फुटबल मैदानमा रेफ्रीलाई कपले हिर्काएपछि

फुटबल मैदानमा रेफ्रीलाई कपले हिर्काएपछि

भियना : युरोपा लिग फुटबलको तेस्रो चरणको छनोट खेलका क्रममा एक हुल्याहा दर्शकले सहायक रेफ्रीलाई कपले हिर्काएपछि करिब आधा घन्टा खेल अवरुद्ध हुन पुगेको छ। बिहीबार राति अस्ट्रियाको ग्राजमा भएको स्ट्रुम ग्राज र एईके लरेन्सबीचको खेलका क्रममा यस्तो घटना भएको हो। खेलका क्रममा एक समर्थकले मैदानमा फालेको कपले सहायक रेफ्री फ्रेड्रिक क्लिभरको टाउको चोट लगेको थियो।

युरोपा लिग युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता हो। खेलको ७८औं मिनेटमा ती समर्थकले फालेको कपले लागेपछि सहायक रेफ्री क्लिभरको टाउकोबाट रगत बगेको थियो। घरेलु क्लब ग्राजविरुद्घ साइप्रसको क्लब एईके लरेन्सले दोस्रो गोल गरेको केही समयपछि नै ती समर्थकले सहायक रेफ्री क्लिभरलाई कपले प्रहार गरेका थिए।

निकै जोडले फालिएको उक्त कपले लागेपछि सहायक रेफ्री क्लिभर मैदानमा ढलेका थिए। त्यसपछि उनलाई मैदानबाहिर ल्याएर उपचार गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा एकजना समर्थकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ। रंगशालामा राखिएको सीसीटीभीमा कैद भएको दृश्यका आधारमा ती समर्थकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीसीटीभीको दृश्यमा घरेलु टोलीका एक समर्थक आफ्नो सिटबाट उठेर जोडले मैदानमा कुनै वस्तु फालेको देखिन्छ। ‘यो निकै दुःखद् घटना हो, यसले क्लबको प्रतिष्ठामाथि पनि आघात पुर्‍याउने काम गरेको छ। यसका लागि हामी सबैसँग माफी माग्न चाहन्छौं’, घरेलु क्लब ग्राजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सो घटनापछि स्विडिस रेफ्री मोहम्मद अल हकिमले खेल रोकेर दुवै टोलीका खेलाडीलाई मैदानबाट बाहिर निकालेका थिए। त्यसपछि करिब आधा घन्टा खेल अवरुद्ध हुन पुग्यो। त्यसपछि पुनः सुरु भएको उक्त खेलमा एईके लरेन्स २—० गोलले विजयी भएको थियो। उक्त खेलको दोस्रो लेग भने आगामी बिहीबार साइप्रसको मैदानमा खेलिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.