मोटरसाइकल मर्मतमा मस्त कमाइ

मोटरसाइकल मर्मतमा मस्त कमाइ

सिरहाका अर्पण यादव सात वर्षअघि एक लाख रुपैयाँ ऋण गरेर रोजगारीको लागि मलेसिया पुगे। म्यानपावरले भनेअनुसार त्यहाँ उनले न काम पाए, न दाम नै। मासिक ११ सय रियाल पाउने भनिएकोमा ६ सय रियाल मात्र पाए। बासको व्यवस्था कम्पनीले नै गरे पनि आधा जति तलब खानामै खर्च हुन्थ्यो। तीन वर्ष विदेशमा बिताएर घर फर्किँदा पनि उनले ऋण घटाउन सकेनन्। बरु ब्याज बढिरह्यो।

साहुको कचकच र घरपरिवारको गनगन खप्न नसकेर उनी घरमा बस्न सकेनन्। उनका बाबुलाई साहुले ऋणबापत जग्गा पास गरिदिन दबाब दिन थाले। एकदिन झिसमिसेमै यादवले काठमाडौंको यात्रा तय गरे। राजधानीस्थित गौशालामा ओर्लिएर साथीलाई फोन गरे।

साथीले बिहानै उनलाई एउटा मोटरसाइकल वर्कसपमा लगेर कामको बन्दोबस्त मिलाइदिए। सुरुमा उनले मोटरसाइकल धुन सिके। 'मेहनतका साथ काम सिकेँ, बिहान सबेरैदेखि राति अबेरसम्म काम गर्थें। १५ दिन पछिबाटै साहुले तलब दिन थाले।' यादव विगत सम्झिन्छन् 'राम्रो मिस्त्रीको संगत गर्न पाएँ। आठ महिनामा सबैजसो काम गर्ने भइसकेको थिएँ।'

काम सिकेपछि अर्पणलाई आफैं वर्कसप खोल्ने आँट आयो। दुई वर्षपछि ससुरालीको सहयोग र आफूसँगै भएको पैसा भेला पारेर गौशालाको भित्री गल्लीमा काम सुरु गरे। 'धेरै मान्छे चिनिसकेको थिएँ। राम्रो काम गर्छु भन्ने प्रभाव छाडेको थिएँ। ग्राहकको कमी भएन।' अहिले उनी मासिक ५० हजार रुपैयाँ बढी कमाउँछन्। 

दुई जनाले काम पाएका छन् उनको वर्कसपमा। आफ्नै आम्दानीले घरपरिवार चलाएका छन्। ऋण पनि तिरिसके। यादव भन्छन्, 'बुवा आमालाई महिनैपिच्छे औषधि किनेर पठाउँछु। विदेश गएर दुःख पाउनुभन्दा स्वदेशमै बसेर काम गर्नु आनन्द हुँदो रहेछ।'

काभ्रे पनौतीका श्यामप्रसाद सापकोटा २३ वर्षदेखि मोटरसाइकल मर्मतको काममा संलग्न छन्। राजधानीको तीनकुनेस्थित उनको वर्कसपमा पुग्दा रामेछापका भुवन तामाङ मोटरसाइकल मर्मतकै लागि आइपुगे। सुरुका करिब दस वर्ष उनले अर्काको वर्कसपमा काम गरे। त्यसपछि आफैं मर्मत वर्कसप खोले।

लगन दिएर सिक्नेले यो काम ६ महिनामा सिक्ने उनी बताउँछन्। करिब एक लाख रुपैयाँमा राम्रो वर्कसप खोल्न सकिने र राम्रो काम जान्ने र ग्राहकको मन जित्न सक्नेले मासिक ३० हजारभन्दा बढी आम्दानी गर्न सक्ने र ग्राहकबाट टिप्स पनि पाउने उनको भनाइ छ। अहिले घरघरमा कामको लागि बोलाउने गरेको र आफ्ना नियमित ग्राहकको काम घरमै गएर गर्ने गरेको सुनाए।

'हाम्रो पालामा नपढेको मान्छेले पनि यो काम गर्न सक्थे। अहिले प्रविधि फेरिएको छ। हरेक काममा सामान्यतया पढाइ आवश्यक हुन थालेको छ। मोटरसाइकल मर्मतमा पनि विभिन्न लेभलको तालिम प्रमाणपत्र लिएर अरूलाई सिकाउन सकिन्छ,' सापकोटाले भने, 'कामको लागि विदेश जाने फेसनजस्तै भएको छ। स्वदेशमै प्रशस्त सम्भावना छन्। मैले काम सिकाएका नौ जनाले आफैं वर्कसप चलाएका छन्।'

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०४६/४७ मा ३४ हजार पाँच सय ७५ मोटरसाइकल दर्ता भए। अर्को वर्ष २०४७/४८ मा पाँच हजार ६ सय ९६ दर्ता छन्। आव २०७४/७५ मा आइपुग्दा यो संख्या दुई लाख १६ हजार आठ सय ५८ पुगेको छ। हालसम्म दर्ता भएका कुल मोटरसाइकलको संख्या २४ लाख पाँच हजार नौ सय ५७ छ।

दीपक कर्माचार्यले मोटरसाइकल मर्मतको काम थालेको १७ वर्ष भइसक्यो। यही पेसाबाट उनले घरपरिवार चलाएका छन्। आफ्नो वर्कसपमा काम पनि दिएका छन्। राम्रो काम जानेको प्राविधिकले मासिक २५ हजारभन्दा माथि आम्दानी गर्न खासै गाह्रो नहुने उनी बताउँछन्।

