थैली विज्ञबाट देशलाई बचाऊ
धेरै वर्षअघि सिंगापुरको एउटा होटलबाट ट्याक्सी चढेर म मुस्तफा सपिङ मल गएँ। करिब १५ मिनेट लाग्ने बाटोको भाडा ३.५० सिंगापुर डलर तिर्नपर्ने रहेछ। तर मलाई ट्याक्सी चालकले लामो बाटो घुमाएर पाँच सिंगापुर डलर लियो। अर्कोपटक म सिंगापुर जाँदा मैले त्यसैगरी ट्याक्सी लिएँ र ‘मुस्तफा’ अघि ओर्लेर पाँच सिंगापुर डलरको नोट थमाएँ। हिँड्नै लाग्दा उसले मलाई पर्खिन भन्यो र पैसा फिर्ता दियो।
मिटरमा ३.५० मात्र चढेको देखेर म पनि चकित भएँ र उसलाई सोधें, ‘अस्ति त मलाई पाँच डलर लिएको थियो आज कसरी ३.५० मात्र भयो ?’ चालकले अत्यन्त निन्याउरो मुख लगाउँदै मसँग माफी माग्यो र भन्यो, ‘पहिलेको चालकले मसँग १.५० डलर बढी लिएको अरू कसैलाई नभनिदिनुहुन विनम्र अनुरोध छ।’ उसले त अघिल्लो चालकले लिएको बढी पैसा पनि फर्काउन खोज्दै थियो। मैले सो रकम लिन मानिनँ। ‘मेरो देशको इज्जतसँग पैसाको के तुलना ? उसले गरेको गल्तीले हामी समस्त देशवासीको बेइज्जत नहोस्’ भनेर ऊ पुनः क्षमा माग्दै अलप भयो। एउटा साधारण ट्याक्सीचालकको हृदयमा बसेकै त्यो देश आज पनि समृद्ध छ।
सिंगापुरले भर्खरै मात्र डोनाल्ड ट्रम्प र किम जोङ उनबीच शिखर वार्ता गराएर विश्वको ध्यान आफूतिर तानेको छ। गत वर्षको अन्त्यसम्म एकअर्काका कट्टर दुस्मनका रूपमा परिचित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच असम्भवजस्तो लाग्ने वार्ता सिंगापुरमा भएको थियो। संसारभर सामरिक प्रभुत्व जमाएको अमेरिका र संसारको अठारौं सैन्य शक्ति भएको उत्तर कोरियाले संवादको सुरुवात गर्न टेबलमा बस्ने स्थानका रूपमा यही देशलाई चुनेका थिए। कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरणको सुरुवात गर्न मात्र होइन, यो शिखर वार्तालाई विश्व शान्तिमै महत्वपूर्ण कोसेढुंगो मानिएको छ। यो ऐतिहासिक कदमको दक्षिण कोरिया, चीन, जापान मात्र होइन, विश्वले नै मुक्तकण्ठले प्रशंसा गरेका थिए।
भनाइ नै छ, ‘भन्न सजिलो, गर्न साह्रै गाह्रो।’ तथापि यो भनाइ सिंगापुरजस्ता देशले गलत साबित गरेका छन्। सिंगापुर, मलेसिया, चीनजस्ता देशले मानिसको जीवन मात्र होइन, देशकै भाग्यरेखा बदल्ने इतिहास रचेका छन्। गरिबी तथा युद्धले तहसनहस रुवान्डा, इथियोपियाजस्ता अफ्रिकी मुलुक पनि समृद्धिको सिँढी चढिरहेका छन्। अचम्मलाग्दो कुरा के छ भने प्राकृतिक स्रोत तथा सौन्दर्यले भरिपूर्ण नेपालको युवा जनशक्तिचाहिँ दुबई, कतार, अबुधाबीजस्ता बालुवामाथि खडा भएका देश निर्माणमा पसिना चुहाइरहेको छ।
हाम्रो देशचाहिँ भ्रष्टाचारका नयाँनयाँ स्वरूप, राष्ट्रधनको लुट, अनुशासनहीनता, सर्वत्र व्याप्त चरम बेथिति, सडक असुरक्षा, सीमा अतिक्रमण, चरम बेरोजगार, आदि समस्यासँग जुधिरहेको छ। देशको अर्थतन्त्र संकटनिकट रहेको संकेत प्रस्ट देखा पर्न थालिसकेका छन्। यसरी दुर्घटनाको सँघारमा टेकेको देशको अर्थतन्त्रले देशलाई कहाँ पुर्याउने हो, केही भन्न सकिन्न। गत वर्ष मात्र १२ खर्बको वैदेशिक व्यापार घाटा यो देशले बेहोर्नुपर्यो। निकासी शून्यप्राय छ भने आयातमा देश निर्भर छ। महँगो डलरले किनेको पेट्रोल तथा डिजेल हसुर्ने यातायातका साधन घन्टौं सडकजाममा धुवाँ उडाउदै बस्ने दैनिकी देश घर डढाएर आगो ताप्ने भनाइको उदाहरण बन्न पुगेको छ।
सुगाबहादुर, थैलीबहादुर, स्वस्तिबहादुरहरूले राज्यका निकाय ओगटेको देखिए पनि यथार्थमा माफिया, डन, तस्कर तथा अपराधीहरूले नै सम्पूर्ण कार्य सञ्चालन गरिरहेका छन्।
