चोरबाटो भएर भारत पुर्‍याइन्छन् गाईगोरु

चोरबाटो भएर भारत पुर्‍याइन्छन् गाईगोरु

बिर्तामोड : प्रदेश १ का पहाडी र तराईका जिल्लाबाट गाईगोरु खुलेआम भारततर्फ तस्करी भइरहेको छ। पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका विभिन्न क्षेत्रबाट हुँदै आएको तस्करी रोक्न स्थानीय प्रशासनले ध्यान नदिँदा दैनिक सयौं गाईगोरु भारत पुर्‍याइन्छन्।

इलामको सूर्योदय नगरपालिकाका सन्दीप मगरले दैनिक सयौं गाईगोरु भारतीय व्यापारीले अवैध रूपमा लैजाँदा पनि प्रहरीले नदेखेजस्तो गर्ने गरेको गुनासो सुनाए। ‘भारतीय नागरिकले दिन–दिनै चोरबाटोबाट गाईगोरु लैजान्छन्, प्रहरीले पक्राउ नै गर्दैन। हामीले भन्दा देखेनौं भन्ने उत्तर आउँछ’, उनले भने, ‘यसको मतलब हामीले के बुझ्नु ? प्रहरीको पनि मिलेमतो होइन र यो ? ’ स्थानीयबाट दबाब बढेपछि भने सूर्योदय नगरपालिका क्षेत्रबाट प्रहरीले हालै २६ चौपायासहित चार सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको थियो।

इलाम मात्र होइन, ताप्लेजुङका साबिकका कालीखोला र सादेवा गाविसबाट पनि ठूलो मात्रामा चौपाया तस्करी हुने गरेको छ। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभामा संकलन गरिएका चौपाया यो क्षेत्र भएर तस्करी हुने गरेको हो। कोसी राजमार्ग भएर झापाको दमक हुँदै पनि भारत तस्करी हुने गरेको छ।

तस्करले मासुका लागि भारततर्फ गाईगोरु लगिरहे पनि प्रशासनले रोक्न नसकेको गुनासो स्थानीयले गरेका छन्। ग्रामीण क्षेत्रका किसानले पालेका गाईगोरु व्यापारीले सस्तोमा खरिद गरी ताप्लेजुङको उक्त स्थानका साथै इलामको सूर्योदय नगरपालिका र झापाको दमक हुँदै भारतसम्म पुर्याउने गरेको चौपाया खरिद गर्ने भारतीय नै बताउँछन्।

पहाडमा संकलन गरिएका गाईगोरु रातको समयमा धनकुटाको सिंधुवाबाट ट्रकमा राखेर दमक पु‍र्याउने गरिएको भारत सिक्किम घर बताउने मनकुमार तामाङले सुनाए। उनका अनुसार यसअघि तेह्रथुमको शुक्रबारे, म्याङलुङ, संक्रान्तिलगायत क्षेत्रको पैदलमार्ग भएर तमोर नदी तारी दमक पु‍र्याउने गरिएको थियो। पछिल्लो समय गाडीबाटै गन्तव्यमा पु‍र्याउने गरिएको पाँचथरका गाईगोरु व्यापारी शुक्रवीर लिम्बूले बताए। हिँडाएर लैजाँदा समय लाग्ने र दुःखसमेत बढी हुने भएकाले ट्रकमा राखेर लैजान थालिएको उनको भनाइ छ।

गाई भारतबाट नेपाल आयात र नेपालबाट निर्यात गर्न कानुनी जटिलता भए पनि तस्करले मिलेमतोमा अवैध धन्दा चलाइरहेको जनाइएको छ।

