डरलाग्दो आत्महत्या, दुई दिनमा चारजनाले आफ्नै ज्यान लिए
भैरहवा: गत बुधवार रुपन्देहीको कन्चन गाउँपालिका–१ लौसाकी २८ बर्षीया बिष्णुमाया कुमालले आफु सुत्ने कोठामा पासो लगाएर आत्महत्या गरिन् । त्यही दिन तिलोत्तमा नगरपालिका–१३ की २७ वर्षीया गंगा कुमालले पनि काठको बेलमा पासो लगाएर आत्महत्या गरिन् ।
त्यस्तै बिहीवार पनि जिल्लामा दुईजनाले आत्महत्या गरे । बिहीवार सिद्धार्थनगर नगरपालिका–१३ का ४५ वर्षीय रमेश शर्माले हाटबजारको तरकारी बेच्ने एक छाप्रोमा कपडाको पासो लगाएर आत्महत्या गरे । त्यही दिन सियारी गाउँपालिका–३ का ३० वर्षीय नरेश कुमालले पनि घरको धुरीमा पासो लगाएर आत्महत्या गरे ।
बुधवार सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय प्रेमजीत यादवले र शुक्रवार कन्चन गाउँपालिका–४ २० वर्षीया सर्मिला परियारले विष पिएर आत्महत्याको प्रयास गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष खाएर आत्महत्याको प्रयास गरेका उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
रुपन्देहीमा पछिल्लो समय दैनिकजसो आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा झुण्डिएर र बिष पिएर २ सय २५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जसमध्ये एक सय ३९ जनाले झुण्डिएर ८६ जनाले विष पिएर आत्महत्या गरेका छन् । दुई सय २५ जनामध्ये एकसय १३ जना पुरुष र एक सय ९ जना महिला रहेका छन् ।
तथ्यांकलाई केलाउँदा बराबरी सङख्यामा जसो महिला पुरुषले आत्महत्या गरेको देखिन्छ । भुन्डिएर आत्महत्या गर्ने महिलाको संख्या ६९ रहेको छ भने बिषसेवन पिएर आत्महत्या गर्नेमा ४० जना रहेका छन् । त्यस्तै झुण्डिएर आत्महत्या गर्ने पुरुषको संख्या ६७ छ भने विष पिएर आत्महत्या गर्नेको संख्या ४६ रहेको छ ।
आत्महत्या गर्नेमा ३ बाबालिका र एक विदेशी नागरिकसमेत रहेको प्रहरीले जनाएको छ । जसमा २ जना बालकले झुण्डिएर र एक जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।
रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमोद ढुङगेलले व्यक्तिमा कमजोर मानसिकता तर उच्च महत्वकांक्षा बढेकाले समाजमा महत्वकांक्षा पुरा गर्न नसकेर पनि कतिपय आत्महत्याको अवस्था सम्म पुगेको बताउँछन् ।
उनले आत्महत्या गर्नेमा अधिकांश तनावमा परेका व्यक्ति रहेको बताए । तनाव व्यवस्थापन गर्न नसक्दा पनि धेरैले आत्महत्याको बाटो रोज्ने गरेको उनको बुझाई छ ।
वरिष्ठ मनोरोग बिशेषज्ञ डा. मनोज ढुंगानाले आत्महत्याले विश्वमै विकराल रुप लिइरहेको बताउँदै यसको प्रमुख कारण डिप्रेसन रहेको बताए ।
उनले डिप्रेसन विभिन्न कारणले गर्दा हुने गरेको बताए । कतिपयले अधिकरुपमा मादक पदार्थ पिएर र मादक पदार्थ एकै पटक छाड्दा पनि कतिपयले आत्महत्या गर्ने गरेको उनले बताए ।
उनले युवावर्गमा समायोजन समस्या कारकको रुपमा आउदा पनि डिप्रेसनमा जाने र अन्तमा कतिपयले आत्महत्यालाई अंगाल्ने गरेको बताए ।
उनले डिप्रेसनमा परेका आमव्यक्तिले आफूलाई मनमा लागेका कुरा आफ्नो नजिकका साथी भाइसँग गर्ने, अधिक समस्याकै रुपमा देखा परे चिकित्कसँग परामर्श गर्ने गरियो भने न्युनिकरण हुदै जाने बताउँछन् ।
डा. ढुंगानाले दिमागलाई हलुका र खुला राखियो भने धेरै रोगले समेत नसताउने उल्लेख गरे । उनका अनुसार कतिपयले अवहेलना सहन नसकेर, कडा खालको मानसिक रोग लगायतका कारणले आत्महत्या गर्ने गरेको तथ्यांकहरु सार्वजनिक हुने गरेका छन् ।