जोखिमका बस्तीको भौगर्भिक अध्ययन गरिने
गोरखा : पहिरोका कारण जोखिममा परेका गोरखाका बस्तीहरूको भौगर्भिक अध्ययन गरिने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चार गाउँपालिकाका ११ बस्तीको भौगर्भिक परीक्षण गर्ने निर्णय गरेको हो।
भूगर्भविद्ले अध्ययन गरेर निकाल्ने निचोडका आधारमा बस्ती स्थानान्तरणलगायतका विषयमा टुंगो लगाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
‘पहिरोको जोखिममा रहेका बस्तीको अध्ययन गर्ने व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्ने निर्णय भएको छ’, प्रजिअ भट्टराईले भने।
भौगर्भिक अध्ययन गर्नुपर्नेमा आरुघाट गाउँपालिकाको तीनवटा, धार्चेको दुई वटा, सहिद लखनको दुई र बारपाक सुलीकोट गाउँपालिकाका चारवटा बस्ती छन्। आरुघाटको स्याम्चेत गाउँका एक सय ३६ घरधुरी पहिरोको जोखिममा छन्। तीमध्ये ३० घरधुरी पूर्णरुपमा विस्थापित भएको गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले बताइन्। मान्बुकै कटुञ्जे गाउँको पनि भूगर्भविद्ले अध्ययन गर्ने भएका छन्। त्यहाँका १९ घरधुरी पहिरोको जोखिममा छन्। सोही गाउँपालिकाको वडानम्बर ५ आरुआर्वाङको भल्छवे रानागाउँका ९ घरधुरी पनि पहिरोको जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष नेपालीले जानकारी दिइन्।
यस्तै धार्चे गाउँपालिका ७ को खानीगाउँ र पौटुको पनि भौगर्भिक अध्ययन गरिने भएको छ। खानीगाउँका ४० र पौटुका २५ घरधुरी पहिरोका कारण पूर्णरुपमा विस्थापित भएका छन्। खानीगाउँका थप १ सय घरधुरी जोखिममा रहेका गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए।
सहिद लखन गाउँपालिकाले वडानम्बर ६ घैरुङको अँधेरी र तीनघरे ठाडोपखेराको भौगर्भिक अध्ययन गर्न माग गरेको छ। गत साउन २ गतेको वर्षापछि ती गाउँका ठाउँठाउँमा सानाठूला पहिरो गएपछि स्थानीय त्रसित भएका गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।
पहिरोमै पुरिएर अँधेरीमा तीनजनाको ज्यान गएको थियो। वारपाक सुलिकोट गाउँपालिकाको वडानम्बर १ वारपाकको तसरा र २ को तुम्सिका गाउँ पहिरोको जोखिममा छन्। तसराका १३ र तुम्सिकाको १० घर पहिरोको जोखिमकै कारण विस्थापित भएका छन्। ती गाउँहरूको पनि भौगर्भिक अध्ययन गरिने विपद् व्यवस्थापन समितिले जनाएको छ।
यस्तै वडानम्बर ५ को कोमलटारी र वडानम्बर ६ को भालेढुंगा गाउँ पहिरोको उच्च जोखिममा रहेकाले भूगर्भविद् मार्फत् अध्ययन गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए। भूगर्भविद्ले पहिरो नियन्त्रण गर्न सकिने अवस्था औंल्याएमा अहिले विस्थापित भएकालाई पुरानै ठाउँमा स्थापित गराइने जनप्रतिनिधिले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !