महिला कर्मचारीप्रति कुण्ठित दृष्टिकोण

महिला कर्मचारीप्रति कुण्ठित दृष्टिकोण

संयोग नै भन्नुपर्छ- एक दिन कार्यालयको एउटा शाखामा चारजना महिला कर्मचारी मात्र थियौं। सेवाग्राहीले आएर बाहिरबाटै सोधे- खै यहाँका सरहरू ? उनको सोधाइमा हामी महिला कर्मचारी नै होइनौं कि भन्ने भाव झल्किन्थ्यो। अथवा महिला कर्मचारीले गरेको काम राम्रो हुन्न भन्ने सोचाइ पनि हुन सक्छ। तपाईंको काम गर्न सर नै चाहिने हो कि हामीले गर्दा पनि हुन्छ ? मैले हाँसेर सोधें। उनी नतमस्तक भए।

एउटा कोठा र नेमप्लेटसहित मेरा एकजना साथी आफ्नो शाखामा थिइन्। त्यही समय एकजना सेवानिवृत्त महिला कर्मचारी आएर भनिन्- ए नानी, पहिला त यहाँ सर हुनुहुन्थ्यो, अहिले को छ हँ कि नानी नै हो ? मेरो एउटा काम गर्नु थियो। अर्की एकजना साथी पातली र कम उमेरकी थिइन्। उनी कुनै गाउँपालिकाको कार्यकारीका रूपमा। उनले एक दिन आफ्नो फेसबुकमा स्टाटस राख्दै लेखेकी थिइन्, ‘अति भो अलिअलि मोटाउन पाए पनि हुन्थ्यो। सेवाग्राहीहरू कुन कलेजमा पढेकी छौ नानी भनेर सोध्छन् त ल !’

एक दिन कुनै मन्त्रालयको क्यान्टिनमा एकजना महिला मेयर र अन्य दुईचारजना कर्मचारी मिलेर गफ गर्दै थिए। कर्मचारीले ती महिला मेयरलाई भने- हामीले हजुरको नगरपालिकामा फलानोलाई कार्यकारी बनाएर पठाउने तयारीमा छौं। यत्ति भन्नासाथ महिला मेयर कड्किहालिन्। अँ हँ मेरोमा महिलालाई नपठाउनुहोस्। महिलाले राम्रोसँग काम गर्न सक्दैनन्। मलाई त एउटा टाठो र राजनीति पनि बुझेको कर्मचारी पठाउनुहोस्।

यी त सामान्य प्रतिनिधि घटना मात्र हुन्। सार्वजनिक प्रशासन नागरिकलाई घरदैलो र चुलाचौकामा सेवा पुर्‍याउने प्रशासन हो। नागरिकले अनुभूत गर्न सक्ने सरकार हो। सिंगो सार्वजनिक प्रशासन सबल, पारदर्शी र बलियो भएको खण्डमा मात्र सिंगो मुलुकले विकासको गति लिन सक्छ। सार्वजनिक सेवा प्रवाह गर्ने फ्रन्ट लाइनमा महिला निकै कम छन्। यो अनुपात पहिलाको तुलनामा अहिले बढ्दै गएको छ। सबै सेवा समूहका कर्मचारीलाई एकमुष्ट रूपमा हेर्ने हो भने अहिले निजामती सेवामा महिला कर्मचारीको संख्या २३ प्रतिशतबाट उकालो लाग्दैछ। प्रतिशतमा हेर्दा सबैभन्दा बढी महिला स्वास्थ्य सेवामा छन्। स्वास्थ्य सेवाका महिला संख्या झिक्ने हो भने यो प्रतिशत निकै तल रहेको पाइन्छ।

आपसमा हुने रिस, ईर्ष्या कमजोर मानसिकताबाट महिला कर्मचारीहरू माथि उठ्न जरुरी छ।

आज पनि आम नागरिकले महिला कर्मचारीलाई निकै साँघुरो घेरामा राखेर हेर्ने चलन छ। उनीहरूले गरेको काम राम्रो हुँदैन। काम गर्न जान्दैनन्। निकै सक्षम, योग्य, दक्ष, प्राविधिक गुणले युक्त महिला कर्मचारी हुँदा पनि आम नागरिकले विश्वास गर्दैनन्। पुरुषप्रधान सोचविचार र चिन्तनले मस्त भएका सोचाइ सजिलै महिलालाई सम्मान गर्न र आदर गर्न हिच्किचाउँछन्। जुनसुकै तहका पुरुष कर्मचारीलाई नमस्कार सर भन्दै आदरभाव, भक्तिभाव राख्ने नागरिकले माथिल्लो तहका महिला कर्मचारीलाई समेत म्याडम भन्न पनि हिच्किचाउँछन्।

