सिँचाइ मर्मत गर्ने ठेकेदार कारवाहीमा

सिँचाइ मर्मत गर्ने ठेकेदार कारवाहीमा

कुस्मा :धान उत्पादनको मुख्य पकेट क्षेत्र मानिने कुस्मा नगरपालिका–९ स्थित कटुवाचौपारीको फाँट सिँचाइका लागि बनाइएको नहर मर्मतको जिम्मा लिएका ठेकेदार कारबाहीमा परेका छन्।

झण्डै साढे २ करोड रुपैयाँमा मर्मत भएको ज्ञादी सिँचाइ आयोजनाको नहर केही दिनमै भत्किएपछि ठेकेदार कारबाहीमा परेका हुन्। नहरको काम गुणस्तरहीन भएको पाइएपछि निर्माण कम्पनीले मर्मतको ठेक्का लिएका ठेकेदारलाई पुनः मर्मत गर्न लगाउने भएको छ। १३ किलोमिटर लामो नहर मर्मतको केही दिनमै भत्किएपछि निर्माणको जिम्मा लिएको भरतपुर इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले स्थानीय ठेकेदार आनन्द अधिकारीलाई पुनः नहर मर्मत गर्न लगाएको हो।

कम्पनीका इन्जिनियर सचिन श्रेष्ठले ठेकदारलाई थप एक वर्षको समय उपलब्ध गराएर सोही बजेटमा नहर मर्मत गर्न लगाइएको जानकारी दिए। उक्त समयभित्र ठेकेदारले काम गर्न नमाने वा नसके धरौटीबापतको रकम जफत गरेर कम्पनीले नहर मर्मत गर्ने बताए। तोकिएको मापदण्डअनुसार ढलान नहुँदा मर्मत सकिनासाथ ठाउँठाउँमा भत्किएको थियो।

२०३३ सालमा निर्मित नहरको काम गुणस्तर नभई भत्किएपछि कटुवाचौपारीको झण्डै दुई सय रोपनी खेतमा यस वर्ष धान रोपाइँ हुन सकेन। काम गुणस्तरहीन भएपछि छानबिन गरिनुपर्ने भन्दै स्थानीयले निवेदन दिएका थिए। स्थानीयको चर्को दबाबपछि ठेकदार र निर्माण कम्पनीको रोहबरमा धरौटी रकममार्फत नहर मर्मत गर्ने सहमति भएको स्थानीय सुरेश पिसीले जानकारी दिए। समयमै नहर मर्मत हुन नसक्दा रोपाइँ गर्नसमेत समस्या भएको छ। नगरपालिकाको वडा नं. १० पिपलटारीमा पर्ने मल्याङ्दी खोलाबाट ल्याइएको नहर तीन साताअघि वर्षा र पहिरोले बगाएको हो।

नहर भत्किएपछि सिँचाइ गर्न नपाएको भन्दै किसान चिन्तित बनेका छन्।

साविक कटुवाचौपारी गाविसमा रहेको ७ सय हेक्टर उत्पादनयोग्य खेतमध्ये ५ सय हेक्टरमा सोही नहरले सिँचाइ हुँदै आएको थियो। नहर भत्किएपछि रोपाइँ गर्न तथा जेनतेन रोपाइँ गरेको खेतमा पनि सिँचाइ गर्न नपाएको भन्दै स्थानीय कृषक चिन्तित बनेका छन्। केही कृषकले आकासे र मुलको पानीबाट थोरै मात्रामा रोपाइँ गरेको भए पनि अझै २ सय रोपनी हेक्टर खेत बाँझै छ। नहर मर्मतका लागि जिल्ला सिँचाइ डिभिजन कार्यालयमार्फत निर्माणको जिम्मा लिएको कम्पनीमार्फत ठेकेदारलाई पुनः मर्मतका लागि जिम्मा दिने तयारी भएको स्थानीय विष्णु शर्माले जानकारी दिए। पिपलटारीकै १० मुरे भन्ने स्थानमा खसेको पहिरोले २ करोड ५१ लाखरुपैयाँको लगानीमा हालसालै मर्मत गरिएको नहर भत्किएको हो। झण्डै २० मिटर गहिरो गरी नहर भत्काएर लगेको शर्माले जानकारी दिए। सिँचाइ डिभिजन कार्यालय प्रमुख वंशिहरि कोइरालले भत्किएको नहर तत्काल सञ्चालन गर्न पहल गरिएको र तत्कालका लागि अस्थायी रूपमा पाइप लगाएर पानी चलाइएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.