स्थानीय तहमा बैंक नपुग्दा सास्ती

स्थानीय तहमा बैंक नपुग्दा सास्ती

सुर्खेत : कर्णालीका अधिकांश स्थानीय तहमा हालसम्म पनि बैंक पुगेका छैनन् । बैंकले सेवा विस्तार नगर्दा स्थानीय तहलाई राजस्व जम्मा गर्न, तलब खुवाउन र भुक्तानी गर्नसमेत सास्ती भएको हो । अधिकांश स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध नहँुदा रकम जम्मा गर्न र भुक्तानी लिन हप्तौं हिँडेर सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ ।

अघिल्लो वर्ष भदौमा नेपाल राष्ट्र बैंकले स्थानीय तहमा राष्ट्रिय ‘क’ वर्गका बैंकलाई शाखा विस्तारका गर्न निर्देशन दिएको थियो । तर, कर्णालीका अधिकांश स्थानीय तहमा हालसम्म बैंकले सेवा विस्तार गरेका छैनन् । २५ नगरपालिका र ५४ वटा गाउँपालिका रहेको कर्णाली प्रदेशमा अधिकांश स्थानीय तहमा बैंकको सुविधा उपलब्ध छैन । समयमा बैंकले सेवा विस्तार नगर्दा सर्वसाधारणदेखि स्थानीय तहका जनप्रतिनिधिसमेत जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।

स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोवारका लागि निकै चुनौती खेप्नुपरेको डोल्पाको मुड्केचुला गाउँपालिका-३ कालिकाका स्थानीय नवराज बोहराले बताए । ‘हालसम्म गाउँपालिकामा बैंक आएको छैन’, उनले भने, ‘स्थानीय सरकारको कारोबार गर्न दुई दिन हिँडेरै सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।’ गाउँपालिकाको केन्द्रबाट दुइ दिन पैदल हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यतामा मुड्केचुलावासी छन् । गाउँपालिकाका उपाध्यक्ष सुविता रोकायका अनुसार मुड्केचुलामा राष्ट्रिय वाणिज्य बैंकको शाखा हालसम्म खुल्न सकेको छैन । गाउँमा बैंक नहुँदा दुई सातादेखि जनप्रतिनिधि नै सदरमुकाममा डेरा लिएर बस्नुपरेको उनले बताइन् । उनले भनिन्, ‘गाउँपालिकाको काम छाडेर आधा महिनादेखि सदरमुकाम बस्नुपरेको छ, गाउँ गएर फर्किने हो भने ओहोरदोहोर गर्नै ठिक्क हुन्छ ।’

बैंकको सुविधा लिन दुई दिन पैदल हिँड्नुपर्ने भएकाले सदरमुकाममा डेरा लिएर जनप्रतिनिधिले गाउँपालिकाको काम गर्ने गरेका छन् । भुक्तानी लिन आउने सर्वसाधारणलाई सदरमुकाम पुग्ने भरपर्दाे सेवा डेराबाटै प्रवाह गरिएको उनले बताइन् । उपभोक्ता समितिका पदाधिकारीले भुक्तानी पाए पनि रकम बोकेर गाउँ पुर्‍याउन पनि जोखिम रहेको उनको भनाइ छ । ‘रकम बोकेर सदरमुकामदेखि गाउँ हिँड्दा बाटोमा चोरी हुने हो कि भन्ने चिन्ता हुन्छ’, डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धावा सुन्डुक गुरुङले भने, ‘प्रहरीलाई स्कटिङ गराएर स्थानीय तहमा तलब र विकासे आयोजनाको भुक्तानी पठाउने गरेका छौं ।’ गाउँपालिकादेखि वडापालिकासम्मका जनप्रतिनिधिले भुक्तानीका लागि सदरमुकाम पुग्नुपर्ने भएकाले स्थानीय तहको काम प्रभावित हुने गरेको छ ।

डोल्पामा मात्रै होइन, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि सबै स्थानीय तहमा बैंक सेवा पुग्न सकेको छैन । स्थानीय तहमा बैंक पुग्न नसक्दा आर्थिक कारोबार, भुक्तानी, तलब लिन तथा राजस्व जम्मा गर्न सदरमुकाममा रहेका बैंकमा पुग्नुपर्ने बाध्यता छ । सुर्खेतको चौकुने गाउँपालिकामा पनि हालसम्म लक्ष्मी विकास बैंकले शाखा विस्तार गरेको छैन । बैंक नहुँदा गाउँपालिकाले विकास योजना तथा कार्यक्रमको खाता सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सञ्चालनमा ल्याएको छ । साउनभित्रै बैंक उद्घाटन गर्ने तयारीसाथ गाउँपालिकाको केन्द्र रहेको गुटुमा कार्यालय व्यवस्थापनको काम भइरहेको छ । ‘डेकोरेसनको काम चाँडै सम्पन्न भए औपचारिक रूपमा वित्तीय कारोबार सुरु गर्ने तयारी छ’, लक्ष्मी बैंक वीरेन्द्रनगर शाखाका प्रमुख विनितविक्रम सिजापतिले भने ।

अर्कातर्फ राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय नेपालगन्जले कर्णालीका अधिकांश स्थानीय तहमा बैंक पुगेको दाबी गरेको छ । बैंकका उपप्रबन्धक लिलाराम ढुंगानाले कर्णालीका अधिकांश स्थानीय तहमा बैंकका शाखा स्थापना भइसकेको दाबी गरे । ‘कर्णालीका डोल्पा र मुगुका दुई स्थानीय तहबाहेक अन्य स्थानीय तहमा बैंकको सेवा पुगिसकेको छ’, उनले भने, ‘साउनभित्रै सबै स्थानीय तहमा बैंक पुर्‍याउने लक्ष्यसाथ हामीले अनुगमन गरेका छौं ।’ दुर्गम स्थानमा बैंकको सेवा विस्तार नहुँदा आर्थिक कारोबारमा जटिलता पैदा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.