योजना सुरु भएको एघार वर्षपछि बल्ल पानी

योजना सुरु भएको एघार वर्षपछि बल्ल पानी

बड्डिचौर (सुर्खेत) : आयोजना सुरु भएको एघार वर्षपछि पश्चिम सुर्खेतको बराहतालमा खानेपानी उपलब्ध भएको छ । चार करोड भन्दा बढीको लगानीमा आयोजना सम्पन्न भएपछि स्थानीयले खानेपानी पाएका छन् । सरकारको अनुदान र स्थानीयको श्रमदानबाट लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएसँगै स्थानीयलाई खानेपानीका लागि घण्टौंसम्म धाउनुपर्ने बाध्यतासमेत टरेको छ ।

यो आयोजनाबाट बराहताल गाउँपालिकाको वडानम्बर ५ र ८ का बासिन्दा लाभान्वित भएका छन् । नजिकै खानेपानी नहुँदा यहाँका बासिन्दाले डेढ घण्टासम्म गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता थियो । खडेरीमा खानेपानीको हाहाकार नै हुने र वर्षातको धमिलो पानी पिउनुपर्ने बाध्यता भएपछि बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २०६४ सालमा यो आयोजना सुरु गरेको थियो ।

आयोजना सुरु गरिए पनि बजेट अभावका कारण समयमै काम नहुँदा सम्पन्न हुन एघार वर्ष लागेको हो । सरकारको अनुदान र स्थानीयको श्रमदानबाट सम्पन्न भएको यो आयोजनाबाट अहिले सात सय ७२ वटा धारा वितरण गरिएका छन् ।

आयोजना सम्पन्न गर्न चार करोड ४६ लाख ६६ हजार बजेट खर्च भएको छ । यसमा ८० प्रतिशत रकम सरकारको अनुदान हो भने २० प्रतिशत स्थानीयको श्रमदान छ । ‘आयोजना सम्पन्न गर्न निकै मुस्किल भयो, एघार वर्षसम्म हामी तनावमै रहयौं’, उपभोक्ता समितिका अध्यक्ष अर्जुन बुचा मगरले भने, ‘बजेट माग्दै सिंहदरबारसम्म पुग्यौं, नेताका दैलोमा पनि धायौं । धेरै मेहनतपछि आज धारामा पानी आएको छ, गाउँलेले वर्षौंपछि आँगनमै पानी पाएका छन् ।’

उनका अनुसार यो आयोजनाबाट अहिले सात सय ७२ वटा निजी धारा, १० वटा सार्वजनिक र चारवटा धारा असाय परिवारका लागि वितरण गरिएको छ । यसबाट तीन हजार पाँच सय ७७ जनसंख्या लाभान्वित बनेका छन् । आगामी दिनमा थप धारा वितरणको तयारी भइरहेको अध्यक्ष बुचाले जनाए ।

स्थानीय बासिन्दा डम्बर गंरजाले वर्षौंपछि आँगनकै धारामा पानी आएपछि आफूहरूलाई गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता टरेको बताए । उनले भने, ‘यो क्षेत्रमा खानेपानीको निकै समस्या थियो, वर्षात्को भेल र धमिलो पानी पनि पिउनुपर्ने बाध्यता थियो । अब त्यो समस्या समाधान भयो, गाग्री बोक्नुपर्ने बाध्यता अब रहेन ।’

स्थानीय बेलमति सारुले भनिन्, ‘पहिल्यैबाट खानेपानी आउँछ भन्थे, काम सुरु भएको धेरै वर्षसम्म पनि नआउँदा हामीले आश मारिसकेका थियौं । तर आज आफ्नै आँगनको धारामा पानी आयो, अब हाम्रा दुःखका दिन गए ।’ खानेपानीकै लागि विगतमा आफूहरूले भोगेका दुख स्मरण गर्दै उनले पानीको जोहो गर्दैमा आधा उमेर बितेको बताइन् । गाउँमा पानी आएपछि हिजोआज बालबालिकालाई पनि समयमै विद्यालय पठाउन पाएको उनको भनाइ छ ।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले यो आयोजनाको पानी ९९ प्रतिशत शुद्ध भएको दाबी गरेको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसैनले भने, ‘हामीले यो आयोजनामा पानी शुद्धिकरणका लागि विशेष प्रविधि अपनाएका छौं, यहाँको पानी ९९ प्रतिशत शुद्ध छ ।’ साथै हुसैनले यो आयोजना नमूना र उत्कृष्ट भएकोसमेत दाबी गरे । वस्तीदेखि करिब १३ किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याइएको हो । आयोजनामा डमारेखोला, काप्राखोला र धाप छहराको मुहानबाट पानी ल्याएर वितरण गरिएको हो । खानेपानी आयोजना सम्पन्न भएर आँगनमै पानी आउन थालेपछि स्थानीयले खुशीयाली मनाएका छन् । खानेपानी उपलब्ध भएपछि हिजोआज सिँचाइमा समेत प्रयोग गर्न सहज भएको उनीहरूको भनाइ छ ।

‘भेरी लिफ्टिङको काम यसैबर्ष’

यसैबीच सुर्खेत उपत्यकाको खानेपानी संकट समाधानका लागि महत्वपूर्ण मानिएको भेरी लिफ्टिङ आयोजनाको काम यसैवर्ष सुरु हुने भएको छ । कर्णालीको राजधानी रहेको सुर्खेत उपत्यकामा हाल खानेपानीको अभाव छ । यसका लागि भेरी नदीको पानी उपत्यकामा ल्याउने तयारी भइरहेको छ ।

बड्डिचौर खानेपानी आयोजनाको उद्घाटन गर्दै खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले यही आर्थिक वर्षमा भेरी लिफ्टिङ आयोजनाको काम सुरु हुने जानकारी दिइन् ।

‘सुर्खेत उपत्यकाको खानेपानी संकट अब समाधान हुन्छ, सरकार यसमा गम्भीर छ’, मन्त्री मगरले भनिन्, ‘यो आयोजनाका लागि मन्त्रालयले बजेट विनियोजन गरेको छ, डीपीआरको काम पनि भएको छ । यो आर्थिक वर्षमा नै काम सुरु हुन्छ । अब उपत्यकाको खानेपानी संकट अन्त्य हुन्छ ।’

यस्तै मन्त्री मगरले सुर्खेतमा चौकुने, विद्यापुर, सालकोट र तरंगामा पनि खानेपानी आयोजना सञ्चालन गर्न मातहतका निकायलाई डीपीआरको प्रक्रिया अगाडी बढाउन निर्देशन दिइन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.