ढिलासुस्ती गर्ने ठेकेदारलाई पत्र काटियो: सूची गृह मन्त्रालयमा

ढिलासुस्ती गर्ने ठेकेदारलाई पत्र काटियो: सूची गृह मन्त्रालयमा

रुकुमकोट : जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले विकास निर्माणको काममा ढिला सुस्ती गर्ने व्यवसायीलाई सचेत गराएको छ। जिल्ला प्रशासन कार्यालयले चिठी काटेर ५ वटा योजना निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई सचेत गराएको हो। ३ वटा मोटर पुल, एउटा झोलुंगे पुल र एउटा सडक विस्तारमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

रुकुमगाड खोला मोटर पुल निर्माण योजना रेली खोलामा काम गर्ने जिम्मा लिएको याकथुम्हाङ÷बीबी जेभी निर्माण सेवा, सानोभेरी (तरवरा) सडक पुल पोखरा–रुकुमकोट निर्माणको जिम्मा लिएको मृत सञ्जिवणि निर्माण सेवा, लुकुमखोला मोटर पुल दोमई निर्माणमा जिम्मा लिएको मृत सञ्जिवणि निर्माण सेवालाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। छिपतारा झोलुंगे पुल निर्माणको जिम्मा लिएको अकेला वाविरो जेभी निर्माण सेवा र कांक्री–विरगुम–मैकोट सडक विस्तार आयोजनाको जिम्मा लिएको पम्पु कोसी एन्ड न्यौपाने निर्माण सेवालाई ढिलासुस्ती नगरी काम गर्न सचेत गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

योजना÷आयोजना निर्माण कम्पनीको पछिल्लो प्रगतिसहित सम्बन्धित सम्झौता भएका निकायलाई जानकारी गराइएको र ढिलासुस्ती गर्नेहरूको सूची गृह मन्त्रालयमा पठाइएको पनि प्रजिअ शर्माले बताए। ‘ढिलासुस्ती भएको पाइयो, सम्पन्न भइसक्नुपर्ने योजना तथा आयोजनाहरूको भर्खर काम सुरु भएको छ, कामलाई तीव्रता दिन भन्दै सचेत गराइएको छ’, प्रजिअ शर्माले भने।

पाँच वर्षअघि निर्माण थालिएको रुकुमगाड खोला मोटर पुल निर्माण योजनाको भर्खर ५० प्रतिशत मात्रै काम भएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल सिस्ने र भूमे गाउँपालिका जोड्ने महत्वपूर्ण सडक पुल हो। यो पुल नबनेकै कारण हरेक वर्षको वर्षायाममा रुकुमगाड खोलाले गाडी तथा सर्वसाधारणलाई वारपार गर्न रोकेको छ। यसै असार महिनामा सम्पन्न हुने गरी जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिममा सम्झौता गरिएको सानोभेरी (तरवरा) सडक पुल निर्माणको प्रगति १० प्रतिशत मात्रै भएको छ। सिस्ने गाउँपालिकाकाका २ वटा वडासहित रुकुमपश्चिम हुँदै डोल्पासम्म सडक जोड्ने यो महतवपूर्ण सडक पुल हो। लुकुमखोला मोटर पुल दोमई निर्माणको प्रगति ४० प्रतिशत छ।

रोल्पाबाट रुकुमपूर्व जोड्ने यो पुल सहिदमार्ग सडक आयोजनाअन्तर्गत पर्छ। एक वर्षअघि निर्माण थालिएको छिपतारा झोलुङ्गे पुल निर्माणको प्रगति १५ प्रतिशत मात्रै छ भने सहिदमार्ग सडक आयोजनाअन्तर्गतको कांक्री–विरगुम–मैकोट सडक विस्तार आयोजनाले हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ। कांक्री–विरगुम–मैकोट सडक विस्तार आयोजना रुकुमपूर्वको महत्वपूर्ण आयोजना हो। 

सरकारले यही आयोजनामार्फत हालसम्म पनि सडक नपुगेको रन्मामैकोटसम्म सडक पुर्‍याउने लक्ष्य लिएको छ। रोल्पाबाट रुकुमपूर्वको चुनावाङ, महत हुँदै कांक्री, तकसेराबाट माथिको भूगोलमा सडक पुर्‍याउने लक्ष्य सरकारले राखेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.