नगरमै घरघरमा सुत्केरी : प्रसूतिका क्रममा आठ महिलाको मृत्यु
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैना क्षेत्रमा ५७ महिलाले घरमै बच्चा जन्माए। यहाँ गत वर्ष झन्डै डेढ सय जना सुत्केरी भएका थिए। साबिक पुरैना गाविसमा रहेको पुरैना स्वास्थ्य चौकीदेखि भेरी अञ्चल अस्पतालको दूरी चार–पाँच किलोमिटरको मात्र छ। चौकीले बर्थिङ सेन्टरका लागि भवन बनाएको छ, तर बाटो नहुँदा सञ्चालन गर्न सकेको छैन।
‘हामी भेरी अञ्चल अस्पतालमा रेफर गर्छौं। अस्पताल जानुको साटो स्थानीय घरमै बच्चा जन्माउँछन्’, स्वास्थ्य चौकी इन्चार्ज मञ्जु कुशवाह भन्छिन्, ‘आफ्नै टोलमा बर्थिङ सेन्टर प्रयोग हुँदा सबैलाई दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउन सकिन्थ्यो।’ यो समस्या मधेसी समुदायमा बढी देखिएको उनले बताइन्।
नेपालगन्ज उपमहानगरमा रहेका ११ वटा स्वास्थ्य चौकीमध्ये मनिकापुर, पुरैनी, उदयपुर र जैसपुरमा मात्र बर्थिङ सेन्टर छ। उपमहानगरका नगर स्वास्थ्य केन्द्र सात वटा छन्। तिनमा पनि बर्थिङ सेवा छैन। भवनीयापुरमा भने बर्थिङ सेन्टर भए पनि दक्ष प्रसूतिकर्मीको अभावमा सञ्चालन हुन नसकेको उपमहानगर स्वास्थ्य शाखा सहसंयोजक हरिहर तिवारी बताउँछन्।
‘नगरभित्रै भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम) भएकाले यी नै हाम्रा लागि बर्थिङ सेन्टर जस्तै हुन्’, उनले भने, ‘जनस्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर बनाउन प्राथमिकता नदिएकाले त्यहींबाट सेवा लिइरहेका छन्।’
युनेस्को बाँकेका नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम अधिकृत रोशन थापा नगरभित्रै बर्थिङ सेन्टर नहुँदा सर्वसाधारण घरमै प्रसूति गराउन बाध्य भएको बताउँछन्। बर्थिङ सेन्टरका लागि युनेस्कोले सहयोग पनि गर्छ। सेवा पाए÷नपाएको बारे जिल्ला जनस्वास्थ्य कार्यालयसमेत सम्मिलित टोलीले अनुगमन पनि गर्छ। ‘नगरभित्रै कुल प्रसूतिको चार भागमध्ये एक चौथाइले घरमै प्रसूति गराउँछन्। भेरी अञ्चल अस्पतालमा चाप भएर पनि कतिले बाध्य भएर घरमै बच्चा जन्माउने गरेका छन्’, थापाले भने।
नेपालगन्ज उपमहानगरका स्वास्थ्य सहसंयोजक तिवारी भने घरमा सुत्केरी गराउने न्यून भएको दाबी गर्छन्। उनका अनुसार गत वर्ष तीन हजार ६ सय ४६ जनाले प्रसूति सेवा लिएकोमा १५ जनाले मात्र घरमै बच्चा जन्माए। ‘घरमै प्रसूति गराउने महिलाले’ अनमी वा मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीलाई डाक्ने भएकाले संख्या कम देखिएको हुन सक्ने पुरैना स्वास्थ्य चौकी इन्चार्ज कुशवाहको भनाइ छ।
भवनीयापुरमा बर्थिङ सेन्टर भए पनि दक्ष प्रसूतिकर्मीको अभावमा सञ्चालन हुन सकेको छैन।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार आव ०७४÷७५ मा १२ जना महिलाले ज्यान गुमाए। तीमध्ये ८ जनाको त प्रसूतिकै क्रममा मृत्यु भयो। तीन जनाको गर्भवती अवस्थामै ज्यान गएको थियो। सुविधासम्पन्न अस्पताल भएको नेपालगन्ज उपमहानगरको बुलबुलिया र मनिकापुर क्षेत्रका दुई जना महिला छन्। जानकी गाउँपालिकाबाट तीन जना छन्। बैजनाथ गाउँपालिकालगायत महिला पनि छन्।
‘स्वास्थ्य संस्थाले रेफर गरेर भेरी अञ्चल अस्पताल पठाए पनि गाउँमै सुत्केरी गराउनेको मृत्यु भएको छ’, जानकी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गिरबहादुर गुरुङ भन्छन्, ‘एक सयजना प्रसूति गराउन आउनेमध्ये १५ प्रतिशतमा जटिल समस्या देखेपछि रेफर हुन्छ। तर उनीहरू अस्पतालबाट भागेर आउँछन् र ज्यान गुमाउँछन्।’
गत वर्ष जानकी गाउँपालिकामा रहेको गनापुर स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन गएकी एक ४० वर्षीया महिलालाई स्वास्थ्यकर्मीले गर्भवती जाँच गर्दा जोखिमपूर्ण भएको भन्दै भेरी अञ्चल अस्पतालमा रेफर गरिदिए। उनमा रक्ताल्पता र ढाडको टीबी रोग पनि थियो। अस्पतालमा प्रसूति गराउन छोडेर उनी भागेर गाउँ फर्किइन्। अन्तिम अवस्थामा पुनः स्वास्थ्य चौकी गइन्। त्यही उनको ज्यान गयो। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स सरिता चन्द भन्छिन्, ‘अस्पतालबाट फर्केर स्वास्थ्य चौकीमा सलाइन चढाउँदाचढाउँदै उनको मृत्यु भयो।’
गत साउनमा पनि जानकी गाउँपालिको बेलभारकी अर्की एक महिलाको पनि अस्पतालबाट फर्केर घर आई अन्तिम अवस्थामा स्वास्थ्य चौकी पुग्ने क्रममा ज्यान गएको थियो।
यी घटनाक्रमले पनि जिल्लामा सुरक्षित प्रसूतिबारे जनचेतनाको अभाव देखिन्छ। सरकारले गर्भ रहेको दुई, चार, आठ र अन्तिम पटक गरी चार पटक गर्भवती जाँच गर्न अनिवार्य गरेको छ। यसरी नियमित गर्भ जाँच गराउने महिलाले चार सय रूपैयाँ भत्ता पनि पाउँछन्। तर जिल्लामा आधाभन्दा बढी गर्भवती महिलाले नियमित गर्भ परीक्षण नै गर्दैनन्।
जिल्ला जनस्वास्थ्य कार्यालयको आव ०७४÷०७५ को रेकर्डमा १२ हजार ९ सय ४५ महिलाले पहिलो पटक गर्भ जाँच गराएको देखिन्छ। नियमअनुसार चार पटक गर्भ जाँच गराउने महिलाको संख्या झन्डै आधा मात्र ६ हजार तीन सय ८२ मात्र रहेको छ। चौथो तथा अन्तिम पटक गर्भ जाँच गराउनेको संख्या भने आठ हजार सात सय ७५ थियो। यो तथ्यांकले पनि महिलालाई आफ्नो गर्भ नियमित जाँच गराउनुपर्ने र सुरक्षित सुत्केरीबारे चेतनाको अभाव रहेको प्रस्ट हुन्छ।
०००
नेपालगन्ज उपमहानगर–२१ को पुरैना स्वास्थ्य चौकीमा उपचारका लागि आएका महिला। शंकरप्रसाद खनाल