रसुवागढीमा दैनिक ५० लाख राजस्व प्रभावित
![रसुवागढीमा दैनिक ५० लाख राजस्व प्रभावित](https://annapurnapost.prixacdn.net/media/albums/rasuwagadi-kerung-naka_20180617014411_7b3hdV8BM6.jpg)
त्रिशूली : पहिरोका कारण पुल भत्केपछि नेपाल र चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाबाट आवतजावत बन्द भएको छ । सदरमुकाम धुन्चेदेखि ३५ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा रहेको रसुवागढी नाकासँगै रहेको घट्टेखोलाको पुल पहिरोले भत्काएपछि आवतजावत बन्द भएको हो ।
त्रिदेशीय मार्गको रुपमा रहेको रक्सौल–वीरगन्ज–गल्छी–त्रिशूली–स्याफ्रुबेसी–रसुवागढी–केरुङ सडक खण्डमा रहेको घट्टेखोलाको पुलको संरचना भत्किँदा यातायातका साधन बन्द भएपछि रसुवागढी भन्सार कार्यालयको दैनिक राजस्वसमेत प्रभावित भएको छ । गोसाइकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेनजिकै रहेको घट्टेखोलाको पुल पहिरोले भत्काएपछि एक सातादेखि यातायातका साधन ठप्प भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए ।
उनकाअनुसार दैनिक एक करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको रसुवागढी भन्सारले पहिरोले यातायात बन्द भएपछि राजस्व संकलन प्रभावित भएको छ । भन्सारमा हाल रसुवागढी नाकादेखि भारी बोकाएर ल्याइएका स्याउको मात्र जाँचपास भइरहेका कारण राजस्व संकलन घटेको कोइरालाले बताए ।
चालु आर्थिक वर्षको साउनमा ५० करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा यातायात ठप्प हुँदा तीन साताको अवधिमा २३ करोड रुपैयाँ मात्र संकलन भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । भदौको पहिलो सातामात्र पहिरो पन्छाएर यातायात सञ्चालन हुने सडक कार्यालयले जानकारी दिएको भन्सार प्रमुख कोइरालाले बताए ।
चीनबाट आउने तयारी सामान अलपत्र अवस्थामा पारीपट्टि नै राखिएको छ भने कुहिने सामग्री बोकाएर नेपाल भिœयाइएको व्यापारीहरू बताउँछन् ।
रसुवागढीबाट चीनको केरुङसम्म पुग्न २४ किलोमिटर दुरी भए पनि सवारी साधन सञ्चालन हुन नसक्दा स्याउ, लसुनलगायत सामान कुहिन थालेपछि व्यापारीहरू चिन्तित बनेका छन् । उनीहरूले कुहिने सामान भरिया लगाएर नाका पार गरी टिमुरेमा राख्न थालेका छन् ।
रसुवागढी नाकाबाट गत आवमा लक्ष्यभन्दा एक अर्ब रुपैयाँ बढी राजस्व संकलन थियो । गत वर्ष रसुवा भन्सार कार्यालयले लक्ष्यभन्दा एक सय २७ प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको साउनमा ५० करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा यातायात ठप्प हुँदा तीन साताको अवधिमा २३ करोड रुपैयाँ मात्र संकलन भएको छ ।
सामान आयातमा वृद्धि भएसँगै रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व संकलनमा पनि व्यापक वृद्धि भएको भन्सार प्रमुख गोपाल कोइरालाले बताए । रसुवागढी भन्सारले गत आव २०७४÷०७५ मा तीन अर्ब ६३ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा एक सय २७ प्रतिशत बढी अर्थात् चार अर्ब ५९ करोड २३ लाख ७८ हजार नौ सय ८० रुपैयाँ राजस्व संकलन गरेको बताए ।
