बूढीगण्डकी भिलेजमा रिङरोड
गोरखा : बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना वरिपरि रिङरोड बन्ने भएको छ। करिब तीन सय किलोमिटर लामो रिङरोड निर्माणका लागि यस वर्ष १४ करोड रुपैयाँ प्राप्त भएको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइ प्रमुख कृष्ण कार्कीले जानकारी दिए।
‘रिङरोडको डीपीआर बनिसकेको छ। यस वर्षका लागि प्राप्त बजेटको टेन्डर हुन्छ र जति सकिन्छ, काम अघि बढाउछौं’, कार्कीले भने, ‘बूढीगण्डकी आयोजनाको जलाशय ५४ वर्गकिलोमिटर फराकिलो हुनेछ। जलाशय वरिपरि १५ मिटर फराकिलो रिङरोड बनाउने हो।’ रिङरोड बन्न थालेपछि सडक आसपास बूढीगण्डकी भिलेज बन्ने क्रमले तीव्रता पाउने अपेक्षा गरेको उनले बताए।
अहिले डुबान क्षेत्रका जग्गामुआब्जा वितरण कार्य भइरहेको छ। रिङरोड बनेपछि मुआब्जाको रकमले बूढीगण्डकी क्षेत्रभन्दा बाहिर घरजग्गा किन्न जानेहरू रोकिने र रिङरोड आसपास नै घरजग्गा लिने क्रम बढ्ने विश्वास गरिएको छ।
बूढीगण्डकी जलाशयका कारण समुद्री सतहदेखि ५ सय ४० मिटर उचाइसम्मको भूभाग डुबानमा पर्नेछ। त्यसभन्दा पाँचमिटर माथिसम्मको क्षेत्रलाई ‘रिस्क जोन’ मानिने इकाइ प्रमुख कार्कीले बताए। सो क्षेत्रभन्दा माथि मात्रै रिङरोड र बस्ती निर्माण गरिने उनको भनाइ छ। डुबानका कारण तीन हजार ५ सय ६० घरधुरी विस्थापित हुने आयोजनाको डीपीआरमा उल्लेख छ।
विस्थापितहरूलाई पुनस्र्थापित गर्न निर्माण हुने ‘बूढीगण्डकी भिलेज’का लागि ४४ ठाउँमा सम्भाव्यता अध्ययन गरिरहेको आयोजनाले जनाएको छ।
आयोजनाका कारण डुबानमा पर्नेहरूलाई मुआब्जाबापत अहिलेसम्म साढे १५ अर्ब रुपैयाँ वितरण भइसकेको इकाइ कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा मुआब्जा वितरण गर्न २७ अर्ब रुपैयाँ प्राप्त भएको छ। ‘यस वर्ष मुआब्जा वितरणको काम सिध्याउने हाम्रो लक्ष्य हो’, कार्की भन्छन्, ‘अर्को वर्ष घरगोठ, रूख, बिरुवा, फलफूलको मुआब्जा दिनेछौं।’ मुआब्जा वितरण सकेपछि आयोजनाको निर्माण कार्य सुरु हुने उनले बताए।
मुआब्जाका लागि ६० अर्ब रुपैयाँ खर्च हुने अनुमान सरकारको छ। जसमध्ये डुबानमा पर्ने जग्गाको ३३ अर्ब र बाँकी घरगोठ, फलफूल, रूख बिरुवाको मुआब्जामा खर्च हुने अनुमान छ। बाँकी रकम विस्थापितलाई पुनस्र्थापना गर्न खर्च हुने कार्कीले बताए।