लिभरपुलको दमदार तयारी
लन्डन : अघिल्लो सिजन चौथो स्थानमा खुम्चिएको लिभरपुलले अबको सिजनमा लिगको उपाधि चुम्ने हिसाबले तयारी गरिरहेको छ। टोलीका प्रशिक्षक जर्जेन क्लोप अघिल्लो सिजन सकिएसँगै आक्रामक हिसाबले खेलाडी जुटाउन लागिपरेका छन्। टोलीमा राम्रा खेलाडी जुटाउन र टिम बलियो बनाउन क्लोपले दमदार कसरत गरेकाले लिभरपुलले उपाधि होडका लागि कुनै पनि कसर बाँकी नराख्ने दाबी गरिएको छ।
खेलाडी ट्रान्सफरमा समेत लिभरपुलले अहिले दबदबा जमाएको छ। टोलीमा अब एकदुईजना राम्रा खेलाडी समावेश गरेमा लिभरपुल इतिहासकै बलियो टोली बन्ने क्लबका पूर्वमिडफिल्डर चार्ली एडसले बताएका छन्। ‘लिभरपुल हरेक सिजनको दाबेदार टोली हो। आगामी लिग जित्न लिभरपुललाई एक वा दुईजना खेलाडी मात्र कमी छ। त्यसलाई क्लोपले पूर्ति गर्नेमा म विश्वस्त छु’, चार्लीले भनेका छन्।
प्रशिक्षक क्लोप खेलाडी किनबेचमा यसपटक आक्रामक देखिएको पनि चार्लीले बताए। चार्लीले अघिल्लो सिजन गोलरक्षकको कमजोरीले टोलीलाई समस्यामा पारेको पनि बताए। क्लोपले हाल लिभरपुलमा खेलाडी किन्नका लागि २४ करोड अमेरिकी डलर खर्च गरिसकेका छन्। लिभरपुलले एलिसनलाई संसारकै सबभन्दा महँगो गोलरक्षकका रूपमा एस रोमाबाट ६ करोड ६८ लाख पाउन्डमा अनुबन्ध गरेको छ।
मिडफिल्डमा देखिएको कमजोरी सुधारका लागि पनि अहिले लिभरपुलले सन्तुलन गरेको चार्लीले बताएका छन्। गिनीका मिडफिल्डर नेबी कितालाई आरबी लिपजिगबाट पाँच करोड पाउन्डमा अनुबन्ध गरिएको छ। फाबिन्होलाई मोनाकोबाट ल्याउन चार करोड पाउन्ड खर्च गरिएको छ। लिभरपुलले स्विट्जरल्यान्डका स्ट्राइकर सेरदान साकिरीलाई एक करोड ३० लाख पाउन्डमा भित्र्याएको छ।
टोलीका प्रभावशाली स्ट्राइकर मोहमद सलाहलाई आराम दिनु परेको अवस्थामा साकिरिको भूमिका उल्लेख्य हुने ठानिएको छ। प्रशिक्षक क्लोपको चतुरपन र खेलाडीको राम्रो जमघटका कारण यसपटक लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीलाई बलियो टक्कर दिने विश्वास गरिएको छ। अघिल्लो सिजन म्यानचेस्टर सिटी पहिलो, युनाइटेड दोस्रो र टोट्टनहाम तेस्रो बनेको थियो। चौथो बनेको लिभरपुल टोट्टनहामसँग दुई अंकले पछि परेको थियो।
प्रतिक्रिया दिनुहोस !