खिचापोखरीका विवेक महर्जनले २० वर्षअघि वसन्तपुरको एउटा वर्कसपमा मोटरसाइकल मर्मतको काम सिके। त्यसबेला उनी मासिक तीन सय रुपैयाँ कमाउँथे। अहिले मासिक ३० हजारभन्दा बढी कमाउँछन्। स्वदेशमै बसेर कम लगानीमा आफ्नै वर्कसप खोल्न सकिने र अरूको वर्कसपमा समेत काम गर्न सकिने भएकाले उनी यो काम सिक्न सुझाउँछन्। 'हाम्रोमा अझैं पनि सवारीसाधन मर्मतको काम मधेसी मूलका व्यक्तिले मात्र गर्ने हो भन्ने मानसिकता छ। काम सानो ठूलो हुँदैन। म यही काममा रमाएको छु।' महर्जनले भने।

काभ्रेका सुमन सापकोटाले सुरुमा पुराना मोटरसाइकल खरिद बिक्रीमा हात हाले। त्यसपछि तीनकुनेमा मोटरसाइकल सोरुम खोले। वर्कसप सुरु गरेको १३ वर्ष भएछ। 'मोटरसाइकलको व्यवसाय गर्नेले वर्कसप पनि राख्न अनिवार्य हुन्छ। मर्मतसम्बन्धी सामान्य नियम जान्न आवश्यक हुन्छ। हाम्रोमा काम सिकेका धेरै जनाले आफ्नो काम सुरु गरेका छन्।'

सोलुखुम्बुका राजन कार्कीले सानैमा मोटरसाइकल चलाउन सिके। उनको पुरानो मोटरसाइकल बिग्रिरहन्थ्यो। मर्मतका लागि गाउँमा कोही पनि थिएन। गाउँमा मोटरसाइकलको संख्या बढ्दै गएपछि उनी आफैंलाई मर्मतको काम सिक्न मन लाग्यो। हाल उनी चाबहिलको एक वर्कसपमा काम सिकिरहेका छन्। 'दसैं पछिदेखि गाउँमै मोटरसाइकल मर्मत गर्न थाल्ने योजना छ। यतैबाट आवश्यक सामान लिएर जान्छु। करिब ८० हजारको सामानले पुग्छ भन्ने लागेको छ।' विदेश जाने पर्खाइमा बसेका युवालाई मोटरसाइकल मर्मतको काम सिक्न सुझाउँछन्। 'सडकको पहुँच बढेसँगै हरेक गाउँमा मोटरसाइकल चलाउनेको संख्या बढेको छ। यसले मर्मत गर्ने मान्छे पनि उत्तिकै आवश्यक हुन्छ।'

सीटीईभीटीमा दुईवटा कोर्स

मोटरसाइकल मर्मतसम्बन्धी सीटीईभीटीले दुईखाले कोर्स निर्धारण गरेता पनि आफ्नै शिक्षालयमा भने यो कोर्स पढाइ भएको पाइँदैन। सीटीईभीटीबाट सम्बन्धन लिएर निजी क्षेत्रले यी कोर्स सिकाउने गरेका छन्। 'हामीले तीन सय ९० घन्टाको बेसिक कोर्स र १६ सय ९६ घन्टाको प्रोफेसनल मोटरसाइकल मेकानिक दुईवटा कोर्स निर्धारण गरेका छौं।

कतिपय कम्पनीले हाम्रो सम्बन्धनमा काम पनि गरिरहेका छन्। 'यो ९० घन्टे कोर्स सिकेका विद्यार्थीले अर्काको वर्कसपमा काम पाएका छन्, आफूलाई काममा तिखारिरहेका छन्। लामो कोर्स लिएका विद्यार्थीले आफैं वर्कसप खोल्न सक्ने भएका छन्,' सीटीईभीटीको पाठ्यक्रम विकास महाशाखाका निर्देशक दीपकप्रसाद पौडेलले भने।

अटोमेकानिक श्रमिक मजदुर संघका अध्यक्ष कुमार घताने संघले विगतमा जस्तो मोटरसाइकल मर्मत तालिमको व्यवस्था गर्न नसकेको बताउँछन्। 'केही वर्षअघि महिन्द्रा, बजाजलगायत कम्पनीसँग मिलेर केही श्रमिकलाई तालिम दिलाइएको थियो।

हाल संघले वर्कसप र श्रमिकको तथ्यांक संकलन गर्ने तयारी गरिरहेको छ।' घतानेले भने 'सरकारले अटोमेकानिक्स व्यवसाय गर्न निश्चित स्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता छ।' काम सिक्दै गरेको अवस्थामा राम्रो आम्दानी नभए पनि इमानदार मिस्त्रीलाई कामको खाँचो नहुने उनको भनाइ छ। राजधानीका केही वर्कसप महिला आफैंले चलाएको उनले बताए।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०४६/४७ मा ३४ हजार पाँच सय ७५ मोटरसाइकल दर्ता भए। अर्को वर्ष २०४७/४८ मा पाँच हजार ६ सय ९६ दर्ता छन्। आव २०७४/७५ मा आइपुग्दा यो संख्या दुई लाख १६ हजार आठ सय ५८ पुग्यो। हालसम्म दर्ता भएका कुल मोटरसाइकलको संख्या २४ लाख पाँच हजार नौ सय ५७ रहेको देखिन्छ। यो तथ्यांक हेर्दा पनि मोटरसाइकल मर्मतको काम सिकेका मानिसलाई कामको खाँचो नहुने देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.