नारायणगढ–मुग्लिन सडकमा वर्षकै ठूलो पहिरो
![नारायणगढ–मुग्लिन सडकमा वर्षकै ठूलो पहिरो](https://annapurnapost.prixacdn.net/media/albums/narayanghat_mugling_road_20180626084943_UCS4TRwFfp.jpg)
इच्छाकामना (चितवन) : मुलुकको लाइफ लाइनका रूपमा चिनिएको नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार अवरुद्ध हुँदा यात्रु अलपत्र परे । नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा खसेको पहिरोले दिनभर सडक अवरुद्ध हुँदा यात्रुले दुःख पाए । ठूलो पहिरो खसेका कारण सवारी सुचारु हुने निश्चित नहँुदा कतिपय हिँडेर गएका थिए । उक्त सडकखण्डको ३३ किलोमिटर दूरी पार हिँडेर पार गरे ।
कतिपय बाटो सुचारु हुने प्रतीक्षामा थिए । नारायणगढ–मुग्लिन सडकखण्डको जुगेडी, दासढुंगा, चार किलो, मुग्लिनमा सवारी जाम भएको थियो । दिनभर सवारीसाधनमा बसेकाहरूले आक्रोश पोखे । बाटो अवरुद्ध हँुदाको पीडाले आक्रोशित भएकाहरूले वैकल्पिक मार्गको व्यवस्था नभएको भन्दै सरकारको आलोचना गरे । घर फर्किन लागेका भरतपुर महानगरपालिका–७ का ठाकुरप्रसाद न्यौपानेले सडक सुरक्षामा सरकारको चासो नभएको भन्दै आलोचना गरे । ‘पहिरो खस्नुमा कसैको दोष भएन, हामी त मान्छौं तर एम्बुलेन्समा ल्याउने बिरामीलाई पहिरो खस्यो भनेर निको त हुँदैन नि !’ उनले बाटोको विकल्पको खोजी गर्नुपर्ने बताए । नारायणगढ तर्फबाट प्रवेश गर्ने सवारीसाधनलाई रामनगरमा रोकिएको थियो ।
सडक स्तरोन्नति भए पनि पहिरोका कारण यात्रुले बुधबार दिनभर सडकमै अलपत्र परेका थिए । तोपे खोलामा सवा पाँच बजे पहिरो खसेको हो । पहिरो करिब तीन हजार घनमिटरको पहिरो खसेको थियो । दुई स्थानमा खसेको ठूलो पहिरोले दिनभर नै सवारी जाम गरेको थियो ।
बाटो अवरुद्ध हँुदा पछाडीका सवारी साधनले जथाभावी ओभरटेक गर्दा बाटो सुचारु गर्न समय लाग्ने गरेको छ । पानी परेपछि कहाँ कतिखेर पहिरो जान्छ भन्ने अनुमान गर्न सकिँदैन । मुख्य गरेर तोपे खोला र चार किलोलाई पहिरोको बढी जोखिम भएको क्षेत्र मानिएको छ । असार सुरु भएलगत्तै पटक–पटक पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । सडक स्तारोन्नति भएपछि पहिरोका कारण नारायणगढ मुग्लिन सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)