फ्रेमभित्र/फ्रेमबाहिर
एकफेर प्रेम परियारको सानो भाइको अनुहार झुलुक्क याद आयो। आमाको काखमा बसेर तप्पतप्प झोल चुहाउँदै माछा चपाउँदै थियो। मलेखुको त्यो एक मध्यान्ह, रविराज बरालले मलाई एउटा कथाको फेदीमा पुर्याएर भनेको थियो, ‘मैले फिचर नलेख्न नि सक्छु, तैंले डकुमेन्ट्री नबनाउन नि सक्छस्, तर यात्राका तस्बिरहरूले केही त पक्कै दिन्छन्।’ तर केही दृश्यहरू फ्रेमभित्र पर्नै सकेनन्।
०००
म पुराना गीतहरू सुनिबस्छु। ती गीतहरू सुनिरहँदा म त्यतिखेर हुन सक्ने शालीन दृश्यहरू कल्पना गर्छु। रिस, संकोच या घृणाकै प्रदर्शनी पनि एकदम शालीन हुन्थ्यो होला भन्ने मान्छु।
यादव खरेलका केही गीतहरू रेकर्ड भइसकेपछि यत्तिकै हराएका रहेछन्। हराएका ती पुराना गीत उनले छोरा सम्राटसँग मिलेर खोजी गरिरहेको प्रोजेक्ट बडो भद्र किसिमको लाग्छ। ‘आउँदिन म जाँदै छु, माया फिर्ता लाँदैछु, बैगुनीलाई छोडी सम्झना।’ खरेलका शब्द अनि डीबी महेश पाल्पालीको संगीत र स्वरको यो गीत यति मज्जाले भुनभुन गरिरहन्छ, मभित्र अझै पनि।
बाजेले हेर् नभनेको भए, थाहा छैन, आजसम्म हेरेको हुन्थेँ कि हुन्थिनँ। फ्रेमभित्र गीत, मान्छे, सम्झना र संयोगहरू यसरी परिरहन्छन्। ‘दाजै, तिमी त पातै भयौ, मेरो यति राम्रो नाम बिगार्दियौ’ भन्ला तर ‘सन्देश’ भनेँ भने टाढाको को हो को हो मान्छेको कुरा गरेँ कि जस्तो हुन्छ। लाटा ! फ्रेमभित्र नाम पनि त छ त। ‘स्कोर्सेसी’ले त भनेकैथ्यो त, ‘फिल्म भनेको फ्रेमभित्र र बाहिर के के छन् भन्ने कुरा न हो।’ तेरो हाम्रो जिन्दगी त ‘एपिक’ भइगयो, जतिवटा कथा निकाल्दा नि हुन्छ। के के कता पर्नुपर्ने हो, परिरहन्छ।
०००
बुझ्दै गयो, जिन्दगी त झन् पत्रैपत्र पो देख्छु। एकफेर आफूलाई काम लाग्ने पत्र अर्कै समयमा अरूलाई काम लाग्ने हुँदो रैछ, एकफेर अरूलाई काम लागेका पत्रहरू अचेल आफूलाई काम लागिरहेको देख्छु। न सिकेर सकिँदो रैछ, न जानेरै सकिँदो रैछ। उहिल्यै म रित्तो ‘स्पेस’ र जिन्दगीका बारेमा जानी/नजानी अनेक दर्शन बनाउँदै बस्थेँ। ती वास्तवमा इमानदार दर्शनहरू थिए, खाली तिनका आधारहरू थिएनन्। अचेल तिनैमध्ये केहीको आधार भेटेँ कि जस्तो लाग्छ। तीमध्ये पनि कुनै त कामै नलाग्ने भइसके, कुनै चाहिँ अझै पनि मुस्कान बनेर लखेट्दैछन्।
रित्ता ‘स्पेस’हरू भरिँदै जान्छन्। हामी त्यसै डराइदिन्छौं, सबथोक ह्वाङ्गै हुने भो भनेर।
ध्रुव सापकोटाको एउटा कथामा ‘चपाइएका अनुहार’ र त्यसको पात्र ‘किमरिख’ को उल्लेख थियो। म त्यसकै फेरो समाएर दौलतविक्रम विष्टसम्म पुगेँ। ‘चपाइएका अनुहार’ले मलाई धेरै पछिसम्मै रन्थन्यायो। त्यसपछि मैले ‘घाउका सत्र चक्का’ र ‘छायाँ’ पढेँ। ‘घाउका सत्र चक्का’ मा सायद पहिलो कथा थियो, ‘झरेका खुड्किला।’ त्यसमा बारम्बार आइरहने ‘बिटल्स अनुहार’ उनका पुत्र ओमविक्रम विष्टकै हो भन्ने लागिरह्यो। दौलतविक्रम विष्ट र अरू लेखकहरूको पनि विषयभन्दा भाषा र प्रस्तुतिको मिठासमा म धेरै समय अल्मलिइरहेँ। मलाई यस्तै अल्मलहरू अझै पनि प्रिय छन्।
