विद्यार्थी बरबराएपछि विद्यालय बन्द : अस्पताल छोडेर धामीको शरणमा
दमक : विद्यार्थीमा अनौठो लक्षण देखिएपछि मोरङको उर्लाबारी–१ झाँरसादीस्थित शारदा माविमा पठनपाठन रोकिएको छ। डाक्टरले मनोपरार्शदाताको आवश्यकता औंल्याएपछि विद्यालयले अभिभावकको दबाबमा शनिबार धामीझाँक्री ल्याएर पूजापाठ सम्पन्न गरेका छन्।
विद्यार्थीमा यही बुधबारदेखि अनौठो लक्षण देखापरेको थियो। विद्यार्थीले बरबराउने, दाँत किट्ने, हातखुट्टा बजार्ने गर्न थालेपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक सूर्यप्रसाद दाहालले बताए।
कक्षा ८, ९ र १० का विद्यार्थीले यस्तो गतिविधि गर्ने गरेको शिक्षक छत्र अधिकारीको भनाइ छ। उनका अनुसार अहिलेसम्म नौ छात्रा र दुई छात्र गरी ११ विद्यार्थीमा यस्तो लक्षण देखापरेको छ।
केही विद्यार्थीलाई उपचारका लागि मंगलबारे अस्पताल लगिएको छ। डाक्टरले विद्यार्थीलाई ‘मास कन्भर्जन डिसअर्डर’ भएको बताएको दाहालको भनाइ छ।
‘डाक्टरले यो रोग औषधिले निको नहुने बताए’, उनले भने। डाक्टरले यी विद्यार्थीलाई मनोचिकित्सककहाँ लैजान सुझाएको उनको भनाइ छ। ‘हामीले नगरपालिकासँग समन्वय गरी जनस्वास्थ्य कार्यालयबाट मनोपरामर्शदाता बोलाएका छौं’, उनले भने।
पीडित विद्यार्थीले भने आफूहरूलाई डर लाग्ने गरेको बताएका छन्। डर लागिसकेपछि के–के गरें भनेर थाहा नहुने एक छात्राले बताइन्। अभिभावकले भने पहिला यस्तो कहिले पनि नभएको बताएका छन्।
डाक्टरले यस्तो रोग निको पार्न नसक्ने भन्दै उनीहरूले विद्यालयलाई धामीझाँक्री लगाउन दबाब दिएका छन्। अभिभावकको ‘मन बुझाउन’ विद्यालयले शनिबार धामीझाँक्रीको उपस्थितिमा पूजा सम्पन्न गरेको छ। धेरैजसो अभिभावकको विश्वास धामीझाक्रीले निको पार्छ भन्ने रहेकाले चित्त बुझाउन पूजा गरिएको शिक्षक अधिकारीले बताए।
चिकित्सा मनोवैज्ञानिक डा. शालिग्राम भट्टराईले भने ‘मास कन्भर्जन डिसअर्डर’ एक किसिमको चिन्ता भएको प्रस्ट्याए। यस्तो लक्षण १२ देखि १९ वर्षसम्मको किशोरावस्थामा देखिने उनको भनाइ छ। यो लक्षण समूहमा देखिने भएकाले किशोरीलाई बढी मात्रामा र किशोरलाई कम हुने उनको भनाइ छ। ‘आफूलाई अरूले ध्यान देओस् भन्ने हुन्छ र बढी चिच्याउने, कराउने गर्छन्’, उनले भने।
यस्तो लक्षण देखिए विद्यार्थीलाई सुरक्षित ठाउँमा राख्ने र एक्लै छाड्नुपर्ने उनको सुझाव छ। भीडभाडबाट टाढा छाडिदिएपछि बिस्तारै ठकि हुने उनको भनाइ छ। उनका अनुसार यस्तो लक्षण देखिए धामीझाँक्री लगाउनेभन्दा पनि मनोपरामर्श दिनुपर्छ।
प्रतिक्रिया दिनुहोस !