रामायण सर्किटमा रामधुनी जोड्न पहल
इटहरी : भारतले बनाएको रामायण सर्किटमा सुनसरीको रामधुनीलाई पार्न पहल गरिएको छ । यसका लागि रामधुनी मन्दिर व्यवस्थापन समिति र सरोकारवालाहरू मन्त्रालय र दूतावास धाउन थालेका छन् ।
भारत सरकारले रामायणकालीन कथामा आधारित आफ्नो देशमा १५ वटा धार्मिकस्थललाई जोड्न ‘रामायण सर्किट’ तयार पारेको छ । सो सर्किटमा नेपालको जनकपुर पनि समेटिएपछि रामधुनीलाई समेट्न लबिङ सुरु भएको हो । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थललाई एउटै मार्गले जोड्ने योजना भारतले अघि सारेको हो । जसमा भारतको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिमबंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगनाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुर छन् । यो सर्किटमा सीताको माइती जनकपुरधामलाई समेत समेटिएको हो ।
भगवान राम पुगेको ठाउँ समेटिने भएपछि रामले धुनी बालेको ठाउँको रूपमा परिचित रामधुनी क्षेत्रलाई समेत उक्त सर्किटमा राख्न लबिङ सुरु भएको छ । सर्किटमा पार्न सके रामधुनीमा भारतीय पर्यटकहरू ओइरिने अनुमान रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यस्थापन समितिले गरेको छ ।
समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार सर्किटमा जोड्न मन्त्रालय, भारतीय दूतावासका साथै जानकी मन्दिरका महन्तहरूसँग समेत छलफल अघि बढाइएको छ । रामधुनी नगरपालिका, प्रदेश सरकार र प्रधानमन्त्री कार्यालयको सिफारिससहित प्रस्ताव पर्यटन तथा संस्कृति मन्त्रालयमा बुझाइएको उनले जानकारी दिए ।
उता भारतीय दूतावासले समेत नेपाल सरकारले सिफारिस गरे प्रक्रियामा लगिदिने आश्वासन दिएको कार्कीले जानकारी दिए । तर संस्कृति मन्त्रालयले भने विज्ञ टोलीको अध्ययनपछि मात्र सिफारिस दिने जनाएको छ ।
समितिले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँगसमेत कुरा गरेको छ । ‘उहाँ पनि पोजेटिभ हुनुभयो, तर मुख्य कुरा नेपाल सरकारको मन्त्रालयले सिफारिस दिनुप¥यो’, उनले भने ।
सुनसरीको रामधुनी नगरपालिका–४ मा अवस्थित रामधुनी जंगलमा पर्ने रामधुनी मन्दिरमा रामले बालेको धुनी अहिलेसम्म बलिरहेको विश्वास गरिन्छ । सो क्षेत्रको विकासका लागि नेपाल सरकारका साथै भारतमा रहेका उदासी सम्प्रदायका गुरुहरूसमेत लागेका छन् । भारतमा बस्ने उदासी सम्प्रदायले मन्दिर परिसरमा धर्मशाला, मन्दिरलगायत संरचना निर्माण गरिदिएको छ ।