कर्णाली राजमार्गको यात्रा जोखिमपूर्ण
कालिकोट : वर्षायाम लागेसँगै कर्णाली राजमार्ग हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। कर्णाली राजमार्गको घट्टे खोला, दहि खोला, गगने खोला, शेरीघाट, सुनार खोलालगायतका ठाँउहरूमा सडक हिलाम्मे भएपछि यात्रा जोखिमपूर्ण बन्दै गएको हो।
कालिकोट जिल्लाको सदरमुकाम नजिकै रहेको सुनार खोलामा नियमित वर्षासँगै पहिरो नरोकिने र सडक हिलाम्मे भएपछि दैनिक रुपमा यात्रुहरूले धकेलेर गाडी गुडाउने गरेका छन्। सडकमा हिलोे भरिएकाले गाडीका टाएर नगुढ्दा यात्रुले गाडी धकेल्ने छन्। गाडी चालक गोरखबहादुर शाहीले भने, ‘सुनार खोलाले गत असारदेखि नै सास्ती दिँदै आएको छ। सडक हिलोले पुरै भरिएकाले साना जिप हिलोमा फस्ने गरेका छन्। यात्रुले गाडी धकेलेर खोला कटाउनु पर्ने वाध्ययता छ।’
उनले भने, ‘यात्रुले धकेल्न नसकेर डोजरमार्फत् गाडी खोला पार गर्दा एक हजार शुल्क तिर्ने गरेका छौं।’ वर्षाका कारण तीन दिनसम्म राजमार्ग अबरुद्ध भएको थियो। बिहान सुर्खेतबाट आएका गाडी राजमार्गको अवस्थाकै कारण बीच बाटोमा रोकिँदा एकै दिन कालिकोट पुग्न सक्दैनन्।
कर्णाली राजमार्गको सबै भन्दा बढी कालिकोट खण्डमा मात्रै दहिखोला, गगने खोला, सेरीघाट, सुनार खोला, गल्ली, मोल्फा, सिम्ले खोला, पिली, खल्लागाडलगायतका दर्जनौं ठाँउमा सडक हिलाम्मे भएपछि यातायात सेवा अवरुद्ध हुने गरेको छ।
कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल छ। कर्णाली राजमार्ग कालोपत्रे भएको एकवर्ष नबित्दै कालोपत्रे भत्कियो। खाल्डा खुल्डी परे। सडक डिभिजन कार्यालय जुम्लाले ती खाल्डा खुल्डीमा माटो हालेपछि सडक हिलाम्मे भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले वर्षयाम लागेसँगै प्रहरीको काम नै सडकमा पहिरो पन्छाउने र गाडी तान्ने भएको बताए। उनले जिल्ला सदरमुकाम आसपासकै क्षेत्र सुनार खोला, गल्ली, पिली, गगनेलगायतका ठाउँमा पहिरो जाँदा प्रहरीले सडकमै ड्यूटी बस्नु परेको बताए।
उनले भने, ‘सडक डिभिजनको एउटा डोजर गगने खोलामै ठिक्क छ। अन्यत्र ठाँउमा अरु निजी डोजर खोजेर पहिरो पन्छाउँदै आएका छौं।’ उनले हिउँद सिजन लागेपछि सबै सरोकारवाला निकायबीच चुपचाप बस्ने र वर्षायाम लागेपछि वर्षेनी कर्णाली राजमार्गका बिभिन्न ठाँउमा पहिरो जाने र नागरिकले सास्ती खेप्ने अवस्था रहेको बताए।
प्रतिक्रिया दिनुहोस !