बैंकिङ कसुरमा एक व्यक्तिविरुद्ध ४७ मुद्दा
बुटवल : उच्च अदालत तुल्सीपुर इजालसमा एकै व्यक्तिविरुद्ध ४७ वटा मुद्दा दर्ता भएको छ। तत्कालीन पश्चिमाञ्चल फाइनान्स म्याग्दी शाखाका प्रबन्धक गणेश पौडेलविरुद्ध परेका ४७ वटा मुद्दाको पेशी तोकिएको छ। २०७४ साउन र असोजमा पौडेलविरुद्ध यी मुद्दा दर्ता भएका हुन्। बिहीबार तोकिएको पेशीमा ४७ वटा मुद्दाको लागि ५ वटा इजालस छुट्याइएको छ। मुद्दा सबै बाणीज्य इजालसमा सुनुवाई हुनेछन्। पेशीको क्रम संख्या १ मा २०७४ साउन १७ र १८ गते दर्ता भएका मुद्दाको पेशी रहेको छ। जसमा गणेश पौडेलसहित ३ जनाविरुद्ध मुद्दा छ।
पेशीको सुचिमा क्रम संख्या १६ मा पौडेलसहितलाई २२ वटा मुद्दा रहेका छन्। यी मुद्दा २०७४ असोज २२ गते दर्ता भएका हुन्। पेशी सुचिको क्रम संख्या १७ मा ६ वटा मुद्दा छन्। क्रम संख्या १९ मा ५ वटा, क्रम संख्या २० मा ९ वटा मुद्दाको पेशी तोकिएको छ। बैंकबाट व्यक्तिलाई लोन प्रवाह गर्दा मिलेमोतो गरी बैंकिङ कसुर गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो।
बैंकबाट अबैध तरिकाले लोन प्रवाह गरेको, मिलेमोतोमा धितोको बढी मुल्य देखाइ लोन दिएको, बैंकको रकम हिनामीना गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए। बैंकिङ कसुरविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले गरेको अनुसन्धानपछि पौडेललाई पक्राउ गरिएको थियो।
पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालयले अहिलेको उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेको हो। तत्कालीन अवस्थामा बुटवलको पुनरावेदन अदालतमा मात्र बाणीज्य इजालस भएकाले यहाँ मुद्दा दर्ता भएको उच्च अदालत बुटवलका रजिष्टार नेत्रप्रसाद भुसालले जानकारी दिए। म्याग्दीमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरे पनि यहाँको उच्च सरकारी वकिलको कार्यालयले सरकारको पक्षबाट बहस पैरवी गर्दै आएको छ। ४९ वटा मुद्दा दर्ता भएकोमा एउटा मुद्दामा अदालतको फैसला आएर पौडेल अहिले थुनामा छन्। बाँकी मुद्दाको लागि सुनुवाई सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस !