९४ वर्षीय सुबेदार बाजे साइकलमा सरर
सय पुग्नै लागेका टेकबहादुर अहिले पनि साइकल चढेर हिँडछन्। एक थाल मकै कुरुमकुरुम चपाएर खान्छन्। चस्मा नलाइकन पत्रिका पढ्छन्।
गत असार १७ गते सुबेदार टेकबहादुर बुढाथोकी ९४ वर्षमा लागे। चार जना छोरा (एकजनाको निधन) , पाँच जना बुहारी, १५ जना नातिनातिना र १८ जना पनातिपनातिनीहरू उनको जन्मोत्सव रमाइलो गरी मनाउने भन्दै थिए। उनी भन्दै थिए, ‘अरे ! पख अहिले, सय वर्षको जन्मदिन रमैलो गरी मनाउँला !’
सुबेदार बाजे एउटा साहित्यिक यात्राका क्रममा रूपन्देही, देवदहको शीतलनगरमा भेटिएका थिए। कवि ऋषि बराल र यो पंक्तिकार देवदहको युगीनको मुक्तक मेलामा थिए। आयोजकले साँझको बास संस्थाका सल्लाहकार होमनाथ शर्माजीकोमा बसाए। यात्रामा थाकेकाले बेलुकी चाँडै निदाइयो। बिहान होमजीका पिताजीसँग चिनजान र कुराकानी भयो। आफू सानैदेखि पिताजीबाट टुहुरो हुनुले पनि साथीभाइका बाबाहरूसँग नजिकिन मन लाग्छ, मलाई। उतिबेलाका कुराहरू सुन्न मन लाग्छ। ८४ वर्षीय होमजीका पिता दहै्र रहेछन्। मेरो बाबाकै दामालीझैं लाग्यो। ‘म त के हो र बाबु ! टेकबहादुर सुबेदार ९४ वर्षका भए, अहिले पनि साइकल चढेर हिँडछन्। एक थाल मकै कुरुमकुरुम चपाएर खान्छन्। चस्मा नलाइकन पत्रिका पढ्छन्।’ उनले यो जानकारी दिएपछि मलाई ती सुबेदार बाजेलाई कतिखेर भेटेर बोलुँजस्तो भो ! बिहान सिमसिमे पानी परिरहेथ्यो। गौतम बुद्धको मावली जाने बाटो सोधखोज गर्दै पुगियो सुबेदार बाजेको शीतलनगरमा।
गुल्मी, हसरा थातथलो भएका टेकबहादुर बुढाथोकी सन् १९४३ मा इन्डिया आर्मीमा भर्ती भए। २८ वर्ष नोकरी गरेर सुबेदार पदबाट सन् १९७१ रिटायर्ड भए। उनले आफ्नो बारेमा भट्याउन थालेः क्यानाम, म भर्ती हुँदा १६ वर्षको थिएँ, १८ वर्ष भनेर भर्ती गर्दिए। लायकको जवानलाई उमेर बढाएर पनि भर्ती गर्थे क्या उतिबेला। भर्ती भएपछि लाहोरमा पुगेँ। अलि कलिलै उमेर भएकोले लडाइँमा पनि उति जानु परेन। उतिबेला पाकिस्तान भन्ने थिएन के रे ! त्यसबखत रामरमिता गर्ने कुरै थिएन। के को हुनु नि फिल्म हल ? यतैबाट लगेको मादल घन्काउनुमै मज्जा आउँथ्यो। सन् १९४७ मा पाकिस्तान छुट्टियो। अनि हामी दिल्ली आयौं। देहरादुनमा पनि धेरै साल बसियो।
गाउँमा स्कुल थिएन, पढाइलेखाइ पनि थिएन। गाउँको देउरालीमा दलबहादुर भन्ने हजुरबा थिए, उनैले कखरा सिकाउँथे। पढाइको बदलामा एक भारी दाउरा दिनु पथ्र्यो। भर्ती भएपछि उतै एजुकेसन कोर्स गरियो। आर्मीको आईए फस्ट क्लास गरेको, यताको एसएलसी भन्छन् क्यारे।
