६ पाकिस्तानी नेतालाई आतंकवादी आक्रमणको खतरा
इस्लामावाद : पाकिस्तानको राष्ट्रिय आतंकवाद निरोधी प्राधिकरण (नाक्टा)ले पाकिस्तानका ६ नेतामाथि आतंकवादी आक्रमणको खतरा भएको खुलासा गरेको छ । निर्वाचन प्रचारका क्रममा उनीहरूमाथि आतंकवादीले आक्रमण गर्ने सूचना मिलेको बचाइएको छ ।
नाक्टाका निर्देशक ओबेद फारुखले सोमबार पाकिस्तानी सिनेटको स्थायी समितिलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् । फारुखले भने, ‘पाकिस्तान तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खान, अवामी न्याशनल पार्टीका नेता असफन्दियार वाली र अमीर हैदर होती, कौकमी वतन पार्टीका प्रमुख अफताब शेरपाओ, जमियत उलेमा-ए-इस्लाम-फजलका नेता अकरम खान दुर्रानी र तहला सइदमाथि आतंकवादी आक्रमण हुने खबर पाएका छौं ।’
डान न्यूजले फारुखलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसका साथै पाकिस्तान पीपल्स पार्टी र पाकिस्तान मुस्लिम लीग-नवाजका वरिष्ठ नेताहरूमाथि पनि यस्तो खतरा रहेको छ । फारुखले नाक्टाले संघीय तथा प्रान्तीय गृहमन्त्रालयसँग यस विषयमा सतर्क रहन आदेश दिएको बताएका छन् ।
स्थायी समितिका सभापति सिनेटर रहमान मलिकले पाकिस्तानी गृहमन्त्रालयलाई ती नेताहरूको पूर्ण सुरक्षा गर्न निर्देशन दिएका छन् । उनले निर्वातन आयोगका सचिव बाबर याकूबलाई पनि यसबारे जानकारी दिएको स्पष्ट पारेका छन् । जुलाईमा हुने आमनिर्वाचनका बेला हिंसा भड्कन सक्ने भएकाले नेताहरूको सुरक्षामा गम्भीर हुन आग्रह गरिएको छ ।
निर्वाचनमा सेनाको भूमिका नरहने
पाकिस्तानमा राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुने निर्वाचनमा सेनाको ‘प्रत्यक्ष भूमिका नरहने’ पाकिस्तानी सेनाका प्रवक्ताले मंगलबार बताएका छन् । सेनाको यो भनाइ निर्वाचनको परिणामलाई प्रभाव पार्न व्यापक रूपमा सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दबाव सिर्जना गरेको भनी आएका आरोपप्रति लक्षित गरी आएको हो ।
राज्यको शक्तिशाली संस्था सेनाले आरोपको खण्डन गर्दै आफ्नो झण्डै ७० वर्षको इतिहासमा ३ लाख ७० हजार सेना निर्वाचनका दिन मतदान प्रक्रियालाई निर्विघ्न तरिकाले सञ्चालन गर्नका लागि तैनाथ हुने स्पष्ट पारेको छ । यद्यपि यसमा आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताएका छन् ।
‘पाकिस्तानी सैनिक सुरक्षा बलको प्रत्यक्ष भूमिका रहनेछैन’, उनले रावलपिण्डी सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म यो प्रष्ट पार्न चाहन्छु कि सेनाको निर्वाचनमा प्रत्यक्ष भूमिका रहनेछैन ।’ उनले राजनीतिक प्रक्रियामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै भने, ‘न त सेना न यसको गुप्तचर निकाय राजनीतिक उद्देश्यका लागि काम गर्दैन ।’ पाकिस्तानको निर्वाचन आयोगले सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ ।
निर्वाचनलाई सफल बनाउन ३ लाख ७१ हजार ३ सय ८८ सैन्य अधिकारीले निर्वाचन आयोगद्वारा तोकिएको जिम्मेवारी निर्वाह गर्नेछन् । पाकिस्तानको सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन), सञ्चारमाध्यम, राजनीतिक विश्लेषक तथा अधिकारकर्मीले पीएमएल–एनविरुद्ध अघोषित एवम् शान्तिपूर्ण रूपमा विद्रोह गराउन लागेको यहाँको प्रबुद्धहरूको संगठनले बताउँदै आएको छ ।