अलैंचीको मूल्यमा सुधार

अलैंचीको मूल्यमा सुधार

फिदिम : पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको अलैंचीको मूल्यमा सुधार देखिएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतिमन ५ हजार मूल्य बढेको अलैंची व्यापारीको भनाइ छ ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालका अनुसार जिल्ला सदरमुकाम फिदिममा शुक्रबार प्रतिमन ३० हजारदेखि ३२ हजार रुपैयाँसम्ममा अलैंची कारोबार भएको हो । भने, ‘राम्रो गुणस्तरको अलैंचीले राम्रै मूल्य पाएको छ ।’

अलैंची व्यापारमा भारतको एकाधिकार रहेकाले मूल्य सुधार भएर जानेमा ढुक्क हुन नसकिने अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीको भनाइ छ । ‘एकैसाथ मूल्यमा सुधार देखियो’, उनले भने, ‘के कारणले मूल्यमा सुधार भयो भनेर ठ्याक्कै भन्न सकिन्न । मूल्य अस्थिरताको कारणले यही मूल्य कायम हुन्छ भन्ने ठोकुवा गर्ने स्थिति छैन ।’

यो वर्षको सुरुदेखि नै अलैंचीको मूल्यमा भारी गिरावट आएको थियो । वर्षको अत्यसँगै नयाँ उत्पादन सुरु भएपछि मूल्यमा सुधार आउने संकेत देखिएको व्यापारीको तर्क छ । ‘अलैंचीको मूल्यमा सुधार गर्न भारतको एकाधिकार तोड्न सक्नुपर्छ’, उनले भने, ‘नेपालमा उत्पादित अलैंचीको व्यापारमा भारतको मुख ताक्नुपर्ने भएकाले मूल्यमा अस्थिरता देखिएको छ ।’

नेपालमा अलैंची उत्पादनको सम्भावना खोजी गर्दै चिनियाँ टोली भित्रिएपछि मूल्यमा सुधार आएको जनाइएको छ । चिनियाँ टोली शुक्रबार ताप्लेजुङ पुगेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा यहाँ उत्पादन गरेको अलैंचीको प्रतिस्पर्धा गराउन सकियो भने मूल्यमा सुधार हुने हो’, उनले भने, ‘अलैंचीको अनुसन्धान गर्न चिनियाँ टोली नेपाल भित्रिएको हल्लाले मूल्यमा एकाएक सुधार आएको देखिन्छ ।’

अलैंचीको खेती विस्तार र उत्पादन बढेसँगै यसको मूल्यमा पनि भारी गिरावट आएको थियो । यहाँका किसानले प्रतिमन १ लाख रुपैयाँसम्ममा अलैंची बिक्री गरेका थिए तर यो भाउ घटेर २६ हजारसम्म कायम भएको थियो । यहाँ उत्पादित अलैंची तेस्रो मुलुकसम्म निकासी गर्न सके राम्रो मूल्य पाउने अनुमान गरिएको छ ।

नयाँ उत्पादन सुरु भएसँगै अलैंचीको मूल्यमा सुधारको संकेत देखिएपछि किसान र व्यापारीमा खुसी देखिएका छन् । पाँचथरबाट कृषिउपज निर्यातमा सबैभन्दा ठूलो हिस्सा अलैंचीले ओगटेको छ । यहाँबाट करोडौं रुपैयाँबराबरको अलैंची निर्यात हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.