स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

फलो अप

जाजरकोट : पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरी काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थ मन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी काममा फर्किएका हुन् ।

‘स्वास्थ्यकर्मीले तलब नपाउँदा काम रोके’ भन्ने शीर्षकमा बुधवार अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार प्रकाशित भएपछि तलब निकासा दिन अर्थ मन्त्रालय सहमत भएको हो । जिल्ला अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगन गरी काममा फर्किएको बताए । बुधबार भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले पत्रकार सम्मलेन गरी लामो समयको प्रयासपछि अर्थ मन्त्रालयले तलब निकासा दिन स्वीकृति दिएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । नगरपालिकाले तलबभत्ता गरी एक करोड ३२ लाख रुपैयाँ माग गरेकोमा हाललाई ९५ लाख रुपैयाँ स्वीकृत भएको नगरप्रमुख घर्तीले बताए । ‘एकदुई दिनमै उहाँहरूले तलब पाउनुहुन्छ’, उनले भने, ‘ढिलै भए पनि तलब दिन अर्थ मन्त्रालय सहमत भएको छ, खुसीको कुरा हो । तपाईंहरूले अबका केही दिनमै तलब पाउनुहुन्छ, ढुक्क भएर काममा फर्किनुहोस ।’

स्थानीय तहमार्फत आएको रकमले गत मागसम्म मात्र पुगेको र त्यसपछिको बाँकी ५ महिनाको तलब नपुग्दा स्वास्थ्यकर्मीले तलब लिन पाएका थिएनन् । भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीले मन्त्रालयमै गएर स्वास्थ्यकर्मीको तलब निकासा दिन आग्रह गर्दा पनि सुनुवाइ भएको थिएन । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी हुँदा पनि अस्पतालका ५७ र नगरपालिकामातहतका ३४ स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब र ७ महिनादेखिको अतिरिक्त भत्ता पाउन सकेका थिएनन् । लामो समयदेखिको तलब नपाएपछि स्वास्थ्यकर्मीले दबाबका लागि आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए । लामो समयदेखि तलब नपाउँदा दैनिक खर्च चलाउनसमेत समस्या भएपछि स्वास्थ्यकर्मी आन्दोलनमै उत्रन बाध्य भएका थिए । स्वास्थ्यकर्मीहरूले मंगलबार तलबको माग गर्दै सडक प्रदर्शनका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । उनीहरूले प्रजिअमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण सयौं बिरामीले सास्ती खेपेका थिए । कैयौं बिरामी उपचारका लागि जिल्लाबाहिर जान बाध्य भएका थिए । स्वास्थ्यसंस्था स्थानीय तहमा गएपछि कति स्वास्थ्यकर्मीलाई कति रकम तलबका लागि आवश्यक पर्ने हो यकिन हुन नसक्दा समस्या देखिएको हो । अर्थले यसअघि नै एकमुस्ट पठाएको स्वास्थ्यको रकम अन्य प्रयोजनमा खर्च भएपछि तलब नपुगेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.