अर्जुन दाइको पत्रिका दोकानमा ‘शताब्दीको अन्तिम आख्यान’ या यस्तै केही पढेर हामीले ध्रुवचन्द्र गौतमलाई फेरि तौलिएका थियौं। उनीसँगै बरालिएर सूत्र उपन्यास त लेखिएन तर त्यस्तै भाषा खेलाएर केही कथा लेखिसकेपछि च्यातेको बरु सत्य हो। ‘कट्टेल सरको चोटपटक’ पढ्दाखेरि हरिहर–शकुन्तला दम्पतीको अनुहार आउँछ र कुनबेला कुनबेला फिल्मसँग मिसिइजान्छ, तर पढ्नुको मजा रहिरहन्छ। ‘बालुवामाथि’ सातौंपल्ट पढ्न खोज्दा चाहिँ अलि डर लाग्दैछ, मन नपरिदिन पनि सक्छ। अलमल धेरैथोक पढ्न भ्याइनँ। नभ्याउनुको फेरि आफ्नै गणित छ, म त्यसलाई मिलाउँछु भनेर मरिहत्ते गर्दिनँ। आफ्ना भनाइहरू उद्धरणभित्र राखेर त्यसको मुन्तिर नाम झुन्ड्याउने चाहनाले जिन्दगीका केही प्रहरहरू खेर जान खोजेका थिए बरु।
०००
आकाश जत्तिको फराकिलो फ्रेम अरू सायदै होला। आकाशको आडमा हरेक दृश्यहरू अन्ततः फ्रेमभित्रै पर्छन्।
मुम्बईबाट दिल्ली जाने राजधानी एक्सप्रेसको टुप्पाको काउचमा पल्टेर मैले गुलजार साबका बारेमा पढेको थिएँ। छोरी मेघनाले लेखेको ‘बिकज ही इज’का एक एक पाना मैले रेलभित्रको मधुरो बत्ती र छुकछुक छुकछुकको एकोहोरो आवाजकै बीचमा पढिसिध्याएको थिएँ। अल पचिनोको ‘म्याड्नेस’को पराकाष्ठा थियो, एउटा फिल्म ‘वाइल्ड स्यालोमी।’ त्यसका केही दृश्य मलाई खुब मन परेका थिए। रेलको यात्रामा बारम्बार ‘अस्कर वाइल्ड’को ‘स्यालोमी’ पढ्दै गरेका दृश्यहरू अनि ‘पचिनो’को आनन्द लाग्ने मधुरो आवाजले मलाई अर्कै दुनियाँमा पुर्याइदिएका थिए। ‘लिभ उल्म्यान’को ‘चेन्जिङ्’ भन्ने ‘मेमोयर’प्रति म अझै पनि उत्तिकै उत्साहित छु। ‘धीरज अकोल्कर’ले ‘चेन्जिङ्’ अनि ‘लिभ’ र ‘बर्गम्यान’को सम्बन्धको सेरोफेरोमा ‘लिभ एन्ड इङ्मार ः पेनफुल्ली कनेक्टेड्’ नाम राखेर डकुमेन्ट्री बनाए। मलाई यो डकुमेन्ट्री जति पल्ट हेरे पनि धीत मर्दैन। अझै, हेर्नभन्दा पनि ‘लिभ’को शान्त, सरल अनि सुस्तरी बोलिएको काव्यिक आवाज सुनिरहन मन लाग्छ। धीरजलाई पठाएको इमेलमा मैले मेरा आँसुका दागहरू नलुकाइकन ‘लिभलाई मेरो सन्देश पुर्याइदिनु’ भनेँ। उनी पनि भावुक भएछन्। कुनै फ्यानले यस्तो इमेल पठाएको थिएन भनेर लेखिपठाए। मलाई एकफेर युरोपतिर चल्ने रेलको लामो यात्रामा ‘चेन्जिङ्’ पढ्नु छ। अनि कुनै दिन थियटरको अँध्यारोमा कोठामा ‘लिभ’ र ‘पचिनो’को आवाजको ‘सेलेब्रेसन’को साक्षी बस्नु छ।
०००
