लुम्बिनीमा भारतीय पर्यटक बढे

लुम्बिनीमा भारतीय पर्यटक बढे

भारतबाहेक ९० मुलुकका पर्यटक अध्ययन, अनुसन्धान तथा भ्रमणका लागि लुम्बिनी आउने गर्छन्। विशेषगरी ६० मुलुकका पर्यटक नियमित रूपमा लुम्बिनी भ्रमणमा आउँछन्।


बुटवल : बुद्धको जन्मस्थल लुम्बिनी आउने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ। लुम्बिनीको विषयमा भारतमा फरक खाले धारणा रहे पनि पछिल्लो पाँच वर्षयता लुम्बिनी आउने भारतीयको संख्या बढ्दै गएको छ।

सन् २०१२ देखि लुम्बिनीमा भारतीय पर्यटकको संख्या वृद्धि हुँदै आएको हो। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०११ मा जम्मा ६३ हजार भारतीय लुम्बिनी घुम्न आएका थिए। उक्त तथ्यांकमा अर्काे वर्षदेखि दोब्बर वृद्धि भएको छ।

सन् २०१२ मा एक लाख २० हजार भारतीय लुम्बिनी आएका थिए। लुम्बिनी आउने भारतीयमध्ये सबैभन्दा बढी उत्तर भारतका छन्। लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार सिक्किम, अरुणाञ्चल, हिमाञ्चल प्रदेशका नागरिक तीर्थाटनका लागि लुम्बिनी आउने गरेका छन्।

लुम्बिनी भारतीय पर्यटकका लागि विदा मनाउने प्रमुख क्षेत्र समेत बन्दै गएको छ। भारतका अन्य क्षेत्रबाट आउने पर्यटक लुम्बिनीसँगै पहाडको अनुभूति गर्न पाल्पाको तानसेन र गोरखाको कुटिनटारमा केबलकार चढ्न पुग्ने गरेका छन्।

सन् २०१८ मा पनि लुम्बिनी आउने पर्यटकको संख्या बढेको छ। गत वर्षको सात महिनामा ८६ हजार भारतीय लुम्बिनी आएका थिए। यो वर्षको सात महिनामा ९९ हजारले लुम्बिनी भ्रमण गरिसकेका छन्।

‘लुम्बिनी क्षेत्रआसपास खोलिएका ठूला होटल र त्यहाँ राखिएको क्यासिनोका कारण पनि भारतीय पर्यटकको वृद्धि भएको छ’, सिद्धार्थ होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले भने। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि पर्यटकको संख्या केही थपिएको उनले बताए।

नेपालको राजनीतिक अस्थिरता, लुम्बिनीको प्रचारले पनि भारतीयलाई लुम्बिनीले तानेको छ। लुम्बिनीका होटल अन्तर्राष्ट्रिय अनलाइनबाटै बुकिङ हुन थालेपछि भारतीयको विश्वास बढ्दै गएको शर्मा बताउँछन्।

‘सुनौलीका होटलमा रात बिताउने पर्यटक अहिले बढेका छन्’, शर्माले भने, ‘अनलाइनबाटै होटल बुकिङ गर्ने क्रम बढेको छ।’ तेस्रो मुलुकभन्दा भारतबाट आउने पर्यटक होटल व्यवसायका लागि बढी लाभदायक भएको होटल व्यवसायीको भनाइ छ। भारतीयहरू खुलेर खर्च गर्ने खालका हुन्छन्।

लुम्बिनीमा आउने तेस्रो मुलुकका पर्यटकको संख्यामा पनि सामान्य वृद्धि भएको छ। पछिल्लो सात महिनामा ७४ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। गत वर्षको जुलाईसम्म ७३ हजार पर्यटक लुम्बिनीमा आएका थिए। भारतबाहेक ९० मुलुकका पर्यटक अध्ययन अनुसन्धान तथा भ्रमणका लागि लुम्बिनी आउने गर्छन्। विशेषगरी ६० मुलुकका पर्यटकहरू नियमित रूपमा लुम्बिनी पुग्ने गरेको कोषका सूचना अधिकृत बस्नेतले जानकारी दिए।

लुम्बिनी आउने पर्यटकको बसाइ अवधि भने त्यति धेरै लम्बिन सकेको छैन। भारतबाट आउने करिब ३० प्रतिशत पर्यटकमात्रै रात बिताउने गरी लुम्बिनी पुग्छन् भने धेरै भारतीय नेपालका अन्य स्थानमा पनि पुग्छन्।

तेस्रो मुलुकबाट आउने पर्यटकको बसाइ भने निकै कम छ। भारतीय पथप्रदर्शकको सहयोगमा आउने पर्यटक ४० मिनेटमै फर्किने गरेका छन्। तिलौराकोट पुग्ने पर्यटकको संख्या पाँच प्रतिशत हाराहारी छ। स्थानीय पथप्रदर्शक नहुनु तथा विदेशीलाई नेपाल प्रवेशको अनुभूति नै नहुनु ठूलो समस्याको रूपमा रहेको पर्यटन व्यवसायीहरू बताउँछन्।

स्थलमार्ग बेलहिया हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गरेकोसमेत अनुभूति नहुने व्यवसायीको भनाइ छ। अध्यागमनमा भारतीय एजेन्टले नै भिसामा छाप लगाइदिने गरेका कारण पर्यटक बसबाट ओर्लिंदा समेत ओर्लिंदैनन्। कतिपय भारतीय पथप्रदर्शकले पर्यटकलाई गलत सन्देश दिने गरेका छन्।

तिलौराकोटका पथप्रदर्शक राजकुमार यादवले पर्यटकीयस्थलको पूर्वाधार नहुँदा पर्यटकलाई धेरै समय टिकाउन नसकिएको बताए। ‘लुम्बिनी घुमेपछि कपिलवस्तुका सातवटा स्थान घुमाउँदा पनि दिन सकिँदैन’, उनले भने, ‘जति धेरै पूर्वाधार बन्यो त्यति पर्यटकलाई भुलाउन सकिन्छ।’

लुम्बिनीमा शुल्क

लुम्बिनी घुम्न जाने नेपालीले पनि शुल्क तिर्नुपर्ने भएको छ। विकास कोषका अनुसार नेपालीले प्रतिव्यक्ति २० र विद्यार्थीले १० रुपैयाँ तिर्नुपर्नेछ। रूपन्देही, नवलपरासी र कपिलवस्तुका नागरिकलाई भने शुल्क लाग्ने छैन। यसअघि भारतीय र तेस्रो मुलुकका पर्यटकका लागि मात्रै शुल्क लिने व्यवस्था थियो।

लुम्बिनी विकास तथा सेवा शुल्कका नाममा टिकटको व्यवस्था गरिएको सूचना अधिकृत बस्नेतले बताए। त्यो टिकट मायादेवी मन्दिर प्रवेशद्वारमा चेक गरिनेछ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा दीप जलाउँदै धर्माबलम्बी। फोटोः लक्ष्मण पोखरेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.