुङले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले गोरखा आरुघाट सडक, गोरखा घ्याम्पेशाल सौरपानी सडक, गोरखा भच्चेक सडक, गोरखा आँपपीपल दूधपोखरी सडक, गोरखा फुजेल सडक र सोतीपुल तथा चनौटे पुललाई बर्खाको बेला पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । तर, चनौटे पुल र सोती पुल दुवै निर्माण सम्पन्न भएका छैनन् ।

गोरखामा ०५५ सालदेखि ग्रामीण सडक निर्माणको काम सुरु भएको हो । निर्माण गर्न थालिएको २० वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा बर्खालागेपछि ती सडकमा यातायातका साधन नचलेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.