मिलेसम्म आफ्नो उमेरसँग तुलना गरेर बहिनी, सिस्टर, नानीका साथमा तिमीले सम्बोधन गर्छन्। आफ्नो कामसँग सम्बन्धित कुनै कुरा सोध्दैनन्। अनावश्यक रूपमा विभिन्न प्रश्न सोध्छन्। श्रीमान् के गर्नुहुन्छ ? कहाँ कुन अफिसमा हुनुहुन्छ ? छोराछोरी कति छन् ? लाग्छ उनीहरूको सोधाइ सुन्दा महिला अफिसमा, कार्यालयमा काम गर्ने होइन कि घरमै काम गर्दा उत्तम हुन्छ।

मैले नागरिकको मुखबाट धेरैपटक सुनेको छु कि फलानो मन्त्रालयमा त मन्त्री÷राज्यमन्त्री महिला अनि सचिव पनि महिला। खै के राम्रो काम गर्न सक्लान् र ? हैन फलानो अफिसमा त आर्थिक प्रशासन प्रमुख महिला छ रे ! के कुरा गर्नु उनीसँग आदि धेरै टीकाटिप्पणी गरेर हेयको दृष्टिले हेर्ने गरेको पाइन्छ।

सामान्य नागरिकले महिला कर्मचारीलाई चिन्न नसक्नुलाई अतिशयोक्ति नमानौं तर यहाँ त महिला कर्मचारीलाई देशका सचेत नागरिक, कर्मठ, विज्ञ ठानिने पुरुष कर्मचारीले पनि विश्वास गर्न नसकेको अवस्था छ। सुरुमा आफ्नो परिचय हुन नपाउँदै उनीहरू सोध्न हतारिन्छन् कि उनको श्रीमान्ले के गर्छन्, कहाँ छन् ? काम गर्न सक्ने क्षमता भएका महिला कर्मचारीलाई थप कामको जिम्मेवारी दिन चाहँदैनन्।

शाखा प्रमुख गए हुने मिटिङ र सेमिनारमा पुरुष कर्मचारी छन् भने सजिलै उसलाई पठाउँछन्। त्यही पुरुषको ठाउँमा महिला कर्मचारी आएपछि त्यस्ता मिटिङ र सेमिनारमा कार्यालय प्रमुख आफैं गएका धेरै उदाहरण भेट्न सकिन्छ। कार्यालयमा सवारी साधन छन्। सवारी साधन चलाउन सक्ने क्षमता भएका महिला कर्मचारी पनि छन्। महिलाकै लागि भनेर ल्याएका सवारी साधन महिला कर्मचारीलाई दिँदैनन्। ती महिला कर्मचारीभन्दा तल्लो तहका पुरुष कर्मचारीले त्यो सुविधा लिएका घटना तमाम छन्।

विदेश, अध्ययन भ्रमण, काज, सेमिनार र गोष्ठीमा पनि पुरुषलाई नै सहभागी हुने अवस्था दिने चलन विद्यमान छ। महिलालाई एकपटक जानकारी गराएर सोध्नेसम्म चलन विकास हुन सकेको छैन। कहिलेकाहीं कसैले पालो पाउँदा पनि उपल्लो दर्जाका कर्मचारीले भनेको मान्ने, उनीहरूसँग हाँसीमजाक गर्ने महिला मात्र पटकपटक रोजाइमा पर्छन्। सक्षम र उच्च नैतिक चरित्र भएका महिला प्रायः यस्ता अवसरबाट पछाडि परेका हुन्छन्। महिला भएकै कारणले उनीहरूलाई थप कार्य जिम्मेवारी दिन चाहँदैनन्।

एक महिला कर्मचारी र अर्को महिला कर्मचारीबीच पनि हेर्ने÷बुझ्ने दृष्टिकोणमा निकै कमीकमजोरी भेटिन्छ। आपसमा विश्वासको वातावरण पनि निकै कम छ। महिला कर्मचारीले महिला कर्मचारीलाई नै हेप्ने, रिस गर्ने प्रवृत्ति हावी छ। समान तहका एउटै कार्यालयमा काम गर्ने महिला कर्मचारी पनि मौका मिल्नासाथ कार्यालय प्रमुखसँग एकले अर्कोको कुरा काट्ने, दोष लगाउने निकै कमजोरी भेट्न सकिन्छ।

