एक वर्षमा १० झोलुंगे पुल निर्माण

एक वर्षमा १० झोलुंगे पुल निर्माण

बेनी : म्याग्दीमा एक वर्षमा १० वटा झोलुंगे पुल निर्माण भएका छन् । छरिएर रहेका बस्तीलाई जोड्न स्थानीय तह, साविक जिल्ला प्राविधिक कार्यालय, झोलुंगे पुल केन्द्रीय कार्यक्रम (स्वाप) र मिलन म्याग्दीको संयुक्त सहकार्यमा पुल निर्माण गरिएको हो ।

आर्थिक वर्ष ०७४/०७५ मा मालिकामा चार, धवलागिरिमा तीन, रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिकामा १÷१ वटा पुल निर्माण भएको मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिवा पुनले जानकारी दिइन् । ‘दुई वटा पुल बाढी र पहिरोले क्षतिग्रस्त भएको थियो भने ८ वटा नयाँ स्थानमा बनाइएको हो, पुलको माग उच्च भए पनि बर्सेनि ८÷१० वटा निर्माण हुने गरेका छन्’, उनले भनिन् । डाँडाकाँडामा रहेका बस्ती, कठिन भूगोल र खोलानाला बढी रहेका कारण बस्ती जोड्न म्याग्दीमा झोलुंगे पुलको माग उच्च छ । जिल्लामा २ सयभन्दा बढी पुलको माग रहेको बताइएको छ ।

मालिकाको टाक्से, दाङ, दोबिल्ला र ननथला खोलामा पुल निर्माण भएका छन् । १ करोड २० लाख रुपैयाँमा निर्मित चार वटा पुलबाट १६ सय घरधुरीका १० हजार १ सय २६ जनसंख्या लाभाविन्त भएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । ‘गाउँपालिकाको दुर्गम गाउँमा पुल नहुँदा घुमाउरो बाटोमा घण्टौं लगाएर हिँड्नुपर्ने अवस्था थियो, सबै निकायको सहयोगमा पुल बनेपछि सर्वसाधराणलाई सहज भएको छ’, उनले भने, ‘गाउँपालिकाको अधिकांश बस्तीलाई पुलले जोडेको छ ।’

०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले धवलागिरि–४ जेल्तुङस्थित म्याग्दी खोलामाथि निर्माण भएको झोलुुंगे पुल बगाएपछि स्थानीय समस्यामा परेका थिए । सोही स्थानमा नयाँ पुल बनेसँगै धवलागिरिको छहरी, टरस र धनमानेमा पुल निर्माण भएका हुन् । तीन वटा पुल बनेपछि २ सय घरधुरीका १३ सय २७ जनसंख्यालाई सहज भएको गाउँपालिकाले जनाएको छ । जेल्तुङ, सिम्कोस र बगर गाउँ जिल्लाकै अति विकट बस्ती मानिन्छन् । धवलागिरिको जेल्तुङ र मालिकाको ननथुला बाढीग्रस्त भएका कारण गाउँपालिकाको मात्रै लगानी र अन्य पुल संयुक्त लगानीमा निर्माण भएका हुन् ।

पुलले अक्केर भीर र खोलाबाट वारपार गर्ने स्थानीयलाई तुइन र हिँउदको समयमा साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताइन् । ‘गाउँपालिकाले आवश्यकता महसुस गरेर यहाँ पुल निर्माणका लागि ठूलो रकम लगानी गरेको छ, पुल बनेपछि स्थानीय पनि खुसी भएका छन्’, अध्यक्ष पुनले भनिन् । मिलन म्याग्दीका अनुसार, मंगलाको अर्मनस्थित आरुखोला, अन्नपूर्णको हिस्तान र राम्चेमा ट्रस पुल, रघुगंगाको घ्यासीखर्कस्थित रघुगंगा नदीमा पुल निर्माण भएका छन् । ‘१० पुलका लागि तीन करोड ४३ लाख लाग्यो, यसबाट २५ सय ६ घरधुरीका साढे १४ हजार जनसंख्या लाभान्वित हुनेछन्’, निर्देशक पुनले भनिन् । म्याग्दीमा गत आव ०७३÷७४ मा पनि १० पुल निर्माण भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.