सडकको पहिरो पन्छाउन सकस

सडकको पहिरो पन्छाउन सकस

जाजरकोट : जाजरकोटमा खासै बर्खा लागिसकेको छैन । यद्यपि, छिटफुट रूपमा भइरहेको वर्षातमा पनि पहिरो गएर बाटो अवरुद्ध हुन थालेपछि स्थानीय चिन्तित देखिएका छन् । भिरालो जमिनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।

केही दिनअघि परेको झरीले जिल्लाका दर्जन बढी सडक बन्द भइसकेका छन् । तर, ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाएपछि भेरी नगरपालिका आफैंले पहिरो हटाउन थालेको छ । यद्यपि, नगरसँग पर्याप्त बजेट नहुँदा समस्या देखिएको छ । छिन्चु जाजरकोट सडकको शान्तिचौतारास्थित खहरे खोलामा पटक–पटक माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुन थालेको र सदरमुकामभित्रै दर्जन बढी ठाउँमा सडकको तल–माथिबाट पहिरो गएपछि बाटो सुचारु गराउन नगरपालिकालाई निकै सकस परेको नगरपालिकाका कार्यकारी प्रमुख डिल्लीराज बेल्वासेले बताए ।

छिन्चु जाजरकोट सडकको खहरे खोलामा आएको पहिरोले ६ घण्टा अवरुद्ध भएको सडक आइतबार बिहान नगरपालिकाले खुलाएको छ । कार्यकारी प्रमुख बेल्वासेका अनुसार नगरपालिकाले विपद् व्यवस्थापनमा चालु आवमा १३ लाख रुपैयाँ मात्र छुट्याएको थियो तर खर्च नै २० लाख बढी भइसकेको छ । धेरै पहिरो गएर बाटो अवरुद्ध हुन थालेपछि नगरपालिकाले आफंैले इन्धन हाल्ने गरी मासिक दुई लाख ४० हजार रुपैयाँमा जेसीभी ( डोजर ) भाडामा लिएको छ । ‘बर्खाका बेला ग्रामीण भेगमा नभए पनि सदरमुकाम आसपास र छिन्चु जाजरकोट सडक सुचारु गराउन चाहन्छौं तर बजेट अभावले समस्या परेको छ’, नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने, ‘ग्रामीण भेगका सहायक सडकमा गएको पहिरो हटाउने जिम्मा नगरको भएको तर ठूला सडकको पहिरो हटाउने जिम्मा सडक डिभिजनको भए पनि सबै काम नगरले नै गर्नुपरेको छ ।’

छिन्चु जाजरकोट सडकमा पहिरो गए सफा गर्न रुकुमको चौरजहारीमा रहेको सडक डिभिजनलाई बारम्बार आग्रह गर्दा पनि नटेरेको नगरप्रमुख घर्तीको भनाइ छ । नगरभित्रका सडकमा गएका ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । उनले सबै निकाय जिम्मेवार हुन र जिम्मेवारीबाट पछि कोही पनि नहट्न आग्रह गरे ।

शनिबार राति खलंगाको शान्तिचौतारास्थित ट्राफिक प्रहरी कार्यालय नजिक माथिबाट आएको पहिरोले एक ट्र्याक्टर पुरेको छ । चालक भागेर ज्यान जोगाएका थिए । उक्त पहिरो पनि नगरपालिकाको भाडामा लिएको जेसीभीले सुचारु गराएको छ । त्यस्तै, शुक्रबार राति आएको पहिरोले नलगाड–८ मा २८ रोपनी खेतमा लगाएको धान बाली पुरिदिएको छ । पहिरोले छेप्का कैन, कालिमाटी लहाँ, खलंगा पाँचकाटिया, दशेरा सुयाडा, भुर स्याउली, जगतिपुर छिपे्रनालगायत दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर, ती सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.