भेल पस्दा बारपाकको विद्यालय बन्द
गोरखा : बारपाकको हिमालय माध्यमिक विद्यालयको टहरोभित्र बाढी पसेको छ । कक्षा कोठा बगर बनेपछि २ दिनदेखि पठनपाठन बन्द भएको प्रधानाध्यापक जनी घलेले जानकारी दिए । विद्यालयमा आइतबार साँझ बाढी पसेको उनले बताए । घलेका अनुसार टहरोको जस्ताको काप र ढोकाबाट भेल पसेको थियो । ‘कहाँकहाँबाट ढुंगामुढा पसेर विद्यालय त बगर बनेको छ’, घलेले भने, ‘कक्षाकोठाभित्र हिलो डम्मै छ । आँगनभरि पुरानो भवन भत्काएको ढुंगा, माटो, रड ल्याएर थुपारेको छ ।’
अघिल्लो वर्ष सो टहरोभन्दा माथि भूकम्पले भत्काएको भवन थियो । यो वर्ष पुनर्निर्माणका लागि सम्याएकाले टहरोभित्र बाढी पसेको प्रअ घलेले बताए । विद्यार्थीहरूले भेल पन्छाएर २ दिन बिताएका व्यवस्थापन समिति अध्यक्ष मनुश घलेले बताइन् । ‘भल पसेर कक्षाकोठाभित्र जान नसक्ने गरी हिलो जम्यो’, घलेले भनिन्, ‘सबै विद्यार्थी कोही साबेल, कोही कोदालो, बाटा, बाल्टिन प्रयोग गरी कक्षाकोठाको हिलो फाल्नमा व्यस्त छन् । पढाइ हुन सकेको छैन ।’ बाढी पन्छाउन एक्स्साभेटर ल्याउने तयारी गरे पनि नसकिएको घलेले बताइन् ।
भूकम्पले भवन भत्किएपछि सो विद्यालय विगत ४० महिनादेखि टहरोमा सञ्चालन भइरहेको छ । जापानी सहयोग नियोग (जाइका) ले विद्यालय भवन निर्माणको काममा ढिलाइ गरेपछि विद्यार्थीहरू टहरोमै पढ्न बाध्य भएका बारपाकका पूर्वविद्यार्थी समाज अध्यक्ष निमराज घलेले बताए । ‘पक्की भवन नहुँदा टहरोमा भल पस्यो’, घलेले भने, ‘ठेकेदारले समयमा भवन निर्माणको काम सम्पन्न गर्न सकेन । अहिले विद्यार्थीहरूले यस्तो दुःख पाए ।’
जापान सरकारको ऋण सहयोगमा जाइकाले सात करोडमा ठेक्का लिएको सो विद्यालय भवन निर्माण गर्न गौरा कन्स्ट्रकसनले जिम्मा लिएको थियो । ‘गत असारभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता थियो । यही पाराले काम ग¥यो भने त अझै दुई वर्ष लाग्छ’, प्रअ घलेले भने, ‘तर अहिलेसम्म ४० प्रतिशत पनि बन्न सकेको छैन । कुनैको जग पनि खनिएको छैन, कुनैको डीपीसी मात्र गरिएको छ, कुनैको तल्लो तलामात्र गारो लगाइएको छ ।’ काम नगर्ने ठेकेदारलाई पुनर्निर्माण प्राधिकरणले अझै मंसिरसम्म म्याद थप गरेको उनले बताए ।
सो विद्यालयमा ६ सय ८० जना विद्यार्थी पठनपाठन गर्छन् ।
प्रतिक्रिया दिनुहोस !