अमेरिकामा जासुसी गरेको आरोपमा रूसी महिला पक्राउ
वासिङटन : अमेरिकाले जासुसी काम गरेको आरोपमा एक रूसी नागरिकलाई पक्राउ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर वार्तासँगै उनलाई वासिङटनबाट पक्राउ गरिएको हो ।
२९ वर्षीया मारिया बुतीनालाई आइतवार वासिङटनमा गिरफ्तार गरिएको थियो । उनलाई सोमवार पहिलो पटक जिल्ला अदालतमा उपस्थित गराइएको छ । बुतीनाका वकील रबर्ट नील ड्रिस्कलले सरकारलाई सहयोग गर्न सधैं तयार भएको जानकारी दिए । गत अप्रिलमा पनि अमेरिकी अनुसन्धान संस्था एफबीआईले बुतीनाको घरको खानतलास गरेको थियो । उनलाई बुधवारसम्म हिरासतमा राखिने बताइएको छ । बुतीनामाथि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा साइबर आक्रमण गरेको आरोपमा सहभागी हुनसक्ने लगाइएको छ ।
लसस एन्जलस टाइम्सका अनुसार बुतीनले अमेरिकी राजनेता र हतियार सम्बन्धी संगठनसँग सम्बन्ध बढाएको आरोप लगाइएको छ । यद्यपि अमेरिकी अनुसन्धान संस्थाले उनको सम्बन्ध भएका अमेरिकी नेता र हतियार सम्बन्धी संगठनको नाम खुलासा गरेको छैन । बुतीनाले रूस सरकारका प्रतिनिधिसँग वार्ताका लागि काम गरेको एफबीआईका विशेष एजेन्ट केभिन हेलसनले बताएका छन् । यद्यपि बुतीना र रूसी अधिकारीबीच ट्विटरमार्फत भएको सन्देशलाई एफबीआईले पेश गरेको छ ।
बुतीनाले ट्विटमा लेखेकी थिइन्, ‘तपाईंका राजनीतिक नेताले आकाश छँुदै छन् ।’ एफबीआईले यसैलाई आधार मानेको छ । त्यसैबीच उनीहरूबीच रूस–अमेरिका को विषयलाई लिएर कुराकानी भएको थियो । सन् २०१७ मा बुतीना र नाम नखुलेका ती अधिकारी वासिङटनमा नेशनल प्रेयर ब्रेकफस्टमा सहभागी भएको अमेरिकी दाबी छ । उनका वकील ड्रिस्कलले अदालतमा भने, ‘बुतीनाले हालै अमेरिकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन् । मारिया बुतीना रूसी जासुस हैनन् ।’