देशमा व्याप्त यस्ता तमाम विकृतिको उपचार गरेर असम्भवलाई सम्भव बनाउन सरकारले जनतामा विश्वास दिलाउन सक्नुपर्छ। ताकि जनताले भन्न सकून्, सरकार हाम्रो हो, हामीले गर्व गर्ने विषय समेटिएका योजना बनून्। देशमा भ्रष्टाचार भएको सुन्नु नपरोस्। भ्रष्टाचारी जेलबाहिर देख्नु नपरोस्। देशको युवा जनसंख्याको ८० प्रतिशतले मात्रै मेहनत गरे पनि राष्ट्रको कायापलट हुन सक्छ। तर सरकारले सही बाटो लिन आवश्यक छ। ८० प्रतिशत नेपालीले गर्ने कामको विभाजन तथा स्वरूप कस्तो हुने ? देशले आजसम्म नदेखेको समृद्धि कामले मात्रै सम्भव छ।
मधेस, पहाड सर्वत्र सडक सञ्जाल बनोस्। पहाडका उत्पादन देशभर सर्वत्र उपलब्ध हुन्। त्यसैगरी मधेस अन्न, फलफूल, तरकारी तथा अन्य वस्तु पहाडका कुनाकुनासम्म पुग्न सकून्। प्रत्येक दुर्गम तथा अति दुर्गम स्थललाई हवाई यातायातका विभिन्न मुख्यमुख्य स्थलहरूसँग जोडोस्। देशका विभिन्न जलविद्युत् अयोजना झोलामा खोला हाल्नेहरूको पोल्टाबाट झिकेर चाँडै निर्माण हुन्। गर्नुपर्ने र हुनुपर्ने थुप्रै पक्षमध्ये सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्य सुरक्षालगायतलाई प्राथमिकताका आधारमा नयाँ नीतिनियमअन्तर्गत सुरु भए मात्रै पनि जनताले सन्तोष मान्ने थिए।
देशको समृद्धि, सफलता र खुसी सम्पूर्ण नेपालीको आत्मबलमा आधारित हुनुपर्छ। सडकमा एकले निर्बाध मोटर हाँक्दा एक असक्त बिरामीले किन त्यही बाटो भएर अस्पताल जान नपाउने ? केटाकेटी स्कुल र यात्रु विमानस्थल जान किन नपाउने ? सम्पूर्ण नेपालीले बाटो मेरो पनि हो भन्ने महसुस गर्न किन सक्दैनन् ? सबैले यो देश मेरो पनि हो भन्ने अनुभूति किन गर्न पाउँदैनन् ?
विगतका थुप्रै सरकारका लक्ष्य तथा कार्य पद्धति गलत सावित भइसकेको वर्तमान दुरवस्थाले प्रमाणित गरिरहेको छ। नयाँ सरकारका अवश्य केही लक्ष्य होलान्। त्यसलाई प्राप्त गर्न अब विविध क्षेत्रका सफल पात्रलाई छान्न सक्नुपर्छ, अन्यथा यो सरकारका योजना पनि दिवास्वप्न सावित हुँदै जानेछन् भने देशले अकल्पनीय दुष्परिणाम भोग्नुपर्ने हुन्छ।
देशमा विद्यमान समस्या विषयगत ज्ञान भएका विज्ञ र अनुभवीबाट छोटो समयमा समाधान हुन सम्भव छ। सुगाबहादुर, मैनाबहादुर, थैलीबहादुर, स्वस्तिबहादुरहरूले राज्यका निकाय ओगटेको देखिए पनि यथार्थमा माफिया, डन, तस्कर तथा अपराधीहरूले नै सम्पूर्ण कार्य सञ्चालन गरिरहेका छन्। अहिले सरकारको प्राथमिकतामा विभिन्न काण्डमा मुछिएका, अभियोग खेपिरहेका र जेलसजाय भोगेर निस्केकाहरू नै विद्वान्, विज्ञ र उपयोगी साबित भइरहेका देखिन्छन्। नासामा काम गर्नेदेखि लिएर बहुराष्ट्रिय हवाई कम्पनीमा काम गर्ने, करोडौं डलरका अन्तर्राष्ट्रिय कम्पनी, आईटी संस्थामा आबद्ध देशवासी नै छन्, तर तिनलाई देशभित्र उपयोग गर्न किन नसकिएको हो ? यसको लेखाजोखा कसले गर्ने ?
विगतका थैली, चाकडी, सिफारिस, सम्बन्धहरू त्यागेर विभिन्न निकाय तथा क्षेत्रमा आवश्यक जनशक्ति खुला प्रतिस्पर्धाद्वारा लिने दृढता मात्र सरकारले व्यक्त गरेमा कुन नेपाली आफ्नै देशमा बसेर राष्ट्रको निमित्त काम गर्न लालायित नहोलान् ? प्रतिस्पर्धामा साम्मिलित प्रत्येकसँग आआफ्नो क्षेत्रको कमसे कम पाँच वर्षको कार्ययोजना लिखित रूपमा प्रस्तुत गर्ने सर्त राखियो भने विषयज्ञान तथा थैलीविज्ञको फरक पनि तत्काल उजागर हुने थियो भने योग्य व्यक्तिका हातमा परेको संस्था पनि तुरुन्तै उँभो लाग्ने थियो, अन्यथा सरकारका थैली विज्ञहरू रहेका संस्थामा समस्यै समस्या मात्र हैन, सर्वनाश निम्तिने निश्चित छ।
प्रतिक्रिया दिनुहोस !