प्रदेशको नाम गण्डकी पक्कापक्की

प्रदेशको नाम गण्डकी पक्कापक्की

पोखरा : प्रदेश ४ को नाम गण्डकी रहने निश्चितजस्तै भएको छ। प्रदेशसभामा ५७ सांसद रहेका ४ दलले गण्डकी नामकरण गर्ने निर्णय गरिसकेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विपक्षी कांग्रेस र राष्ट्रिय जनमोर्चा संसदीय दलले प्रदेशको नाम गण्डकी राख्नुपर्ने निर्णय गरिसकेका छन्। २ सांसद रहेको नयाँ शक्ति पार्टीले गण्डकी–तमुवान हुनुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गरेको छ।

प्रदेश राजधानी र नामांकन समितिले बुझाएको प्रतिवेदन १० असारमा टेबुल भएपछि बिहीबारदेखि नामकरणबारे छलफल सुरु भएको हो। यसअघि प्रदेशसभाले राजधानी पोखरा तोकेर राजपत्रमा प्रकाशित गरिसकेको छ। प्रदेशसभामा नेकपाका ३९, कांग्रेसका १५ र राजमोका ३ सांसद छन्। ५९ सदस्यीय प्रदेशसभामा नेकपाबाटै सभामुख बनेका नेत्रनाथ अधिकारी र अहिले उनको अनुपस्थितिमा कार्यबाहक सभामुख बनेकी उपसभामुख सिर्जना शर्माको मत नगन्दा गण्डकी पक्षधर सांसद ५५ जना हुने देखिएको छ। सभामुख बिरामी भएकाले उपस्थित हुन सकेका छैनन्। नयाँशक्ति पार्टी मात्रै विपक्षीमा भयो भने पनि प्रदेशको नाम गण्डकी ५५ सांसदको मतले पारित हुने देखिन्छ।

संविधानको धारा २ सय ९५ ले प्रदेश नामकरणबारे व्यवस्था गरेको छ। उक्त धाराको उपधारा २ ले भनेको छ, ‘प्रदेशको नामकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुनेछ।’ नामकरणबारे प्रदेशसभामा बिहीबारदेखि सुरु छलफलमा भाग लिएका १७ मध्ये १६ जनाले गण्डकीको पक्षमा समर्थन जनाए।

नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले पहिचानका आधारमा प्रदेश नामकरण गर्नुपर्नेमा जोड दिए। ‘पहिचानवादीहरूको एउटा आधार छ, उत्पीडितहरूको रक्षा गर्ने संघीयता हामीलाई चाहिएको हो’, उनले भने, ‘पहिचान आत्मसात गर्ने हो भने तमुवान–मगरात अनिवार्य छ।’ उनले पहिचान सम्बोधन नगर्ने हो भने ५÷७ वर्षपछि संघीयता खारेज गरौं भन्ने दिन आउने विचार व्यक्त गरे।

आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका सांसद किरण गुरुङले नाम र अधिकार छुट्टै विषय भएको बताए। ‘कसैको नाम बलबहादुर हुँदैमा बलियो हुन्छ जस्तो मलाई लाग्दैन, कसैको नाम धनबहादुर हुँदैमा धनी हुन्छ जस्तो पनि मलाई लाग्दैन’, उनले भने, ‘पहिचान भनेको भाषा, संस्कृति र भूगोल हो।’ गुरुङले गुरुङ र मगर भाषाबाट विकसित हुँदै गण्डकी शब्द आएको हुँदा सबैको साझा पहिचान गण्डकी हुने विचार राखे।

‘मगर भाषामा गान भनेको हरियो साग र डी भनेको पानी हो’, मन्त्री गुरुङले भने, ‘गानडीबाटै गण्डकी बनेको हो, गुरुङ भाषाको प्राचीन शास्त्र पच्युमा पनि हिमालबाट बग्ने सात वटा नदी भनेर डी उल्लेख छ, जुन अहिले हामीले भन्ने गरेको सप्तगण्डकी हो।’ उनले गुरुङ, मगर र अरू जातिको पनि पहिचान गण्डकी भएको बताए।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी शब्दमा सबैको अपनत्व रहेको विचार राखे। उनले भने, ‘लोकतन्त्र भनेको सबैको अस्तित्व स्वीकार्ने व्यवस्था हो। आजको जनादेशले सबै जातजाति अटाउने प्रदेश भनेको छ।’

साविक माओवादीकी सांसद आशा कोइरालाले तमुवान—मगराँतको मागप्रति सम्मान रहेको बताइन्। उनले भनिन्, ‘पहिचान स्थापित गर्ने कुरामा समेत छौं, तर गण्डकी नै साझा र उपयुक्त नाम हुन सक्छ।’

संघीयताको सधैं विरोधमा रहेको पार्टी राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले एउटा जातिलाई मात्रै प्र श्रय दिँदा देश रुवान्डा बन्ने विचार राखे। जातीय आधारमा राज्यपुनर्संरचना गरिन नहुने उनको धारणा थियो। गण्डकी प्रदेशको नामकरणको पक्षमा निर्णय गरेको भन्दै उनले नेकपालाई धन्यवाद दिए।

सांसद धनञ्जय दवाडीले अहिलेको प्रदेश ४ को इतिहासमा जडान, शेषान्त र मगराँत रहेको र त्यसलाई केवल गण्डकीले जोड्ने बताए। ‘यहाँका हामीबीचको जीवनशैली फरक पहिचान छ, त्यो पहिचान गण्डकी हो’, उनले भने। सांसद राजीव पहारीले बहुजाति, बहुधाषा र बहुधर्म भएको प्रदेशको साझा नाम गण्डकी उपयुक्त हुने बताए।

सांसदहरू कृष्ण थापा, विष्णुप्रसाद लामिछाने, विनोद केसी, इन्द्रलाल सापकोटा, भागवतप्रकाश मल्ल, विन्दुकुमार थापा, चन्द्रमोहन गौचन, डोबाटे विश्वकर्मा र प्रभा कोइरालाले छलफलमा भाग लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.