बालबिवाह रोक्न बिमा

बालबिवाह रोक्न बिमा

 बुटवल : रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिका बिमा कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७५/७६ देखि यो कार्यक्रम लागू गर्ने गरी बजेट विनियोजन गरिएको हो । बिमा कार्यक्रमका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रत्येक बालिकाको नाममा गाउँपालिकाले २० हजार रुपैयाँका दरले छुट्याउने छ । त्यसमा परिवारले ५ हजार रुपैयाँ थपेर बैंकमा जम्मा गरिदिनुपर्ने हुन्छ । कार्यकारी अधिकृत टेकराज भट्टराईले भने, ‘२० वर्षको उमेरपछि विवाह भएपछि ब्याजसहित एकमुस्ट प्रदान गरिनेछ ।’ तर २० वर्षअघि विवाह भए उक्त रकम गाउँपालिकामै आउने उनले बताए ।

जिल्लाको दक्षिणी भेगअन्तर्गत मधेसी समुदायमा बालविवाहको अझै कायमै छ । यसलाई रोक्न यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको हालै सम्पन्न तेस्रो अधिवेशनले बालिका बिमा कार्यक्रम लागू गर्ने निर्णय गर्दै बजेट विनियोजन गरेको हो । यसलाई कार्यविधि बनाई लागू गरिने गाउँपालिका अध्यक्ष बचुलाल केवटले बताए ।

बालविवाहले बालिकाको शिक्षामा प्रत्यक्ष असर पर्ने गरेको छ । ‘विवाह भएपछि बालिकाको पढाइ प्रभावित हुने र पढ्न पाए पनि राम्रोसँग नपाउने भएकाले बालविवाह रोकियोस् भनेर यो कार्यक्रम लागू गरेका हौं’, गाउँपालिकाका अध्यक्ष केवटले भने, ‘यहाँ १६–१७ वर्षमै बालिकाको विवाह हुन्छ ।’ बिमा कार्यक्रमले भ्रुणहत्या पनि रोकिने उनको विश्वास छ ।

ओमसतियमा आकर्षण बढेन

गैडहवाकै अगाडि रहेको ओमसतिया गाउँपालिकाले बालिका बिमा कार्यक्रम लागू गरिसकेको छ । जनप्रतिनिधि आएपछि पहिलो नगरसभाबाटै उसले बालिका बिमा कार्यक्रम लागू गरेको हो । त्यसका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

ओमसतियामा वडा वडाबाट बालिकाहरूको तथ्यांक संकलन गरी बिमाका लागि निवेदन माग गरिएको छ । असार २५ गतेसम्म बुझाउन भनिए पनि अहिलेसम्म निकै कम निवेदन परेको ओमसतियाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । ‘जति हामीले तथ्यांक संकलन गरेका छौं । त्यसअनुसार निवेदन परेका छैनन्’, उनले भने । तथ्यांकभन्दा निकै कम निवेदन परेपछि ७५ लाखमध्ये धेरै रकम फ्रिज हुने देखिएको छ । आगामी आव ०७५÷७६ का लागि पनि गाउँपालिकाले ७५ लाख नै विनियोजन गरेको छ ।

बालिकापक्षबाट निवेदन दिएपछि गाउँपालिकाले तोकेको बैंकमा खाता खोल्नुपर्छ । गाउँपालिकाले खातामा रकम राखिदिने गर्छ । कार्यविधिअनुसार प्रत्येक बालिकाका लागि २० हजार गाउँपालिकाले दिने र ५ हजार रुपैयाँ बाबुआमाले राख्नुपर्ने हुन्छ । विपन्न परिवारको हकमा त्यसमा पनि छुट दिइएको छ । ओमसतिया गाउँपालिकामा पनि केही समुदायमा बालविवाह अझै व्याप्त छ । ‘अभिभावकले पनि विवाह गर्न खोज्छन्, सानै उमेरमा कतिपय आफूखुसी बिहे गर्छन्’, गाउँपालिकाकी उपाध्यक्ष सुन्दरमती हरिजनले भनिन्, ‘बिमा कार्यक्रम भयो भने त्यो रोकिएला ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.