कहिलेकाहीँ लाग्छ, म अभिनय गरिराख्न सक्दिनँ। किनभने म भ्रमित भइराख्न सक्दिनँ। मलाई झ्वास्स लागिदिन्छ, ‘यी सबै वास्तविकता होइनन्।’ अभिनय गर्नेहरूमा एकखाले ‘बिलिफ’ दीर्घकालीन हुनुपर्छ। ममा त्यो देख्दिनँ। फेरि प्रोफेसर फोस्टरले भनेको केही सम्झिन्छु, ‘हाम्रो जिन्दगीको कथा लेख्ने ‘अथर’ को हो ? कसको माध्यमबाट कुन सन्दर्भमा हाम्रा कथाहरू प्रेषित भइरहेका छन् ? तिनले पनि हाम्रा विश्वासहरू बन्ने/भत्किने भइरहन्छन्।’
डुब्दै गरेको घामपानीको सतहमा विस्तारै तैरिरहेको थियो। बसले एक चक्कर फनक्क घुमाएपछि पानीको सतह देखिएन तर घामले मेरो आँखामा उज्यालो टल्काइदिइरह्यो। डुब्न लागेको घामको चर्को उज्यालोलाई मैले नांगो आँखाले हेरिदिएँ।
मैले घाम हेरेर थाहा पाएको, घामजस्तै उज्याला र न्याना मान्छेहरू आफैंमा अँध्यारा कहिल्यै पनि थिएनन्। तिनलाई अन्यत्रैबाट उडेर आउने बादलका आकार र रंगहरूले चस्स छोइदिएर जान्छन्, अनि देखिँदाखेररि घाम अँध्यारो भएजस्तो देखिन्छ, घाम चिसिएको जस्तो लाग्छ। घामले चर्केर दुःख दियो भन्ने कुरा पनि त्यस्तै हो, घामका पत्रपत्रमा टाँसिएर बसेका बाफ बादलका ठूल्ठूला मुस्लाले सोहोरेर लग्छन्, त्यतिबेला घाम एक्लै नांगै हुन्छ। घामजस्तै उज्याला र न्याना मान्छेहरू आफैंमा अँध्यारा र चिसा कहिल्यै थिएनन्।
०००
‘डनहिल’को उड्दै गरेको धुवाँ पन्छाएर मैले ‘डायन किटन’ र ‘नील साइमन’का ‘मेमोयर’हरूतिर हेरेँ। समुनाजीले ‘बस्टन ग्लोब’को ठूलो क्यालेन्डरतिर फर्किएर आफ्ना केशहरू चलाइरहँदा ‘न्याट किंग’ ‘अन्फर्गेटेबल’ को ‘डुएट’ गाउँदै थियो। ऐनामा ‘कर्ट कोबेन’को ‘पोटे«ट’ र ‘फ्लोर’मा उभिएका शान्त ‘प्रप्स’, उनको श्वासको ‘रिदम्’सँगै ‘टियान डेटन’को ‘द लिभिङ् स्टेज’मा ठोक्किएर मेरा आँखाहरू ‘साइकोड्रामा’का ‘सेसन’हरूसम्म सरर्र पुगेर थपक्क बसिदिए। बाहिर १३ माइल प्रतिघण्टाको दरमा हावा चलिरहँदा ‘वेदर याप’ले ब्राइटनको मौसम दुई डिग्री सेन्टिग्रेड देखाउँदै थियो। मेरो ‘चेन अफ थट’ले मलाई रिंगाइरहेको मैले मेसै पाएनछु।
तर, बडो नाटकीय ढंगले यति धेरै कुरा भइसकेछन्। ‘ह्यालुसिनेसन’ जस्तै लाग्छ बेलाबेलामा, अनि अर्को बिहान ब्यूँझिँदा, थाहा छैन।
०००
मसँग प्रेम परियारको सानो भाइको फोटो अझै पनि छ। उसको आमासँग कुरा गरेको फुटेज पनि छ। खोलाभन्दा अलि मास्तिरको उसको घर पुगेको सम्झना पनि बाँकी छ। हामीले कथा भन्न एउटा इमानदार प्रयास त गरेकै थियौं। तर बन्न नपाएको एउटा डकुमेन्ट्री र लेखिन नपाएको एउटा फिचरको बीचमा कतै रवि र मेरा ज्ञानका सीमाहरू बाँचेकै छन् जस्तो लाग्छ। यात्राले जे दियो, आजको दिनसम्म पनि सम्झिँदा आनन्द लाग्ने गरी दियो।
आकाश जत्तिको फराकिलो फ्रेम अरू सायदै होला। आकाशको आडमा हरेक दृश्यहरू अन्ततः फ्रेमभित्रै पर्छन् भन्ने मान्छु।