सामुदायिक वनमा पर्यटकीय पार्क

सामुदायिक वनमा पर्यटकीय पार्क

बर्दिबास : चुरे क्षेत्रको सौन्दर्यताको उपयोग गरेर गाउँमै रोगजारी सिर्जना गर्न महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित कालापानीका स्थानीयले सामुदायिक वन क्षेत्रलाई संरक्षण गर्दै पिकनिक स्पट तथा पर्यटकीय पार्क निर्माण गरेका छन्। स्थानीय युवाले बर्दिबास नगरपालिकाको ७० लाख रुपैयाँको आर्थिक सहयोगमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पार्क निर्माण गरेका हुन्।

तीन वर्षको लगातार परि श्रमबाट कालीदामार बाहुनिझोरा सामुदायिक वन क्षेत्रको पाँच नम्बर प्लटको करिब १० बिघा क्षेत्रफलमा आधुनिक सडकसहितको बगैंचा, पाँचवटा प्रतिक्षालय, ६ पिकनिक स्पट, पिङ, शौचालय, खानेपानीसहितका सुविधा गाउँलेले जुटाएका छन्।

चन्दा संकलन गरेर स्थानीयको सक्रियतामा २५ लाख रुपैयाँको लागतमा लक्ष्मीनारायण मन्दिर, पुजारी बस्ने कुटी, प्रहरी बिटका लागि भौतिक संरचना निर्माण गरिएको छ। सुरक्षाका लागि नगरपालिकाले चालू आर्थिक वर्षको बजेटबाट खोल्सामा बाँध बाँधेर ताल निर्माण गर्ने योजना छ। तालमा बोटिङ राखिनेछ। तालमा माछापालन गर्ने योजना बनाइएको छ। थप उद्यान तथा पार्क निर्माणका लागि दातासँग स्थानीयले सहयोग जुटाइरहेका छन्।

पिकनिक स्पट तथा पार्कमा घुम्न आउनेका लागि ‘फ्री वाइफाइ जोन’ बनाउने काम भइरहेको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष राजन ढुंगानाले जनाए।

कालापानीलाई धार्मिक तथा पर्यटकीयस्थलको गन्तव्य रूपमा विकास गर्न सक्ने सम्भावनालाई लिएर दुई वर्षअघि बर्दिबास नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामकुमार कार्की तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी शालिग्राम शर्मा पौडेलले छलफल चलाएर अभियानको थालनी गरेका थिए।

कालापानी पिकनिक स्पट तथा पार्क बर्दिबास चोकबाट १२ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्छ। वीपी राजमार्गको पश्चिम र रातु खोलानजिकै कालापानी गाउँमा निर्माण गरिएको पार्कमा करोडभन्दा बढी लगानी गरिएको छ। तराईको पूर्वी नेपालबाट काठमाडौं जाने र काठमाडौंबाट फर्किनेहरूका लागि थकाई पार्ने गन्तव्य पनि यो पार्क बन्नेछ।

नजिकै रातु खोलाको वनमा स्थानीयले संरक्षण गरेका सय वर्ष पुराना सालका रुखहरू छन्। पार्कसँगै कलकल बग्ने राखु नदीको दुवैतिर रहेको वनले पार्कको सौन्दर्यता बढाएको छ। चारैतिर हरियो वनको दृष्यले पार्क साँच्चिकै मनमोहक बनेको छ। ‘पार्कमा पुग्ने पर्यटक लोभ लाग्दा दृष्य देखेर मोहित हुन्छन्। युवा पुस्ता सेल्फी खिच्छन्’, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष अमर आलेले बताए।

सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबासको सहयोगमा स्थानीयले पार्कमा धुपीसल्ला, कपुर, सुपारी, चैनापाम जातका दुई सय बोट रोपिएको छ। पिकनिक खान, रमाइलो गर्न, घुम्न महोत्तरीमा यसअघि कुनै आकर्षक पार्क तथा पिकनिक स्पट थिएन। स्थानीय हेटौंडा, सिन्धुलीको कमलमाई मन्दिर, सिरहाको बाबाताल पिकनिक खान, घुमघाम गर्न जान्थे। त्यसको विकल्पमा कालापानीमा पिकनिक स्पट तथा पार्क निर्माण गरिएको स्थानीय गणेश बस्नेतले जनाए। नगरपालिकाको समन्वयमा छिट्टै पार्क र पिकनिक स्पटको ठेक्का लगाएर सञ्चालन गर्ने उनले बताए। पर्यटकको सल्लाहअनुरूप पार्कलाई थप व्यवस्थित बनाइनेछ।

