प्रदेश राजधानीमा बसपार्क अभाव

प्रदेश राजधानीमा बसपार्क अभाव

सुर्खेत : साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर संघीयता कार्यान्वयनसँगै प्रदेशको राजधानी भएको छ। वीरेन्द्रनगरलाई प्रदेश राजधानी तोकिएसँगै दुर्गमबाट बसाइँ सरी आउनेको संख्या दिनानुदिन बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्था खुल्ने क्रम रोकिएको छैन, साविकका क्षेत्रीय कार्यालय संघीय संरचनाअनुसार स्थापना हँुदै छन्। प्रदेशको राजधानीसँगै व्यापारिक केन्द्र बनेको वीरेन्द्रनगरमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ। पार्किङ अभाव झेल्दै आएको नगरमा प्रदेशस्तरको बसपार्क आवश्यक छ।

सवारी चाप बढेसँगै व्यवस्थापन गर्ने संयन्त्र प्रभावकारी नबन्दा सवारीसाधन व्यवस्थापनका लागि मुख्य चुनौती बन्दै गएको छ। राजधानी भएसँगै मुहार फेर्न लागेको वीरेन्द्रनगरमा सुविधा सम्पन्न बसपार्क नहुँदा कुरुप बन्दै गएको हो। अर्काेतर्फ सवारी दुर्घटनाको समेत उच्च जोखिम छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार हाल वीरेन्द्रनगरमा दुई लाख सवारीसाधन सञ्चालन हुने गरेका छन्। जसमा १७ हजार मोटरसाइकलबाहेक अन्य एक लाख ८० हजार सवारी पार्किङ खुला स्थानमा गर्नुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ।

सुविधा सम्पन्न बसपार्क निर्माण गर्न नगरपालिकाले सम्भाव्यता अध्ययनका लागि उपयुक्त स्थान खोजी गरेको छ। ‘पहिले नगरपालिकाको क्षमतालाई आधार मानी सिटी बसपार्क निर्माण थालियो’, वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले भने, ‘हाल संघीय संरचनाअनुसार राजधानी भयो, दैनिक सवारी बढिरहेका छन्। हालको सिटी बसपार्कले पनि सवारी चाप धान्ने देखिँदैन तसर्थ उपयुक्त स्थानको खोजी थालिएको हो।’ नगरपालिकाले नगरको पश्चिमतर्फको बांगेसिमलमा प्रादेशिक बसपार्क निर्माणको विकल्पका रूपमा हेरेको छ। उनले दुई वर्षभित्र विकल्पका रूपमा हेरिएको प्रादेशिक बसपार्क पनि अस्थायी रूपमा सञ्चालनमा आउने गरी नगरपालिकाले काम गर्ने बताए।

सिटी बसपार्क दसैंपछि सञ्चालनमा

दुई वर्षदेखि निर्माणाधीन वीरेन्द्रनगरको सिटी बसपार्क दसैं‌लगत्तै सञ्चालनमा आउने भएको छ।

सुर्खेतमा गाडी भित्रिएको करिब ३७ वर्षपछि कालोपत्रेसहितको सुविधासम्पन्न बसपार्क पहिलो पटक सञ्चालनमा आउन लागेको हो। १५ महिनामा सम्पन्न गर्ने भनी ठेक्का दिइएको बसपार्क अढाई वर्ष पुग्दा पनि सम्पन्न नभएपछि नगरपालिकाले ठेकेदारलाई ताकेता गरेको इन्जिनियर अधिकारीले बताए। ०७४ वैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी ६ करोड चार लाख २३ हजार एक सय ६० मा सम्झौता भएको थियो। तोकिएको समयमा काम गर्न नसकेपछि नगरपालिकाले पहिलो पटक ०७४ चैत मसान्तसम्म सक्ने गरी म्याद थप गर्‍यो। निर्माण जिम्मेवारी लिएको ठेकेदार कम्पनी चाङमिला नर्सिङ जेभीले थपिएको म्यादमा काम नसके भुक्तानी नदिने बताएपछि दसैंपछि कामलाई निरन्तरता दिएको थियो।

निर्माण कम्पनीका निर्देशक नर्सिङ धामीले आफूले काम गर्न ढिलाइ नगरेको दाबी गरे। उनले पहिलो पटक विभिन्न समस्याका कारण ढिलाइ भए पनि दोस्रो पटकको म्यादमा निरन्तर काम गरिरहेको बताए।

बसपार्कको पूर्वतर्फको नाला व्यवस्थापन गर्नुपर्ने भए पनि पुनः ५५ लाख रुपैयाँ थप भएको थियो। भदौसम्म निर्माण सकेर नगरपालिकालाई जिम्मा लगाउने निर्देशक धामीले बताए। उनका अनुसार अहिले निर्माण भएको बसपार्कमा एकैसाथ सय वटा गाडीसम्म पार्किङ गर्नसक्ने क्षमता छ। व्यवसायका लागि ५५ वटा सटर र १० वटा काउन्टर रहनेछन्। आधुनिक तरिकाले निर्माण भएको बसपार्कको अब फुटपाथ व्यवस्थापनका लागि काम भइरहेको धामीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.