अघिल्लो आव २०७३÷०७४ मा रसुवा भन्सार कार्यालयले दुई अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आव २०७४÷०७५ मा रसुवा भन्सार कार्यालयले अघिल्लो आवभन्दा दुई अर्ब १७ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालय टिमुरेले गत आवमा वार्षिक लक्ष्यभन्दा एक सय २६ दशमलव ४९ प्रतिशत बढी राजस्व संकलन गरेको उनले बताए । गत आवमा रसुवा भन्सार कार्यालयले तीन अर्ब ६३ करोड चार लाख ८९ हजार रुपैयाँ राजस्व असुली गर्ने वार्षिक लक्ष्य राखेको थियो ।
भन्सारजन्य वस्तुको आयातमा वृद्धि भएसँगै राजस्व संकलन बढेको हो । चीनबाट सामान आयातमा बढोत्तरी भएसँगै रसुवा भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य सजिलै पार गर्ने गरेको हो ।
काठमाडौदेखि एक सय ५२ किलोमिटर उत्तरमा भोटेकोसी नदी किनारमा रहेको रसुवागढी नाकाबाट बर्सेनि सामान आयातमा वृद्धि हुँदै गएको छ ।
रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । रसुवागढी नाकामा भन्सार कार्यालयको स्थापना २०१३ सालमा भएको हो ।
नेपालको उत्तरी चीन जोड्ने रसुवागढी नाका पुरानो भए पनि २०७१ साल मंसिर १५ गतेदेखि गतेदेखि सञ्चालनमा आएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पले केही महिना रसुवागढी नाका बन्द भएको थियो । तातोपानी नाका बन्द भएपछि चीनबाट हुने आयात रसुवागढी नाकाबाट हुँदै हुने गरेको छ ।
रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । भन्सारले दैनिक एक करोडभन्दा बढी रुपैयाँ राजस्व संकलन गरे पनि पर्याप्त मात्रामा भौतिक पूर्वाधार नहुँदा धेरै समस्या छ ।
रसुवागढी भन्सारमा पर्याप्त कन्टेनर पार्किङ गर्ने यार्डसमेत छैन । साना यार्डको क्षमता पनि निकै कमी रहेको रसुवागढी भन्सार कार्यालयले बताएको छ ।
एकैचोटी धेरै कन्टेनर आउँदा सडकमा नै उभिएर खुला ठाउँमा काम गर्न सकिने स्थिति छैन । रसुवागढी नाकामा अझै पनि भौतिक पूर्वाधारको विकास नभएको व्यापारीहरू बताउँछन् ।
रसुवागढी नाकाबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत्, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ बाँसका मुढा, हस्तकलाका सामान, काठका टेबल, अम्रिसोका कुचोलगायत सामग्री निर्यात हुने गरेको छ ।
नाका सञ्चालन भएका बेला रसुवा भन्सार कार्यालयले दैनिक ५०÷६० थान मालबाहक गाडीको भन्सार जाँचपास गराउँदै आएको छ । रसुवागढीबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ । नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायत सामग्री निर्यात हुने गरेको छ ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाकाअनुसार भन्सारमा एउटा मालबाहक कन्टेनरले भन्सार राजस्व सरदर ३२ हजार रुपैयाँ रसुवागढी भन्सारलाई तिर्छन् । तातोपानी नाका पहिरो र भूकम्पले बन्द भएसँगै रसुवागढी नाकाबाट काठमाडौलगायत नुवाकोट, रसुवा, पोखरालगायत देशका अधिकांश बजारमा चिनियाँ तयारी सामान तथा पोसाक भित्रिने गरेको छ ।
नेपालबाट चीनतर्फ धातुका मूर्ति, मेहन्दी, दन्त मञ्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, ऊनी गलैंचा कार्पेट, चुइङगम, हेयर आयल, हेयर क्रिमलगायत सामग्री निकासी भइरहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । गर्मीयाममा रसुवागढी नाकाबाट चिनियाँ हल्का तयारी पोसाक आयात बढेको भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)