राजपा बैठकः विधानको टुंगो लागेन, दलको नेता छान्नै समस्या
काठमाडौंः राष्ट्रिय जनता पार्टीको राजनीतिक समितिको शनिवारदेखि जारी बैठक आइतवार पनि ठोस निचोडबिना सकिएको छ । पार्टीको विधान संशोधन तथा संसदीय दलको विधान पारित गर्नका लागि बसेको बैठक आइतार पनि ठोस निर्णयबिनै सकिएको हो । सोमबार बस्ने गरी आइतवारको बैठक सकिएको नेता शरदसिंह भण्डारीले अन्नपूर्णलाई जानकारी दिए ।
‘राजनीतिक समितिले प्रस्ताव गरेका विषयलाई टुंग्याउने जिम्मा अध्यक्षमण्डललाई दिइएको छ’, उनले भने, ‘सोमवार या मंगलवारसम्म बैठक गरी विधान संशोधनलाई टुंग्याइने छ ।’
अझै निस्केन निचोड
बबरमहलस्थित पार्टी कार्यालयमा शनिबारदेखि जारी बैठक महाधिवेशनका लागि पार्टी विधान संशोधन तथा संसदीय दलको विधान पारित गर्ने तथा महाधिवेशनको स्थान तोक्न केन्द्रित भएको थियो । शनिवार राजनीतिक समितिले विधान संशोधनको जिम्मा अध्यक्षमण्डलाई दिएको थियो । आइतबार विधानको प्रावधानबारे सामान्य छलफल भएको नेता सिंहले जानकारी दिए ।
‘दुवै विधानका सम्बन्धमा राजनीतिक समितिका सदस्यहरुले आफ्नो धारणा राखिसकेको अवस्थामा अध्यक्षमण्डलका ६ जना नेताहरुको आइतबारको बैठकमा पनि त्यसबारे धारणा राखेका छन्’, सिंहले भने, ‘सोमबार पनि त्यो क्रम जारी रहने छ । सोमबार विधानबारेमा ठोस निर्णय हुने सम्भावना छ ।’
राजपाले पार्टीको महाधिवेशन अगामी वैशाख पहिलो साता गर्ने यसअघि नै निर्णय गरिसकेको छ । तर अध्यक्षमण्डलको यही बैठकले नै महाधिवेशनको स्थान पनि टुंगो लगाउने छ ।
नेता छान्नै कठिन
पार्टी विधान नटुंगिँदा प्रतिनिधिसभाकोे पहिलो अधिवेशन बसेको ४ महिना बितिसक्दा पनि राजपाले संसदीय दलको नेता छान्न सकेको छैन । विधान नटुंगिएको अवस्थामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतो दुवैले संसदीय दलको नेतामा दावी गरेपछि नेता छान्न सकस भएको हो । संसदीय दलको नेता चयनसम्बन्धी विधानको मस्यौदा पारित भएपछि मात्रै दलको नेता छनोट हुने बाटो खुल्ने छ ।
विधान संशोधन हुँदै
पार्टीको महाधिवेशनसम्बन्धी प्रावधान नराखिएकाले पार्टीको विधान संशोधन गर्न लागिएको हो । त्यस्तै पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुने प्रावधानका कारण उक्त कुरा संशोधित विधानमा समावेश गर्न लागिएको नेता केशव झाले बताए ।
निर्वाचन आयोगले राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन अनुरुप केन्द्रीय समिति समावेशी बनाउन एक महिनाको समय राखी पत्र पठाइसकेको छ ।
विधान परिमार्जन कमिटीले पेश गरेको दस्तावेजमाथि छलफल जारी रहेको र सोमाबार बस्ने अध्यक्षमण्डलको बैठकमा थप छलफलपछि अन्तिम रुप दिइने नेता भण्डारीले अन्नपूर्णलाई बताए । सोमबार नै संसदीय दलको वैठक समेत बोलाइएको छ । संसदीय दलको विधान तयार भए पनि दलको बैठकमा छलफल गरी टुंग्याइने सिंहले जानकारी दिए ।
प्रदेश सरकारलाई समिति
आइतबारको बैठकले प्रदेश नं. २ को सरकार सञ्चालनका लागि समन्वय गरी सरकारलाई प्रभावकारी बनाउन राजपा र फोरम दुई दलको समन्वय समिति गठन गर्ने विषयमा निर्णय भइसकेको सिंहले बताए । उनका अनुसार भातृ संगठनको नामको पनि टुंगो लागेको छ ।
राजपाले अहिले सम्म भातृ संगठनका नामको टुंगो गर्न सकेको थिएन । आइतबारको बैठकमा सरकारले संविधान संशोधनका लागि देखाएको उदाशीनताप्रति चिन्ता प्रकट गर्दै कडाखाले दबाब दिने विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा सरकारले संविधान संशोधनमा देखाएको उदाशीनताप्रति चिन्ता जनाउँदै राजपाले अब कडारुपमा प्रस्तुत हुने निचोड पनि निकालेको छ ।
प्रतिक्रिया दिनुहोस !