विद्यालयमा बाख्राको खोर
![विद्यालयमा बाख्राको खोर](https://annapurnapost.prixacdn.net/media/albums/school-photo--1_20180802024338_H4lt6NsEci.jpg)
विराटनगर : मोरङको विराटनगर महानगरपालिका– १९ स्थित पञ्चकन्य आधारभूत विद्यालय अहिले बन्द छ।
साउन १ गतेदेखि बर्खे बिदा दिइएपछि विद्यालय २० गतेसम्मका लागि बन्द रहेको हो। त्यही विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ। वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँधिएका छन्। विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ। विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने ठाउँमा परिणत भएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्। स्थानीयका अनुसार दिनभर बाहिर बाँधेर राख्ने गरिएका बाख्रा राति भएपछि भने त्यही विद्यालयको कक्षाकोठामा थुनेर राखिन्छ।
‘विद्यालय खुलेको र बन्द भएको दिनको कुरै छैन,’ स्थानीय सरस्वती चौधरीले भनिन्, ‘यहाँ सधैंभरि बाख्रा राख्ने गरिएको छ।’ लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा नै गुमेको उनको भनाइ छ। बाहिरबाट हेर्दा पनि बाख्रापालन गरिएको ठाउँ जस्तो देखिन्छ। विद्यालयमा लामो समयदेखि यस्तै खाले लापरवाही हुँदै आइरहेको छ। चौधरीका अनुसार विद्यालयभित्र सरसफाइ हुनुपर्नेमा बाख्राको बास छ। जताततै बाख्राका बड्कुला र बाख्रालाई हालेका घाँसका झिक्रा मात्रै देख्न सकिन्छ।
राम्रो पढाइ नहुने र यस्तै खालका अशैक्षिक वातावरणले गर्दा महानगरपालिका भित्र रहेको विद्यालयबाट अभिभावकले आफ्ना छोरा छोरीलाई निकालेर अन्यत्र पढाउन लैजान थालेको स्थानीयको भनाइ छ। कक्षा पाँच सम्म पढाई हुने २०४६ सालमा स्थापना भएको यो विद्यालयमा अहिले एक सय ३४ जना विद्यार्थी अध्ययनरत छन्। बाल विकास शिक्षिकासहित सात जना शिक्षकहरु कार्यरत छन्। जसमा प्रधानाध्यापक बाहेक छ जना महिला मात्रै छन्।
‘यस अघि दुई सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत थिए,’ एक स्थानीयले भने, ‘अहिले दैनिक अभिभावकहरुले आफ्ना छोराछोरीलाई त्यहाँबाट निकालेर अन्यत्र पढाउन लैजान थालेका छन्।’ विद्यालयको लथालिङ्ग अवस्था देखेर त्यहाँ पुग्ने जोकोही पनि छक्क पर्ने गरेको स्थानीको भनाइ छ। ‘हामीले विद्यालयलाई बाख्राको खोर बनाउन हुँदैन भनेर विद्यालय प्रशासनलाई पटक पटक आग्रह गरिसक्यौं,’ चौधरीले भनिन्, ‘तर हाम्रा कुराको सुनुवाई नै हुँदैन।’ उनका अनुसार विद्यालयमा बाख्रा पाल्न नहुने विषयमा व्यवस्थापन समिति र त्यहाँ कार्यरत शिक्षकले पनि चासो दिएको पाइँदैन।
केही समय अघि सम्म राम्रोसंग संचालनमा रहेको सरकारी विद्यालयमा पछिल्लो समयमा आएर धेरै लापरवाही हुने गरेको स्थानीयको गुनासो छ। त्यहाँ कार्यरत शिक्षक समेत कहिले विद्यालय आउने र कहिले नआउने गर्छन। शिक्षकहरु मनलाग्दा विद्यालय आएर पढाए जस्तो गर्ने र व्यवस्थापन समितिसमेत मौन रहेको स्थानीय अभिभावकको गुनासो छ।
विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र रेग्मी विद्यालयको हेरचाह र संरक्षण गर्नेलाई त्यहाँ भित्र बाख्रा पाल्न दिइएको स्वीकार गर्छन। ‘विद्यालयको रेखदेख गर्नेलाई खाली जग्गामा बाख्रा पाल्न छुट दिइएको हो,’ उनले भने, ‘पढाइ हुने कक्षा कोठामा भने बाख्रा राख्न दिइएको छैन।’ रेग्मीले विद्यालयमा गुणस्तरीय हिसावबाट पढाई हुने गरेको बताउँदै कुनै पनि शिक्षकले लापरवाही नगर्ने गरेको दावी गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)