पारीले हिँडाएर र सवारी साधनमार्फत झापाको दमक ल्याएका चौपाया बिचौलियामार्फत भारतीय व्यापारीसम्म पुर्याउने गरिएको छ। किसानकै घरदैलोमा पुगेर खरिद गर्दा बढी नाफा हुने भएकाले यो व्यवसायमा लागेको दमकमा भेटिएका पाँचथरका लिम्बूले बताए। व्यापारीले गाउँ–गाउँबाट दुधालु गाईसमेत मासुका लागि लैजाने गरेकाले ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्लामा गाई र गोरुको भाउ बढेको स्थानीय बताउँछन्। तस्करले आँखै अगाडि गाईगोरु लाम लगाएर धपाउँदै गर्दा प्रहरी, प्रशासन र पशु सेवा कार्यालय मौन देखिनु अचम्मको विषय भएको दमकका राजकुमार गुरागाईंको भनाइ छ।

दमक हुँदै भारतसम्म चौपाया पुर्याउने भारतीय व्यापारी सुरेन्द्र मुखियाले भने आफूहरूले प्रक्रिया पुर्याएर भारत लैजाने गरेको दाबी गरे। ‘हामी रसिद बनाएरै लैजान्छौं, कसरी अवैध ? ’, उनले प्रश्न गरे। तर उनले धुलाबारीमा खरिद गरेको गाई र गोरुको बिक्री तथा खरिद रसिदमा ‘चौपाया’ मात्र लेखेको पाइएको छ। पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार पशुको खरिदबिक्री रसिदमा चौपायाको हुलिया खुल्नुपर्छ।

गाई भारतबाट नेपाल आयात र नेपालबाट निर्यात गर्न कानुनी जटिलता भए पनि तस्करले मिलेमतोमा अवैध धन्दा चलाइरहेको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख मुकेशकुमार सिंहले स्वीकार गरे। नेपालबाट मासुका लागि गाईको निकासी गर्न प्रतिबन्ध छ तर प्रहरीलाई आर्थिक प्रभावमा पार्दै गाईको निकासी गर्ने गरेको पाइएको हो।

गाईबाहेक चौपाया निकासीका लागि सरकारले झापाका दुईवटा नाका मात्र खुला गरेको छ। काँकडभिट्टा र भद्रपुर नाकाबाट गाईबाहेक चौपाया निकासी गर्न पाइने कानुनी प्रावधान छ। अन्य नाकाबाट चौपाया निकासी गर्न पाइँदैन। ११३ रुपैयाँ भन्सार दाखिला गरेपछि चौपाया एकैपटक निकासी गर्न पाइने प्रावधान छ।

तर, व्यापारीले दमकमा खरिद गरेका गाई पूर्व–पश्चिम राजमार्ग हँुदै झिलझिलेबाट शिवगन्ज, कुञ्जीबारी र महाभारा अनि दिघल बैंकबाट निकासी गर्ने गरेका छन्। त्यस्तै, अर्को नाका गौरीगन्जको फत्तेपुरबाट पनि गाई निकासी हुने गरेको स्थानीय बताउँछन्। घैलाडुब्बाको पशुबजारमा खरिद भएका गाई झापा गाउँपालिकाको कामाटोली बजार भएर झापा बजार हुँदै निकासी हुन्छ। भद्रपुरमा खरिद गरिएका गाई पृथ्वीनगरको कदमगाछीबाट भारत पुग्छ। धुलाबारी बजारमा खरिद भएका गाई नकलबन्दा र ज्यामिरगढीबाट भारत पुग्ने गरेको जनाइएको छ। यी सबै नाकामा प्रहरी र सशस्त्र परिचालित छन् तर हालसम्म गाईगोरु पक्राउ गरेको तथ्यांक छैन।

भारतीय भूमिमा गाईको आयात-निर्यात बन्द छ। भारतीय तस्करले रातको समयमा सशस्त्र प्रहरीलाई प्रतिगोटा १० रुपैयाँ र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई १० भारु दिएपछि जति पनि गाईगोरु लैजान सकिने एक व्यापारीले बताए। झापाका प्रहरी उपरीक्षक विष्‍णुकुमार केसीले सिमानामा प्रहरीले गलत गरे अनुसन्धान गरी कारबाही गरिने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.