खोलाले छेक्छ राजमार्ग

खोलाले छेक्छ राजमार्ग

तुलसीपुर : दाङको सदरमुकाम पुग्ने एक मात्रै सडकमा पर्ने खोल/खहरेमाथि पुल नबन्दा बर्सेनि धनजनको क्षति हुँदै आएको छ । तुलसीपुर—घोराही–लमही सडकखण्डमा एक दर्जन खोला छन् । वर्षासँगै यी खोलाले यात्रुहरूलाई सास्ती दिने गरेको छ । गएको वर्ष मात्रै खोलाले बगाउँदा तीन जनाको ज्यान गएको थियो । दर्जनौं अंगभंग भएका छन् । बर्सेनि सास्ती दिइरहने खोलामाथि पुल बनाउने योजना भने अलपत्र छ । कतिपय खोलामाथि सुरु भएका पुलसमेत वर्षाैंसम्म बनेका छैनन् । आइतबार मात्रै ग्वारखोलाले यात्रुबहाक बस बगाउँदा १८ जना यात्रु घाइते भए । तत्काल उद्धार भएकाले मानवीय क्षति भएन ।

वर्षासँगै खोला बढ्ने भएकाले यातायातका साधनले घण्टौंसम्म कुरेर बस्नुपर्ने बाध्यता छ । ‘पानी आयो कि बाटो बन्द भयो, एम्बुलेन्ससमेत गुड्ने अर्काे सडक छैन’, तुलसीपुरकी शिवा आचार्यले भनिन्, ‘कति वर्षसम्म हामीले सास्ती पाइरहने ? ’ आइतबार दिउँसो तुलसीपुरबाट घोराहीको कार्यालय हिँडेकी उनी खोला उलिएपछि फर्किन बाध्य भइन् । तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोलासम्म सहजै पुगे पनि ग्वारखोला पारि जान नसकेर तुलसीपुर नै फर्कनुपरेको आचार्यले सुनाइन् । सार्वजनिक बसमा तुलसीपुरबाट घोराही हिँडेकी पूजा नेपालीलाई पनि गन्तव्यमा पुग्न मुस्किल भयो । ५ घण्टा किनारमा बसेर पनि बाढी कम नभएपछि बीच बाटोबाटै घर फर्कनुपरेको उनले बताइन् ।

अलपत्र पुल निर्माण

चार वर्षअघिदेखि दाङका खोलाहरूमा पुल निमार्ण सुरु गरिएको थियो । तर अझै काम अलपत्र छ । जिल्लाका ७ वटा खोलामा पुल निर्माण थालिएको थियो । दाङमा निर्माणाधीन पुलहरूले पनि नागरिकलाई थप सास्ती दिइरहेका छन । १८ महिनामा सम्पन्न हुनुपर्ने काम ४ वर्षसम्म पूरा नहुँदा बर्सेनि नागरिकले सास्ती भोगिरहेका छन् । सम्बन्धित निकायहरूको मौनता र निर्माण कम्पनीहरूको लापरबाही र ढिलासुस्तीका कारण पुल निर्माण अलपत्र परेको सरोकारवालाहरू आरोप लगाउँछन् ।

सरकारी निकायको मौनताका कारण सयौं नागरिकले दिनहुँजसो सास्ती खेप्न बाध्य भएका स्थानीय वि श्राम अधिकारीले गुनासो गरे । बबई नदी, कटुवा खोला, पत्रेखोला, गुर्जे खोला, सग्राम खोलालगायतमा पुल निर्माणको काम थालिए पनि ती सबै अलपत्र अवस्थामा छन् । ग्वारखोलामा निर्माण सुरु गरिएको पुल निर्माणको योजनाले मात्रै अहिले गति लिएको छ । सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माणमा ढिलाइ भइरहेका बताएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.