दिल्लीबाट १६ नेपाली चेलीको उद्दार
नयाँ दिल्ली : दिल्लीको मुनिरकाबाट १६ नेपाली महिलाको उद्धार गरिएको छ।रोजगारीका लागि कुबेत तथा इराक लैजाने प्रलोभन देखाएर दिल्ली पुर्याइएका नेपाली चेलीलाई मुनिरकास्थित एक फ्ल्याटमा राखिएको थियो।
मंगलबार राति नेपाली चेलीको उद्धार गरिएको हो। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालको नेतृत्वमा, दिल्ली पुलिसको अपराध अनुसन्धान शाखाका अधिकारी तथा केआई नेपालका प्रतिनिधिसहितको टोलीले उनीहरुको उद्धार गरेको हो।
सिन्धुपाल्चोक, नुवाकोट, मोरंग, जनकपुर तथा कपिलवस्तु जिल्लामा घर भएका यी चेलीलाई दलालले नेपालगंज तथा सुनौली नाकाबाट दिल्ली पुर्याइएको बताएको छ। उनीहरुमध्ये कतिपय आठ महिना अघिदेखि ल्याइका थिए भने कोही दुई दिनअघि पनि दिल्ली पुर्याइएका थिए।
उनीहरुको उमेर २० देखि ४० वर्ष रहेको छ। उनीहरुको टिकटदेखि बस्ने खानेलगायतका सम्पूर्ण खर्च दलालले नै व्यहोरेको जानकारीमा आएको छ। राष्टिय महिला आयोगअन्तर्गतका संरक्षण गृहमा नेपाली महिलालाई राखिएको आयोगकी अध्यक्ष मालिवालले अन्नपूर्णलाई जानकारी दिइन्। उनले भनिन, 'आयोगको संरक्षण गृहमा उनीहरुलाई राखिएको छ, आवश्यक कानुनी प्रक्रिया भइरहेको छ। उनीहरुलाई सुरक्षित फर्काउन नेपाल सरकारको सहयोग आवश्यक छ।'
दुई दिनअघि प्राप्त सूचनाका आधारमा उद्धार गरिएको महिला आयोगकी अध्यक्ष स्वातीले जानकारी दिइन् । दिल्लीबाट दुईजना नेपाली दलाल तथा नेपालमा रहेका अन्य सहायक दलालको समन्वयमा तस्करी भइरहेको देखिएको छ, के.आई नेपालका प्रतिनिधी नवीन जोशीले बताए। कानुनी प्रक्रिया पूरा भएपछि उनीहरुलाई नेपाल लैजान्छौं, जोशीले भने।
एक वर्षअघि(जेठ २०७४) दिल्लीको उत्तमनगर फेज ४ को एक फ्ल्याटबाट नेपाली दूतावासको प्रयासमा यसैगरी २४ नेपाली चेलीहरुको उद्धार गरिएको थियो। वर्षदिनको अन्तरालमा उद्धार भएपनि चेली तस्करीको परिदृश्य भने उस्तै रहेको छ।
प्रतिक्रिया दिनुहोस !