ऋखार क्षेत्रमा स्थानीयको करोड लगानी

ऋखार क्षेत्रमा स्थानीयको करोड लगानी

 बेनी : सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय अग्रसर भएका छन् । रघुगंगा–८ मा पर्ने ऋखार जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी हुँदै तीन दिनको यात्रापछि पुग्न सकिन्छ ।

धवलागिरि आधारशिविर नजिक पर्ने ऋखारमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ । पूजापाठ र दर्शनका लागि मन्दिर, धार्मिक पर्यटकको स्वागत र बासका लागि स्वागत गेट र सत्तल निर्माणमा स्थानीयले एक करोडभन्दा बढी लगानी गरिसकेका छन् । ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष चित्र छन्त्यालले सरकारीले बेवास्ता गरे पनि चन्दा संकलन र भक्तजनमार्फत स्वःस्फुर्त रूपमा प्राप्त सहयोगले अतिआवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको जानकारी दिए ।

उनका अनुसार, ऋखारमा रहेको मुख्यसहित ८ वटा सहायक मन्दिर, भक्तजनको बासका लागि बगरखर्कमा तीन वटा सत्तल र दुवाडीमा स्वागत गेट सबै स्थानीयको श्रमदान र आर्थिक लगानीमा निर्माण गरिएका हुन् । ‘हामीले दुई महिनामा स्वागत गेट तयार पा¥यौँ, एक रुपैयाँ पनि सरकारी लगानी छैन । देउराली आमा समूहले विभिन्न किसिमका कार्यक्रम गरी जम्मा गरेको ७ लाख रुपैयाँ लगानी भएको छ’, उनले भने, ‘गाउँका बुद्धिजीवी र भक्तजनहरूको सहयोगले यस्ता काम सम्भव भइरहेका छन् ।’ मुख्य मन्दिर भने काठमाडौँमा बस्ने कुइनेमंगलेका समाजसेवी इन्द्रजित छन्त्यालले निर्माण गरेका हुन् । सत्तलहरू भने कुइनेमंगलेका साथै बेनी नगरपालिका–१० पात्लेखतका चूडामणि पौडेललगायतले आफ्ना स्वर्गीय आफन्तको स्मृतिमा निर्माण गरेका छन् । स्वागत गेट बनाउन दुवाडीका ४० भन्दा बढी घरधुरीले १० दिन श्रमदान गरेका थिए । ऋखारमा सप्तऋर्षि कश्यप, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ, विश्वामित्र र अत्रिले तपस्या गरेको प्रलय भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

पवित्रभूमि भएका कारण ऋखार क्षेत्रमा थुप्रै सहयोगी मनहरूले सहयोग गरेका छन्।

प्रलयको स्थानमा बनेको तालमा सप्तऋर्षिहरू सयर गर्ने डुंगा रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए । पवित्रभूमि भएका कारण ऋखार क्षेत्रमा थुप्रै सहयोगी मनहरूले सहयोग गर्ने क्रम बढेको पण्डित भीमनाथ पराजुलीले बताए । ‘सप्तऋर्षिहरूले तपस्या गरेका ठाउँ भएकोले भौगोलिक हिसाबले टाढा भए पनि देशका कुनाकन्दराबाट भक्तजनहरू त्यहाँ पुग्ने गरेका छन्’, उनले भने, ‘गलेश्वर र ऋखार क्षेत्रलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिन्छ ।’ स्थानीयको लगानी र श्रमदानमा बनाइएको स्वागत गेट भदौ ५ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सुधार समितिका सचिव अगेन्द्र छन्त्यालले जानकारी दिए । ‘जनैपूर्णिमामा दर्शनका लागि आउने भक्तजनका लागि हामीले स्वागत गेट बनाएका हौं, माथि मन्दिर क्षेत्रमा पनि सरसफाइ सुरु भएको छ’, उनले भने ।

ऋखार जाने भक्तजनहरू बेनीबाट दग्नामसम्म सवारीसाधन र त्यसपछि पैदल यात्रा गनुपर्छ । दग्नामबाट ६ घण्टामा घ्याखीखर्क वा दुवाडी पुगेर बास बसेपछि अर्को दिन मन्दिर पुग्न सकिन्छ । पात्लेखर्कदेखि माथि बस्ती नभएका कारण खाजा नास्ताको व्यवस्था आफैं गर्नुपर्छ । मन्दिर नजिक बगरमा सत्तलमा सुधार समितिले भोजनको व्यवस्था गरेको सचिव छन्त्यालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.