पुरातात्विक सम्पदामाथि आक्रमण बढ्दै

पुरातात्विक सम्पदामाथि आक्रमण बढ्दै

गोरखा : गोरखाका जेठा पुस्ता अहिले पनि ‘बुद्धिबल रानाको जिउ थियो भारी, दस जना भोटेलाई घुँडाधसी मारी’ बोलको सवाइ कण्ठस्थ गाउन सक्छन् ।

तिब्बतसँगको लडाइँमा बुद्धिबल रानाले पेटमा दुस्मनको खुकुरी लागेर आन्द्राभुँडी निस्कँदा पनि कैयौं दुस्मनलाई मारेको कथा कहानी सवाइमा आउने गर्छ । उनै वीर पुरुष बुद्धिबल रानाको घर गोरखा बजारको दरबारमार्ग टोलमा थियो । ठूलो र आकर्षक डिजाइनको भएकाले उनको निधनपछि सो घरलाई गोरखाका बडाहाकिमले निवासको रूपमा प्रयोग गर्न थाले ।

बडाहाकिम सीडीओमा रूपान्तरित भएपछि त्यहाँ सीडीयो बस्न थाले । चार वर्षअघि सो घर रित्तो बनाएर सीडीयो नयाँ निवास सरे । त्यतिबेला सो घर भत्काइएको थिएन । अहिले पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सो घर भत्काएर सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीको निवासका लागि आधुनिक घर निर्माण गरेको छ । बुद्धिबल रानाको सो घर पुरातात्विक संरचना नहुने प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई बताउँछन् । ‘पक्कै त्यो घर पुरातात्विक सम्पदाको सूचीमा छैन’, प्रजिअ भट्टराईले शंका गरे, ‘भएको भए सहायक सीडीओको निवास जस्तो महत्वपूर्ण भवन निर्माणका लागि विवादास्पद हुने गरी पुरातात्विक संरचना भत्काइन्नथ्यो ? ’ पुरातात्विक संरचनाको संरक्षण गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए ।

गोरखा नगरपालिका–६ को वडा कार्यालयले गोरखा संग्राहालयदेखि गोरखा दरबारसम्म पैदल हिँडेर जाने सिँढी भत्काएर ढलान गरी मोटरेबल बाटो बनाएको छ । गोरखा दरबार परियोजना लागू भएपछि काटेको ढुंगा छापेर स्तरोन्नति गरिएको सो सिँढी भत्काएर यसै वर्ष १० लाख रुपैयाँ खर्च गरी करिब ७० मिटर लामो सडक निर्माण गरिएको हो । पुरानो संरचना भत्काउने÷नभत्काउने विषयमा तल्लो टोल र उपल्लो टोलको विवादसमेत भएको थियो । सोही वडाले पाटेचौरको बाटोमा पनि पुरातत्व विभागले छापेको ढुंगा निकालेर ढलान गरी सडक बनाएको छ ।

‘कमसेकम बिरामी हुँदा घरसम्म एम्बुलेन्स त पुग्नुपर्‍यो नि’, वडाध्यक्ष नारायण अर्यालले भने, ‘त्यसैले स्थानीयको मागको आधारमा हामीले निर्णय गरेका हौं ।’ पुरातात्विक सम्पदा पर्यटकले मन पराउँछन् भन्दैमा आफूहरू विकासको पूर्वाधारबाट वञ्चित हुुन नपरोस् भन्ने स्थानीयको मागलाई सम्बोधन गरेको वडाध्यक्ष अर्यालले बताए । पुरातात्विक सम्पदामाथि आक्रमण भइरहेका बेला पुरातत्व विभागले पनि प्राचीन सम्पदामा आँच आउने काम गरेको छ । चार सय वर्षभन्दा पुरानो ऐतिहासिक गोरखा दरबारको जगमा सिमेन्ट ढलान गरेको छ । माटो, चुनासुर्कीलगायत प्राचीन सम्पदा निर्माणका बेला प्रयोग गरिएका सामग्रीको सट्टा सिमेन्ट प्रयोग गरिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

सम्पूर्ण जिम्मेवारी विभागको भएकाले आफूहरूलाई यसबारे केही थाहा नभएको हेरचाह अड्डाका सूचना अधिकृत रामेश्वर कट्टेल बताउँछन् । ऐतिहासिक जिल्ला गोरखाका ऐतिहासिक तथा पुरातात्विक धरोहरमाथि आक्रमण बढ्न थालेको छ । स्थानीय तह, पुरातत्व विभाग तथा भौतिक योजना मन्त्रालयले पुरातात्विक सम्पदा नष्ट गर्दै आधुनिक शैलीले विकास निर्माणको काम गर्न थालेको छ । भूकम्पले गोरखा दरबार भत्काएपछि त्यहाँको पृथ्वीनारायण शाहको गद्दी, उनलाई सानो छँदा सेकेको अखण्ड अग्निकुण्ड, हात्तीसारको पनि संरक्षण नभएको स्थानीय पुरुषोत्तम अर्याल बताउँछन् । गोरखा दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीको प्रस्ताव सूचीबाट समेत हटाएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.