पाकिस्तानका पूर्वराष्ट्रपतिलाई विदेश जान प्रतिबन्ध
इस्लामाबाद : पाकिस्तानको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति एवं पाकिस्तान पीपल्स पार्टीका सहअध्यक्ष आसिफ अली जरदारीलाई विदेश जान प्रतिबन्ध लगाएको छ ।नक्कली बैंक खाताको खुलासा भएपछि अदालतले आइतबार यस्तो आदेश दिएको हो ।सर्वोच्च अदालतले जरदारीकी बहिनी फरयाल तालपुरलाई पनि यस्तै फैसला सुनाएको छ । जिओ टेलिभिजनका अनुसार प्रधानन्यायाधीश साकिब निसारले २० जनालाई प्रतिबन्धित सूचीमा राखिएको स्पष्ट पारेका छन् ।
उक्त सूचीमा राखिएका सबैले पाकिस्तान छोड्न नपाउने उनले जानकारी दिएका छन् । प्रधानन्यायाधीशले फर्जी बैंक खातको अनुसन्धानलाई तीव्र गति दिन पनि सरकारलाई आदेश दिएका छन् । सर्वोच्च अदालतले फर्जी बैंक खातका बनाएका ७ जना र यसबाट अनुचित लाभ लिनेमा सहभागी थप १३ जनालाई १२ जुलाईमा उपस्थित हुन आदेश पनि दिएको छ । त्यसरी आदेश दिइएकामा जरदारी, फरयाल, तारिक सुलतान, इरम अकील, मोहम्मद अशरफ र मोहम्मद इकबाल आराईं पनि छन् ।
फर्जी बैंक खाताबाट लाभ लिनेमा नासिर अब्दुल्ला, अन्सारी सुगर मिल्स, ओमानी पोलीमर प्याकेजेज, पाक इथेनोल प्राइभेट लिमिटेड, चाम्बर सुगर मिल्स, एग्रो फार्म थट्टा, जरदारी ग्रुप, पार्थेनोन प्राइभेट लिमिटेड, एवन इन्टरनेशनल लगायत सहभागी छन् । शुक्रवार संघीय अनुसन्धान संस्था (एफआईए)ले सेन्ट्रल डिपोजिटरी कम्पनी (सीडीसी) अध्यक्ष एवं समिट बैंकका उपाध्यक्ष हुसैन लावाइलाई हिरासतमा लिएको छ । लावाइ जरदारीका निकट सहयोगी हुन् । एफआईएका अनुसार एक महिला समेत सातजनाको नाममा २९ वटा बैंक खाता खोलिएको थियो । यीमध्ये १८ भन्दा बढी नक्कली बैंक खाता समिट बैंकमा खोलिएका थिए ।
पूर्वप्रधानमन्त्री शरीफ जेल जान तयार
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले आफू जेल सजाय भोग्न तयार रहेको बताएका छन् । पाकिस्तानी अदालतले शुक्रबार उनलाई दश वर्षको जेल सजाय सुनाएकाले त्यसको सामना गर्न आफू तयार रहेको उनले बताएका हुन् ।‘देश र जनताको स्वतन्त्रताका लागि म जस्तोसुकै संघर्ष गर्न तयार छु’, पूर्वप्रधानमन्त्री शरीफले भने । श्रीमतीको उपचारका लागि लन्डनमा रहेका शरीफले जेल सजाय भोग्न चाँडै स्वदेश फर्किने स्पष्ट पारेका छन् । कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले खुलासा गरेका छैनन् ।
श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफू स्वदेश फर्किने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री शरीफकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् । इस्लामावादको अदालतले शरीफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजाय तोकेको हो । उनलाई दश वर्ष जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।
नेता शरीफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनले पदबाट राजीनामा दिएका थिए । लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप शरीफमाथि थियो ।
उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । उनीमाथि लागेको आरोपको शरीफ र उनका समर्थकले अस्वीकार गर्दै आएका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरीफमाथि गलत अभियोग लगाइएको दाबी गर्ने गरेका छन् । अदालतले शरीफसँगै उहाँकी छोरी मरीयम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सजाय तोकेको छ ।
त्यसैगरी मरियमका श्रीमान् मोहम्मद सफदारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको इतिहास छ । पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ रजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अदालतले मानहानिको आरोपमा अयोग्य घोषणा गरेको थियो ।