महिला आधारशिलाले ल्यायो कानुनी सन्देश पुस्तिका
काठमाडौं : महिला र बालबालिकासम्बन्धीी विभिन्न कानुनहरुको जानकारी दिने उद्देश्यले महिला आधारशिलाले प्रकाशन गरेको कानुनी सन्देश पुस्तिकाको विमोचन गरिएको छ । सुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तिकाको विमोचन गर्दै राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले देशको सम्बृद्धि र खुसीको कुरा भइरहेको बेलामा सबैले आआफ्ना ठाउँबाट उत्पादनमा लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल ल क्याप्सकी प्राध्यापक एवं ल्याककी पूर्व अध्यक्ष डा शशी अधिकारीले गत भदौ १ गतेदेखि लागू भएको पारिवारिक कानुनको बारेमा प्रस्तुति दिइन् । कार्यक्रममा सांसद् रामेश्वर फुयाँलले महिला पुरुष, जातजाति आदिमा रहेका विभेदलाई हटाएर मुलुकलाई अगाडि बढाउनुपर्ने बताए । त्यसैगरी सांसद छिरिङ दोर्जे लामाले महिला आधारशिलाले गरेको कामको प्रशंसा गर्दै नयाँ कानुन बनाउँदा महिलाका अपमान नहुने खालका शब्द चयनमा ध्यान दिनुपर्ने बताए ।
नयाँ बनेका कानुनमा महिला र बालबालिकासम्बन्धी नयाँ कानुन के छन् भन्ने जानकारी दिन कार्यक्रम आयोजना गरिएको महिला आधारशिलाकी अध्यक्ष रेनु शर्माले बताइन् । त्यसैगरी संस्थाकी महासचिव कमला उप्रेतीले विगत २५ वर्षदेखि संस्थाले महिला र बालबालिकाको हक अधिकार, आश्रय, तालिम र शशक्तिकरणलगायतका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन् ।
कार्यक्रममा महिला सुरक्षा दवाव समूहकी अध्यक्ष सावित्री थापाले कानुन बनेर मात्रै नहुने र त्यसको कार्यान्वयन नभएसम्म उपलब्धि केही नहुने बताइन् । स्थानीय तहका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रममा संस्थामा आश्रित बालबालिकाले योगाका विभिन्न आशनहरु र सुन्दर नृत्य समेत प्रस्तुत गरेका थिए ।