पहाड गुल्मीबाट तराई झर्ने कुरो आयो। सुबेदार्नीले, ‘भो हुँदैन औलो लाग्छ भन्थिन्।’ तराई झर्नेको लर्को लाग्दै थियो गाउँबाट। २०३७ सालमा यता झरियो। उज्यालो मुहार मलिन बनाउँदै बाजेले भने, ‘सुबेदार्नी बितेको पनि २७ वर्ष भो।’ यता आएपछि २०४० सालमा घोडाको स्कुल स्थापना गरेँ, म यो स्कुलको फाउन्डर टिचर हो क्या, हेडमास्टर। उतिबेला टिनको छानाको टहरो थियो, नातिनातिनाहरू चट्टाई बोकेर पढ्न जान्थे। अहिले देवदह उच्च मावि भयो। मेरो नातिनी अनिता (साहिँला छोराको छोरी) त्यही स्कुलमा पढेर बीए पास गरी। अहिले त्यही स्कुलमा पढाउँछे, स्थायी शिक्षक छे। उसले त डिग्री पनि पास गरी सकी। यो उच्च माविमा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति कोष राखेको छु, हरेक साल आफैं गएर बाँड्छु। दोसल्ला ओढाएर सम्मान पनि गर्छन्।
गाउँमा विष्णुमती प्रावि भन्ने अर्के स्कुल पनि खोलियो। चार लाख ६८ हजार डोनेसन उठाएर पनि पठाएँ। त्यसमा अध्यक्ष पनि बसेँ। गाउँका मान्छे सबै लाखापाखा लागे, त्यो स्कुल प्राविको प्रावि नै छ, अहिले पनि।
‘कान्छा छोरा तिलविक्रम म रिटायर्डको १५ साल बादमा भर्ती भएर ऊ पनि सुबेदारबाट रिटायर्ड भयो। घरमा म सँगै छन्, अहिले। क्यानाम, यो कान्छाले बडो अच्छा काम ग¥यो नि ! इन्डिया आर्मीको तरफ से माउन्ट एभरेस्टको फस्ट क्लाइम्बर हो कान्छा। एभरेस्ट चढ्यो भनेर उताबाट मेडल पनि पाएको छ।’ जिन्दगीका थुप्रै आरोहअवरोह पार गरेका सुबेदार बाजे हाँस्दै भन्छन्– बाबु, अलि चाँडै जन्मिएछ कि क्या हो ? अलि पछि जन्मिएको भए अझ नयाँनयाँ उन्नति प्रगति देख्न पाइँथ्यो कि भन्ने लाग्छ। आफूले गाउँमा पढ्न नपाए पनि दुईटा स्कुल खोलेँ। गाउँको स्कुल जस्ताका तस्तै भए पनि यो देवदहको उच्च मावि भयो। यहाँका बच्चाहरू पढ्न अन्त कतै जानु पर्दैन। सन्तानहरू बढेको, पढेको देख्दा बहुत सन्तोष लाग्छ।
सुबेदार बाजेसँग जिन्दगीका बारेमा यस्तै भलाकुसारी चल्दै थियो। नातिनीले चिया र पत्रिका ल्याइन्। ‘बाजे त पत्रिका पनि चस्मा नलगाई फररै पढ्नु हुन्छ रे ? ’ नभन्दै बाजेले पत्रिका पढेर सुनाए। भुटेका ठेट्ना मकै पनि चपाएर देखाउँथे, बिहानै छ। मकै भुटे भने मेरो हिस्सा चाहिन्छ, मोहीसँग मरकमरक मकै चपाउँदा बहुत अच्छा लाग्छ। यी हेर्नुस् न दाँत। स्वस्थ्य समस्या खासै छैन, ब्लड प्रेसरको दबाइ भने खान्छु।
बाजेले साइकल गुडाएको हेर्ने रहर भो ! चिया पिइसकेपछि सिमसिमे पानीमा पनि बाजेलाई उठायौं। बाजेले घर अगाडिको पिच सडकमा घन्टी बजाउँदै साइकल कुदाए। ‘बाबु पछाडि बस्ने ? ’
उनको सोधाइले द्रवित भएँ म। गाउँमा साइकलै नदेखेको यो मनले बाबाको बुई सम्झिरह्यो। बाजेको हातमा शिर थमाएँ ! उनी भन्दै थिए– अरे क्यानाम, जिन्दगी जिउन पनि तरिका चाहिन्छ क्या ! खुसीमै बाँचिरहेछु। १५ जना नातिनातिना छन्, १८ जना पनातिपनातिना छन्। अहिले पनि ७५ हजार ५७० पेन्सन थाप्छु। खान लाउन समस्या छैन। सय वर्ष त कसो नबाँचिएला।