रूसको बचाउ गरेको भन्दै अमेरिकीले गरे ट्रम्पको विरोध
हेलसिन्की : अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध भएको छ । रूसको बचाउ गरेको भन्दै अमेरिकीहरूले ट्रम्पको विरोध गरेका हुन् । पत्रकार सम्मेलनमा अमेरिकी चुनावमा रूसले हस्तक्षेप गरेको विषयमा आफ्नै अनुसन्धान संस्थामाथि विश्वास छ कि छैन भनेर पत्रकारले प्रश्न उठाएका थिए । त्यसको जवाफमा ट्रम्पले सीआईएका प्रमुखले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसी हस्तक्षेप भएको बताउने गरेको तर त्यसमा आफू विश्वस्त नभएको बताएका थिए ।
ट्रम्पले भने, ‘रूसले यस्तो गर्नुपर्ने कुनै कारण म देख्दिनँ ।’ ट्रम्पको यो भनाइसँगै एरिजोनाका सिनेटर जेफ फ्लेकले ट्विट गरे, ‘यस्तो दिन देख्नुपर्ला भनेर मैले यस्तो कहिले पनि सोचेको थिइनँ । हाम्रा राष्ट्रपतिले रूसका राष्ट्रपतिसँग बैठक बसेका बेला रूसको आक्रमणका बारेमा अमेरिकी संस्थालाई नै दोष दिनेछन् । यो निकै लज्जास्पद हो ।’ सीआइएका प्रमुख जन ब्रेननले ट्रम्पको व्यवहार विश्वासघाती भएको बताए । यसैगरी सिनेटर जन मकेनले पुटिनका साथ अमेरिकी राष्ट्रपतिले शिखर वार्ता गर्नु नै दुःखद भएको आरोप लगाए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको सम्बन्ध बिगार्न अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) जिम्मेवार भएको बताएका थिए । एफबीआईकै कारण दुई देशबीचको सम्बन्धमा अनावश्यक तनाव सिर्जना भएको उनले आरोप पनि लगाएका थिए । अमेरिकाका विशेष अभियोजक रबर्ट मुलरको अनुसन्धान उद्धृत गर्दै ट्रम्पले रूससँग सम्बन्ध कहिल्यै पनि यतिविधि खराब नभएको बताएका थिए । अनुसन्धानको नाममा अमेरिकी मूर्खता र बेवकुफीका कारण सम्बन्ध बिग्रिएको चर्चा गरेका थिए । गत साता मुलरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टन र उनको डेमोक्र्याटिक पार्टीको कम्प्युटर सर्भर ह्याक भएको दाबी गरेका थिए । उक्त ह्याकमा रूसको हात रहेको मुलरको दाबी छ ।
फिनल्यान्डको राजधानी हेलसिन्कीमा सोमवार अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर वार्ता भएको थियो । वार्तामा ट्रम्पले अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय चुनावमा रूसले हस्तक्षेप गरेको प्रमाण पुष्टि हुन नसकेको बताएका थिए । उनको यो भनाइ अमेरिकी गुप्तचर निकायले गरेको भनिएको अनुसन्धान विपरीत भएको अमेरिकीले दाबी गरेका छन् । राष्ट्रपति जस्तो व्यक्तिले आफ्नै निकायको विपरीत भनाइ राखेको भन्दै अमेरिकी अधिकारीहरूले पनि ट्रम्पको विरोध गरेका छन् ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रूसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । उनीहरूको संलग्नता देखिएको पनि अमेरिकी अनुसन्धान संस्था एफबीआईले दाबी गर्दै आएको छ ।
ट्रम्प र भ्लादिमिर पुटिनबीच भेटवार्ताका क्रममा पहिलो पटक यो विषयमा कुरा उठेको हो । अमेरिकाको राष्ट्रपतीय चुनावमा रूसले हस्तक्षेप वा कुनै पनि प्रकृतिको साठगाँठ गर्नुपर्ने कुनै कारण नै नभएको राष्ट्रपति ट्रम्पले बताएका थिए । भेटवार्ताका क्रममा पुटिनले पनि रूसले अमेरिकाको कुनै पनि मामिलामा विगतमा पनि कहिल्यै हस्तक्षेप नगरेको स्पष्ट पारेका थिए । पुटिनले रूसले यसरी अमेरिकामा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको चर्चा गरेका थिए । उनीहरूबीच एक्लाएक्लै करिब दुई घण्टा लामो भेटवार्ता भएको थियो । राष्ट्रपति ट्रम्पले पनि आफूले रूसका राष्ट्रपतिसँग गरेको कुराकानी सकारात्मक रहेको बताएका थियो । उनले उक्त वार्ताले सम्बन्ध सुधारमा एक सकारात्मक भूमिका निर्वाह गरेको बताए । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि ट्रम्पलाई यस विषयमा प्रश्न गरिएको थियो । उनले यस्तो हस्तक्षेपको विषयमा आफूलाई विश्वास नरहेको धारणा राखेका थिए । अमेरिकी गुप्तचर निकायले निर्वाचनमा हिलारी क्लिन्टनलाई पछि पार्न साइबर आक्रमण गरेको र सामाजिक सञ्जालमा उनका विरुद्धका समाचार राख्ने काममा रूसी विज्ञले सघाएको निष्कर्ष निकालेका थिए ।
अमेरिकाले केही महिनाअघिसम्म रूसको विरोध गरेर २ सयभन्दा बढी रूसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । त्यसपछि बेलायत र केही युरोपेली देशले पनि रूसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको नेतृत्व गरेको अमेरिकासँग रूसको पनि आक्रोश रहेको थियो । शिखर सम्मेलनका क्रममा उनीहरूबीच पछिल्लो समयमा रूस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको बारेमा समीक्षा गर्दै आगामी दिनमा सम्बन्ध सुधारका लागि दुवै देशले प्रतिबद्धता व्यक्त गरेका थिए । शिखर वार्ताले दुई देशबीच सम्बन्ध सुधारका काम भएका छन् ।