स्थानीय युवाले बर्दिबास नगरपालिकाको ७० लाख रुपैयाँको आर्थिक सहयोगमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पार्क निर्माण गरेका छन्।

पार्कसँगै वन क्षेत्रका खोलाखोल्सीलाई जीर्णोद्धार गरिएको छ। पानी खान मयुर, मृग, कालिज, तित्रा, बट्टाई, बँदेल, निलगाई, घोरगदहालगायत चराचुरुंगी तथा वन्य जन्तु तिर्खा मेटाउन सामुदायिक वनको खोल्सीमा देखिने गरेको कालीदामार बाहुनीझोरा सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर सिंह रायमाझीले सुनाए।

‘जलाधार क्षेत्र संरक्षणले पानीको अभावमा भौतारिएका जीवजन्तुलाई सहज भएको छ’, उनले भने, ‘पिकनिक स्पट तथा पार्कले गाउँमा होटल, खाजा पसल खुल्ने क्रम बढ्यो।’ पर्यटकीयस्थलले गाउँमा रोजगारीको अवसर सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे।

‘हामी पार्कसँगै चिडियाखाना पनि सञ्चालन गर्ने सोचमा छौं’, वडाध्यक्ष ढुंगानाले भने, ‘लोपोन्मुख चराचुरुंगी, जीवजन्तु खोर बनाएर पाल्छौं।’ विद्यार्थीका लागि अध्ययनस्थल हुने गरी कालापानीमै पिकनिक स्पट तथा पार्क निर्माण गर्न चाहेको उनले बताए। बर्दिबास नगरपालिकाले प्रदेश २ स्तरीय शैक्षिक हल बनाउने काम भइरहेको जनाएको छ।

पार्कको अवलोकन गर्न पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सम्झनास्वरूप धुपीसल्लाको बोट बगैंचामा रोप्दै भने, ‘प्राकृतिक सौन्दर्यता बिक्री गरेर देश समृद्ध बन्छ।’ हिमाल, पहाड र तराईमा रहेका रमणीय स्थानले विश्वका पर्यटक मोहित पार्ने उल्लेख गर्दै भने, ‘पानी, बिजुली, जडीबुटी र हिमाल, पहाडको सौन्दर्य बिक्री गरेर समृद्ध नेपाल र खुसी नेपाली बन्ने सपना पूरा गर्छौं।’

बर्दिबास नगरपालिकाको आधाभन्दा बढी भाग चुरेमा पर्छ। जहाँ ट्र्याकिङ गर्न सकिने, भूमिगत जलस्रोतको जीर्णोद्धार गरेर सयौं पोखरी, तालतलैया निर्माण गरी माछापालन गर्न सक्ने प्रचुर सम्भावना रहेको चुरे संरक्षण अभियन्ता नागदेव यादवले उल्लेख गरे।

चुरेमा सिमसार क्षेत्र निर्माण गरेर माछापालन गरेर आम्दानी लिन सकिन्छ। खानेपानी मुहानको रिचार्जसँगै तराईका खेतीयोग्य जमिनमा सिँचाइ गरेर तराईलाई अन्नको भण्डारका रूपमा फेरि पनि परिचित गराउन सक्ने यादवले बताए।

चुरेको रमणीय दृश्यावलोकन गर्न आउने पर्यटकबाट लिएको शुल्क आम्दानीको मुख्य आयस्रोत हुनेछ।

सिमसार क्षेत्रलाई दहको रूपमा उकास गरी जल भण्डारण संरक्षणले उजाड चुरेमा हरियाली फैलिन्छ। चुरे संरक्षणले तराईमा खानेपानीको समस्या हट्ने बर्दिबासका नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए। ‘चुरेमा तालतलैया निर्माण र चुरे संरक्षणले मात्र तराईमा देखा परेको समस्या समाधान हुन्छ’, उनले भने, ‘चुरे क्षेत्रका स्थानीयको जीवनस्तर बलियो बनाउन सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.