तल्लो तहमा काम गर्ने महिला कर्मचारीले आफ्नो कार्यालय प्रमुख पुरुष भए हुन्थ्यो भन्ने सोच राखिन्छ एकातिर भने अर्कोतिर महिला कार्यालय प्रमुखले पनि आफूमाताहतका कर्मचारीमा पुरुष नै छनोटमा पर्ने गरेको पाइन्छ। महिला कार्यालय प्रमुख भएका अफिसमा पनि सेवासुविधाको अवसर समान रूपमा नभर्ई पुरुष कर्मचारीले नै बढी पाएको पाइन्छ।

परिवर्तन विस्तारै हुने कुरा हो। परिवर्तन थोरैबाट सुरु हुने कुरा हो। सबै नागरिकको सोच खराब छ भन्ने पनि होइन। सबै पुरुष कर्मचारी खराब छन् भन्न खोजेको पनि होइन। महिलाको शत्रु महिला नै हुन् भन्न खोजेको पनि होइन। धरै सचेत नागरिक पनि छन्। सचेत पुरुष कर्मचारी र महिला कर्मचारी पनि नभएका होइनन्।

दुवै सृष्टिका समान हिस्सेदार हुन्। उनीहरूको समाजमा पनि समान हैसियत, समान अवसर, समान विश्वासको वातावरण सिर्जना गर्ने खालका काम अगाडि बढाउन आवश्यक छ। महिलामाथि शदीयौंदेखि थिचिएको असमान व्यवहारले अहिले पनि निकै कमजोर मानसिकतामा गुम्सिन बाध्य छन्। आफूले गर्न सक्ने कामकुरामा पनि मानसिकताको कमजोरीले महिला आँट गर्न, हिम्मत गर्न सकिरहेका छैनन्।

समाजका गन्यमान्य पुरुषले आफूले घरयासी कुनै काम नगरी वर्षौंको लगानीबाट त्यो माथिल्लो तहमा पुगेका हुन्छन् तर त्यही तह र तप्कामा घरायसी सबै काम गरेर, गाईवस्तुको गोबर सोहोरेर साथै आफ्नै बालबच्चाको हेरविचारको अभिभारा पूरा गरेर पुगेका महिलालाई कमजोर देख्नु सरासर अन्याय हो। अझै पनि महिलालाई पछि पार्न चाहने सोच हो, प्रवृत्ति हो।

सार्वजनिक सेवा प्रवाहले नागरिकको चाहनालाई पूरा गर्न सक्नुपर्छ। नागरिकको विश्वास जित्न सक्नुपर्छ। यसका लागि सेवाप्रवाह गर्ने निकायमा, सार्वजनिक प्रशासनका सबै क्षेत्रमा, सबै तह र तप्काका महिला र पुरुष कर्मचारीको समान आवश्यकता छ। महिला र पुरुष दुवैले सर्वसाधारण नागरिकको मन जित्न सक्नुपर्छ। महिला कर्मचारी र पुरुष कर्मचारीबीच रहेका अविश्वासका खाडल पुर्नुपर्छ। अविश्वासको वातावरण हटाउनुपर्छ।

महिला कर्मचारीबीच रहेको अविश्वासलाई पनि विश्वासको वातावरणमा ढाल्ने काम गर्नुपर्‍यो। आपसमा हुने रिस, ईष्र्याको कमजोर मानसिकताबाट माथि उठ्न जरुरी छ। जबसम्म महिलाले नै महिलाको सम्मान गर्न सकिँदैन भने पुरुषले झन् कसरी गर्छन् भन्ने सोच हुन आवश्यक छ। मात्र दृढ इच्छाशक्ति हुनुपर्‍यो। विस्तारै सबै कुरामा क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ। सकारात्मक सोचौं, एक दिन सरकारको सारथि सार्वजनिक प्रशासनको हरेक तह र तप्कामा महिला र पुरुष मात्रात्मक रूपमा समान हुनेछन्, साथमा गुणात्मक पनि। त्यो समय सार्वजनिक सेवाप्रवाहले नागरिकको मन, मुटु र विश्वास जित्न सक्नेछ।

—लम्साल नेपाल सरकारको शाखा अधिकृत हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.