पञ्चकन्यामा पहिरो, दुई घर बगे
![पञ्चकन्यामा पहिरो, दुई घर बगे](https://annapurnapost.prixacdn.net/media/albums/Muglin--Narayanghat-road-section-blocked-after-landslide--1_20180713010526_h2pUiL3KL0.jpg)
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकामा पहिरोले दुई घर बगाएको छ। वडा नं. २ स्थित कबिलासमा पहिरो जाँदा दुई घर पूर्णरुपमा क्षति पुगेका कारण दुवै परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो।
अविरल वर्षाका कारण भूकम्पपछि पुनर्निर्माणको काम भइरहेको घर पछाडिबाट आएको पहिरोले हर्कबहादुर थापा र उनका भाइ रुद्रबहादुरको घरमा पूर्ण क्षति पुगेको प्रहरीको भनाई छ। पहिरोले मानवीय तथा चौपायाको क्षति नभएको तर पहिरोबाट विस्थापित थापा दाजुभाइ आफन्तको घरमा आश्रय लिएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए।
केही दिनअघि घरनजिकै गएको पहिरो आफूले डोजर लगाएर हटाए पनि पुनः गएको पहिरोले घर बस्नै नमिल्ने बनेको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले बताए। उनका अनुसार, पहिरो हटाउने वैकल्पिक व्यवस्थापनको प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)