श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सीरसेना लुम्बिनी भ्रमणमा आएका छन् । सम्मेलन समापन भएपछि उनी लुम्बिनी भ्रमणमा आएका हुन् । उनको लुम्बिनी भ्रमणलाई नीजी भ्रमण भएको बताइएको छ । काठमाडौँबाट प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदैँ लुम्बिनी पुगेका हुन् ।
उनलाई स्वागत गर्नका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनी पुगेका छन् ।उनले लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि त्यहाँ हुने विशेष पूजामा उनी सहभागी हुनेछन् । मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे बिफ्रङ गर्ने कार्यक्रम समेत रहेको छ । उनले श्रीलंकाद्धारा निर्मित गुम्बाको समेत अवलोकन गर्नेछन् । त्यसपश्चात श्रीलंकाद्धारा निर्मित गेस्ट हाउसको अवलोकनको साथै त्यहाँ वृक्षारोपणको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरीध्वज राईले जानकारी दिए ।
श्रींलकमा सस्शत्र विरोधी समूह लिबरेसन अफ तमिल टाईगर इलम (लिट्टे) अस्तित्व श्रीलंकामा नरहेपनि तमिल सामुदायको संजाल संसारभार रहेकोले श्रीलंकाका राष्ट्रपतिलाई तामिल समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ ।
सोही अनुसार लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिको लुम्बिनी भ्रमणको क्रममा उनको सुरक्षाको लागि देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सस्शत्र प्रहरी, नेपाल सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको छ । श्रीलंकाका राष्ट्रपतिलाई भीभीआइपी सुरक्षा उपलब्ध गराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकरी उदय बहादुर रानाले बताए ।
उनले भने ‘उनी कहाँ कहाँ जान्छन् त्यो सबै स्थानको हामीले म्याप बनाएर सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाएका छौँ र त्यही अनुसार कार्यान्वयन भइरहेको छ । उनको सुरक्षामा कुनै कमी रहेको छैन ।
प्रतिक्रिया दिनुहोस !