नारायणगढ–मुग्लिनको १७ किलोमा यसरी भासियो सडक
चितवनः नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा करिब ६५ मिटर सडक भासिएको छ । हालै मात्र निर्माण पुरा भएर सञ्चालनमा आएको यो सडकमा माथिबाट झर्ने पहिरोले पिरोलिरहेका बेला करिब ६५ मिटर भासिएपछि यातायात एकतर्फी भएको छ ।
सन् २००४ मा भासिएको ठाउँमा करिब २० मिटर तलबाट रड भित्तामा छिराएर माटो भरेपछि बनाइएकै ठाउँमा सडक भासिएको हो । मंगलबारबाटै भासिएको यो सडक बुधबार अझै धेरै धसिन पुगेको छ । सडक भासिएसँगै यहाँ सवारीसाधनलाई एकतर्फी बनाएर चलाइएको छ।
यो सडक दुईवटा कारणले भासिएको हुन सक्ने भूगर्भविद अच्युत कोइराला बताउँछन् । उनका अनुसार पहिलो कारण सडक भन्दा मुनिको भागतर्फ त्रिशूली नदीको बहाव आएर कटान गरेका कारण भासिएको हुन सक्छ ।
त्यस्तै दोस्रो कारण भनेको सन् २००४ मा भासिएको स्थानमा गरिएको मर्मतको आयु सकिएर पनि भासिएको हुन सक्छ । सडक भासिएपछि अहिले भूगर्भविद्ले अध्ययन गरिरहेका छन् । सडकको सतहदेखि त्रिशूलीतर्फ करिब २० मिटरसम्म सडकको पर्खालसमेत चिरा परेर भासिएपछि यहाँ पहिरो जाने जोखिम पनि बढेको छ । 



प्रतिक्रिया दिनुहोस !