टिपर दुर्घटनामा सहचालकको मृत्यु, चालकसहित दुई घाइते
![टिपर दुर्घटनामा सहचालकको मृत्यु, चालकसहित दुई घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Province_3_20180723061901_eRBVt3Fv4T.jpg)
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको ककनीमा सोमबार टिपर दुर्घटनामा एकको ज्यान गएको छ भने चालकसहित दुईजना घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा रहेको पासाङल्हामु मार्गअन्र्तगत त्रिशूली-ककनी-काठमाडौ सडकखण्डमा रहेको ककनी गाउँपालिका-१ स्थित चिसोधारामा बा५ख ४५३७ नम्बरको बालुवा बोकेको टिपर दुर्घटना हुँदा सहचालक अजिरकोट गाउँपालिका-३ का १९ वर्षीय मेखराज गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
टिपर सडकबाट तीनसय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले जानकारी दिए।
दुर्घटनामा चालक नुवाकोटको शिवपुरी गापा- ७ का ३२ वर्षीय शेषमान तामाङ र शिवपुरी गापाकै-६ का २८ वर्षीय रोशन तामाङ गम्भीर घाइते भएको कुंवरले बताए। शेषमानको दाहिने हात भाँचिएको र रोशनको टाउकोमा चोट लागेकोमा दुवैको काठमाडौ धापासिस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)